५ श्रावण २०८३, मंगलवार

 

पर्वतको बन्जीसाइडको भिरबाट हाम फालेका बागलुङका युवाको शव फेला

बागलुङ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हाम फालेका बागलुङका एक युवाको शव सशस्त्र प्रहरीले फेला पारी निकालेको छ।

मृतक बागलुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही स्थानमा बस्दै आएका अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली रहेका छन्।

उनी साउन ४ गते साँझ करिब ९ बजे बन्जीसाइडको भिरबाट हाम फालेका थिए।

सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतका डीएसपी शैलेन्द्र थापाका अनुसार घटनालगत्तै खोजीका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा मंगलबार बिहान उनको शव भिरबाट करिब १ सय ३० मिटर तल फेला परेको हो।

सशस्त्र प्रहरीको उद्धार टोलीले शव भिरबाट निकालेर आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि सम्बन्धित निकायलाई बुझाएको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार सामान्य घरायसी विवादका कारण दीपेन्द्रले उक्त भिरबाट हाम फालेको बताइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung