१३ भाद्र २०८३, शनिबार

 

फोटो फिचर : मध्यरातमा मृतकको परिवारलाई सूचना दिने बागलुङको तायाः मचा

ताया : मचाले बढायो बागलुङमा गाईजात्राको रौनक

बागलुङ । बागलुङमा गाईजात्राको अवसरमा एक वर्षभित्र दिवंगत भएका सात जनाको सम्झनामा ताया : मचानिकालिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको हो ।

गाईजात्राको अवसरमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बागलुङ बजारमा ताया : मचा प्रदर्शनसहित जात्रा निकालिएको नेपाल भाषा मंका: खल: बागलुङका अध्यक्ष जयराम भारीले बताउनुभयो ।

नेवार समुदायले दिवंगत परिवारका सदस्यको सम्झनामा मनाउने गाईजात्रा पर्वअन्तर्गत यस वर्ष बागलुङ बजारका नेवार परिवारका सात जना दिवंगत सदस्यको सम्झनामा ताया : मचा बनाई नगर परिक्रमा गरिएको हो ।

नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिरबाट ताया : मचार राधाकृष्ण मन्दिरबाट बास्सा नाच निकालिएको थियो । नारायणचोकबाट सुरु भएको जात्रा मरेपिपलको परिक्रमा गर्दै पुनः नारायणचोकमै पुगेर सम्पन्न भएको हो ।

स्थानीय परम्पराअनुसार नेवार समुदायमा दिवंगत व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ताया मचालाई मरेपिपलसम्म पुर्‍याएर प्रदर्शन गर्ने र त्यसपछि फर्काउने चलन रहेको छ ।

बागलुङमा गाईजात्राको अवसरमा निकालिने ताया : मचाको स्वरूपमा खासै परिवर्तन नभएको नेपाल भाषा मंका: खल: बागलुङका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गाईजात्रामा दिवंगतको सम्झना, पुरानो सांस्कृतिक परम्पराको संरक्षण, परम्परागत बाजागाजा, नाचगान तथा सामूहिक सहभागिता हुने भएकाले यसले नेवार समुदायको संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि नारायणचोकबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung