सुरज राना-
मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ
निस्पट्ट रात जस्तै चुपचाप
बनस्पतिहरू जस्तै चुपचाप
सहिदको मूर्ती जस्तै चुपचाप
विशाल आकास जस्तै चुपचाप
ठूलो हल्ला गर्दै चिच्याउने काम त,
ब्लु फिल्मका पोर्नस्टारहरूको लिङ्किन
पार्क र मेटालिकाहरूको नाइट क्लबका डि.जे.हरूको हो
बेस्यालयको कमजोर खाटहरूको महान काम त चुपचाप
नै भै रहन्छन् पृथ्वी आफ्नो अक्षमा चुपचाप
घुमी रहन्छ जैविक रक्तसञ्चार चुपचाप
भै रहन्छ ग्रहहरूले सूर्यको परिक्रमा चुपचाप
गरिरहन्छन् कविले कविता चुपचाप
लेखिरहन्छ समय चुपचाप
चलिरहन्छ भूगोल चुपचाप
अडिग रहन्छ फूलहरू चुपचाप
फुलिरहन्छन मौसम चुपचाप
बदलिरहन्छ घाम चुपचाप
उदाउँछ र अस्ताउँछ ठूलो हल्ला गरेर
चिच्याउने काम त कारखानाको
इञ्जिन र मेसिनहरूका साहु, महाजन र मालिकहरूका भर्खर जन्मेका बचेराहरूका
जिन्दगी ध्वस्त पार्ने
बम र बारुदहरूका रक्सीका गिलास र बोतलहरूका ब्राण्ड विज्ञापन गर्ने
रेडियो र टेलिभिजनहरूको हो म कहिलेकाहीँ चुपचाप
बसेर सोच्छु नाथे सास र धड्कन मात्रै चुपचाप
नचली दिएको भए के हुन्थ्यो ? –













































































































































































































