बागलुङ । विद्यामन्दिर पुस्तकालयले ‘बाल, युवा र वृद्ध, पुस्तकालय सबैका गन्तव्य’ भन्ने मूल नाराका साथ १९औँ राष्ट्रिय पुस्तकालय दिवस मनाउने भएको छ।
पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले तीन दिवसीय विभिन्न कार्यक्रम आयोजना गरी पुस्तकालय दिवस मनाउन लागिएको जानकारी दिनुभयो।
कार्यक्रमअन्तर्गत भदौ ११ गते पुस्तकालयको बाल विकास केन्द्रमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण तथा शैक्षिक सामग्री वितरण गरिनेछ।
त्यसैगरी भदौ १४ गते प्रचारात्मक कार्यक्रमसँगै सरसफाइ अभियान सञ्चालन गरिने पुस्तकालयका सचिव गोकुलप्रसाद कँडेलले जानकारी दिनुभयो।
भदौ १५ गते बागलुङ नगरपालिका स्तरीय अन्तरमाध्यमिक विद्यालय चित्रलेखन प्रतियोगिता आयोजना गरिनेछ।
सोही दिन पुस्तकालय दिवसको मूल समारोहसमेत आयोजना हुने पुस्तकालय उपाध्यक्ष राजन प्रसाद शर्माले बताउनुभयो।
पुस्तकालय दिवसको मूल समारोह बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजना हुने पुस्तकालयका कोषाध्यक्ष मनोविज्ञान श्रेष्ठले जानकारी दिनुभयो।
पुस्तकालय दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमले बालबालिका, युवा तथा ज्येष्ठ नागरिकमा पुस्तकालयप्रतिको रुचि र पठन संस्कृतिको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
















































































































































































