१५ श्रावण २०८३, शुक्रबार

 

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

बागलुङ । नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनको प्रवर्द्धन र उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला गरिएको छ।

आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिले गुरु पूर्णिमाको अवसर पारेर आवेदन फारम सार्वजनिक गरेको जनाएको छ।

आयोजक समितिका अध्यक्ष मनोज थापाका अनुसार देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूले आवेदन दिन सक्नेछन्।

अवार्डअन्तर्गत सर्वोत्कृष्ट कविता, महाकाव्य, खण्डकाव्य, गीत, गजल, मुक्तक, हाइकु, उपन्यास, कथा, लघुकथा, नाटक, निबन्ध, नियात्रा, संस्मरण, आत्मकथारजीवनी, बालसाहित्य, अनुवाद, अनुसन्धान, मातृभाषा तथा डायस्पोरा साहित्य गरी २० विधामा सम्मान प्रदान गरिनेछ।

अध्यक्ष थापाले राष्ट्रिय नेपाली साहित्य अवार्डले नेपाली साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

इच्छुक व्यक्तिले आयोजकले तोकेको आवेदन फारम भरी आवश्यक विवरण तथा कागजातसहित आवेदन दिन सक्नेछन्। थप जानकारीका लागि ९८५११९४२३९ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

अवार्डको अन्तिम समारोह वसन्त पञ्चमीको अवसरमा आयोजना गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung