बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले गाईजात्राको अवसरमा मृतकको सम्झनामा तायाः मचा निकालेको छ । गाईजात्रामा तायाः मचा र बास्सा नाच देखाउने परम्पराअनुसार समाजले शनिबार एक वर्षभित्र दिवंगत भएका सदस्य तथा आफन्तको स्मृतिमा तायाः मचा निकालेको हो ।
काठमाडौं उपत्यकाबाट करिब तीन सय वर्षअघि बागलुङ आएका नेवार समुदायले आफूसँगै ल्याएको यो मौलिक सांस्कृतिक परम्परालाई बागलुङ समाजले काठमाडौंमा पनि निरन्तरता दिँदै आएको छ ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वयंप्रकाश श्रेष्ठका अनुसार एक वर्षभित्र दिवंगत भएका व्यक्तिको आत्माको चिरशान्तिको कामना गर्दै तायाः मचा निकालिएको हो । समाजले काठमाडौं उपत्यकामा बागलुङको ऐतिहासिक सांस्कृतिक परम्परालाई जर्गेना गरि रहेको श्रेष्ठले बताउनुभयो ।
जात्रामा सबैभन्दा अगाडि लक्ष्मीनारायण भगवानको तायाः मचा राखिएको थियो । त्यसपछि मृतकको सम्झनामा तयार पारिएका तायाः मचा राखेर काठमाडौं महानगरपालिका–११ सुन्धारा, दहमार्गस्थित समाजको कार्यालयबाट जात्रा सुरु गरिएको थियो ।
जात्रा बसन्तपुरसम्म पुर्याई विभिन्न टोलको परिक्रमा गराएर पुनः सुन्धारास्थित समाजको कार्यालयमा ल्याइएको थियो । जात्रामा सहभागी सबैलाई कार्यालयमा प्रसाद वितरण गरिएको समाजका उपाध्यक्ष किस्मतमणि श्रेष्ठले जानकारी दिनुभयो ।
धौलागिरि क्षेत्रको ऐतिहासिक तथा मौलिक तायाः मचा नाच, बास्सा नाचलगायतका परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले समाजले प्रत्येक वर्ष व्यवस्थित रूपमा तायाः मचा निकाल्दै आएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
जात्रामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पदाधिकारी, कार्यसमिति, साधारण सदस्य तथा काठमाडौंमा रहेका बागलुङे दाजुभाइ तथा दिदीबहिनीको उल्लेख्य सहभागिता रहेको थियो ।
बागलुङमा तायाः मचा निकाल्दा सबैभन्दा अगाडि लक्ष्मीनारायण भगवानको तायाः मचा राख्ने र त्यसपछि मृतकको सम्झनामा बनाइएको तायाः मचा राखेर सम्बन्धित मृतकको घरमा जाने तथा परेपिपल पुर्याएर पुनः नारायणचोक फर्काउने परम्परा रहेको समाजका सदस्य सम्पूर्णनारायण भारीले बताउनुभयो । यही मृत्यु संस्कारसँग जोडिएको परम्परालाई बागलुङ समाजले काठमाडौंमा संरक्षण गर्दै आएको उहाँको भनाइ छ ।
यो परम्परा विसं १९८३ देखि बागलुङको नारायणचोकबाट सुरु भएको मानिन्छ । त्यसअघि चौधरी थरका नेवार समुदायले बागलुङ नगरपालिका–३ स्थित बुद्ध विहारबाट तायाः मचा नाच सुरु गरी बजार परिक्रमा गराउने चलन थियो ।
पछि बागलुङका टेकनारायण भारी, बहुदप्रसाद भारी (मानकाजी भारी) र अश्विनीकुमार वझान्थाछे पाल्पामा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक तायाः मचा नाच हेरेर फर्किएपछि उनीहरूको पहलमा नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना गरिएको थियो ।
विसं १९८३ मा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि सोही स्थानबाट तायाः मचा नाच निकालेर बागलुङ बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।
नेवारी समुदायमा एक वर्षभित्र आफन्त गुमाएका परिवारले गाईजात्राको अवसरमा मृतकको सम्झनामा तायाः मचा निकाल्ने परम्परा रहेको छ ।
बागलुङबाट काठमाडौंमा बसाइँ सरेका नेवार समुदायले पनि आफ्नो मौलिक संस्कृति र मृत्यु संस्कारसँग जोडिएको यो परम्परालाई जोगाएर निरन्तरता दिँदै आएका छन् ।


















































































































































































