२ जेष्ठ २०८२, शुक्रबार

 

झण्डा नभएको घर (कविता)

समृद्धको घोषणापत्र लिएर

एक हुल मान्छेहरू
घर घर पुगिरहेका छन
एउटा सपना
एउटा गन्तव्य
एउटा घोषणा
थुप्रै कथाहरू बोकेको मेरो घरमा
आज झण्डा छैन
डरलाग्दो विगतमा धेरै शासकहरूले
प्यारो रक्तरन्जित झण्डा खोसेर लगे
आज पार्टी छ
सिद्धान्त छ
कमरेडहरू छन
तर
उज्यालो घाम छैन
कुनै लय छैन
कुनै ताल छैन
कुनै गन्तव्य छैन
अध्यारो सुरूङमा हराएको छ
कमरेड र कमरेड सिद्धान्त
सुर्लुम्म डुबेको छ गतिहिनतामा
यस बेला सब चिज बिक्रीमा छ
तपाईको मौन समयमा
मान्छे लिलाममा छ
चरित्र बिक्रीमा छ
आचार सहिताको धज्जी उदाउदै
दलको झण्डामा आत्मा हत्या गरिरहेको छ
प्रचारमा हिडेका शिक्षक, पत्रकार , वकिल र कर्मचारीहरू
पहिले साधारण लुगा लगाएका
मानवताको गीत गुनगुनाउनेहरूले
हामीसंग शोषणको कुरा गरे
असमानताको कुरा गरे
दासताको कुरा गरे
संर्घषको कुरा गरे
भरोसाको कुरा गरे
परिर्वतनको कुरा गरे
सुत्केरीलाई भुईमा सुताएर
गाउले कमरेडलाई खातमा सुताए
आफुले बलिदान दिएर
सोचे अव सब ठिक हुन्छ
यहाँ त धनीलाई समान्य ज्वरो आए पनि
भुल्नको लागि फेसबुक छ
तर गरिब त भोकमा र शोकमा जलिरहेको छ
अरब र अफ्रिकाको डान्स वारमा
चेलिहरू आफ्नो नाङ्गो नाचमा मरिरहेका छन
आज तपाईं हाम्रो अगाडि उभिएको छ
धनीहरूको लोकतन्त्र
महंगो चुनाव
पैसामा पुरिएको उम्मेदवार
बिक्रीमा रहेका कार्यकता
ध्वस्त सिद्धान्त
भत्केको जिन्दगी
यस बेला धेरै घरहरू
रंगीचंगी झण्डाले
रंगिएको छ
तर मान्छेका आशाहरू
मान्छेमा सपनाहरू
मान्छेका भाग्यहरू
मान्छेको भविष्यहरू
काहालिलाग्दो वर्तमानसंग लडिरहेको छ

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung