१४ बैशाख २०८१, शुक्रबार

 

गलकोटमा बसपार्क नहुदाँ सडकमा पार्किङ

बागलुङ । गलकोट नगरपालिकामा व्यवस्थित बसपार्क नहुदाँ सडकमै दोहोरो पार्किङ हुने गरेको छ । त्यसले गर्दा आगन्तुक तथा सर्वसाधरण नागरिकलाई समेत समस्या हुने गरेको छ ।

मध्यपहाडी लोकमार्गसँगैको गलकोट नगरपालिकामा विस्तारै सहरीकरण बढ्दो छ । यहाँ भएको पूर्वाधार विकाससँगै सवारी चाप पनि बढेको छ । बढ्दो सवारी चाप व्यवस्थापनका लागि यहाँ व्यवस्थित पार्किङस्थल छैन । नगरपालिकाको मुख्य केन्द्र रहेको हटिया बजारमा सार्वजनिक वा खरिद गर्ने जमिन समेत नपाएर बसपार्क बनाउन नसकेको गलकोट–३ का वडाध्यक्ष वीरजंग भण्डारीले बताए ।
सडकमै दोहोरो पार्किङले गर्दा यात्री र बटुवालाई सास्ती हुने गरेकाे छ । ‘हामीले धेरै ठाउँमा जग्गा हेरिसकेका छौं, भनेजस्तो पाएका छैनौं’ वडाध्यक्ष भण्डारीले भने, ‘ट्राफिक व्यवस्थापनका लागि बजेट विनियोजन गर्न तयार छौं ।  जग्गा नै नपाएर समस्या भयो ।’ खाल्डेखोलामा अस्थायी बसपार्क बनाउने तयारी भइरहेको उनले बताए ।
मुख्य बजारभित्रै ट्याक्सी लस्करै राखिन्छन् । लामो दूरीका बस र जिपको जथाभावी पार्किङले व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शुकबहादुर विकले बताए । मध्यपहाडी लोकमार्ग भएर गुड्ने सबै सवारी हटिया बजारमा रोकिने गर्छन् । यात्री चढाउने र ओराल्नेबाहेक काउन्टरसमेत राखिएको छ । हटियाबाट नगरभित्रका ११ वटै वडामा छुट्ने बस, जिप र ट्याक्सीले सडकमै पार्क गर्छन् ।

गलकोटमा दैनिक ५० भन्दा बढी ट्याक्सी र १ सय जिप र दर्जनभन्दा बढी बस नियमित चल्छन् । ती सबै सवारीसाधन सडक छेउमै पार्किङ गर्ने गरिएको छ । ट्रक र ट्रयाक्टरसहित निर्माण सामग्री ओसार्ने सवारी पनि हटियाकै मुख्य सडकमा यत्रतत्र रोकिरहेको भेटिन्छ । त्यसै पनि सडक साँघुरो छ । जथाभावी गाडी रोकेर राख्दा यात्रुलाइ समस्या हुने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्