एकजना किशोरी हस्याङ फस्याङ गर्दै मेरो सामु आईन र भनिन,दिदि म तपाईलाइ भेट्न आएको, किन होला बहिनी ? मैले सोध्दै थिएँ,उनले मेरो प्रश्न पनि पूरा नसुनीकन भन्न थालिन ‘मेरो श्रीमान बिदेश जानु भएको ८ बर्ष भयो, हाम्रो बिहे भएको ६ महिना पछि जानु भएको हो । एक बर्ष सम्म त कता कती फोनमा कुराकानी हुन्थ्यो,अहिले पूरा ७ बर्ष भयो । मसँग केही सम्पर्क छैन । कहिले माईतीमा त कहिले घर गरी समय घचेटी रहेछु दिदी । आमाको सहयोगमा बल्लतल्ल स्नातक पास गरेँ । मैले कसरी न्याय पाउन सक्छु होला ?’
यसरी आफ्नो कथा व्यथा सुनाउँदा सुनाउँदै उनले फरक प्रसंग थपिन् ‘दिदी हजुरले चुनाव हार्नु भयो, म एकदमै दुखी छु । महिला हकअधिकारको क्षेत्रमा हजुरले धेरै काम गरिसक्नु भएको छ ‘‘‘‘‘।यस्तै यस्तै । मैले उनलाई बिचैमा रोकेँ र मेरा लागि चिन्ता नगर्न आग्रह गरेँ ।
म सम्झन्छु,मेरो स्कुले जिवन । म कक्षा ६÷७ मा पढ्थे । हाम्रो बिद्यालय नजिकै गाउँ पञ्चायत भवन थियो । त्यस भवनमा दिनभरी कचहरी चल्थ्योँ । मैले चौरमा खेल्न गएको निहुँ पारी यसो भवन तिर चिहाउथेँ । मेरो बुवा बिचमा बस्नु हुन्थ्यो र वरिपरी काका,ठूलोबुवा,दाजुहरु,हजुरबुवाहरु, सवै पुरुष वर्गको उपस्थिति रहन्थ्यो । त्यस बखत मेरो बुवा गाउँको प्रधान पञ्च हुनुहुन्थ्यो । बेलुका घरमा पुगेपछि मैले बुवासँग प्रश्न गर्थे , त्यो भवनमा हुने बैठकमा आमा, भाउजु, काकी ,दिदी र फुपुहरुको उपस्थिति किन नभएको बुवा ? बुवाले पनि त्यस बैठकमा विकास निर्माणका विषयमा चल्ने छलफलको बारेमा हामीलाई धेरथोर बताउनु हुन्थ्यो र महिला सहभागिताको प्रसंगमा विशेष चासो राख्नुभएको अनुभूति गराउनु ह्ुन्थ्यो । मेरो बुवा अहिले पनि सामाजिक कार्यहरुमा त्यत्तिकै सक्रिय हुनुहुन्छ ।
मैले तुलना गर्न खोज्छु, त्यस बखतको स्थानीय निकाय र अहिलेको स्थानीय सरकार । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा महिलाहरुको २० प्रतिशतको उपस्थितिले समाजमा थोरै भएपनि सकारात्मक प्रभाव पारेको थियो ।
मुलुकमा भएका विभिन्न खाले राजनीतिक परिवर्तन र अस्थिरताका कारण लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधी बिहिन बन्न पुग्यो । संविद्यान सभाबाट जारी गरिएको संविद्यान २०७२ ले महिला सहभागिताका लागि मार्ग प्रसस्त गरिदिए पश्चात हालै सम्पन्न पहिलो चरणको निर्वाचनमा ठूलो संख्यामा महिलाहरु प्रतिष्पर्धामा उत्रिए । बागलुङ जिल्लाका ४ नगरपालिका,६ गाउँपालिका र त्यस अन्र्तगतका ८५ वटा वडाहरुमा चुनावी मैदानमा उत्रिएका महिलाहरुको उभार हामी सवैका लागि गौरवको विषय बन्न पुग्यो । केही राजनीतिक दलहरुले चुनावी तालमेलका क्रममा राज्यले तय गरेको नीति विपरित प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषहरुलाई मात्रै उम्मेद्वार बनाउने कार्य पनि भयो । सवै दलहरुले तालमेल गर्दा पनि महिला,पुरुष दुवैलाई प्रतिष्पर्धाका लागि समान अवसर दिन सकेकोे भए अझै सु्नमा सुगन्ध हुने थियो । जे होस, २ वटा नगरपालिका र ४ वटा गाउँपालिकामा उपप्रमुखको रुपमा,२ वटा वडाहरुमा वडा अध्यक्षको रुपमा, ८५ वटा वडाहरुमा दलित समुदायका ८५ जना महिला र खुल्ला महिला सदस्य ८५ जना गरि बागलुङको १० वटा युनिटमा १७८ जना महिलाहरु समग्र महिलाहरुको प्रतिनिधीत्व गर्दै निर्वाचित भएका छन ।
फ्रक लगाउने स्कुले जीवन देखि कलेज पढ्ने किशोरी हुदैँ आजसम्म आईपुग्दा सधै लैङ्गिक समानताका लागि म निरन्तर अभियानमा छु । धनी÷गरिवको नाउँमा,दलित÷जनजाति र एकल महिलाको नाउँमा, सहरिया र गाउँलेको नाउँमा,शिक्षित र अशिक्षितको नाउँमा कोही कतै पनि अपहेलित र विभेदीत हुनु हुदैन । सदिऔँ देखि पछाडी पारिएका महिलाहरुलाई अव अवसरको खाँचो परेको छ । अवसर पाएको खण्डमा महिलाहरुले सवै खाले कामहरु कुशलतापूर्वक गर्न सक्दछन भन्ने कुरा विभिन्न पदमा रहेका महिला नेतृत्वहरुले प्रमाणित गरीसकेका छन । तसर्थ आजको २१ औँ शताव्दीका महिलाहरु दिनको कामलाई छिनमा भ्याई समाज रुपान्तरणका लागि आफुलाई अग्र पंक्तिमा उभ्याउन आतुर देखिन्छन । महिलाहरुले भाग मात्र खोजिरहेका छैनन, आफुलाई भूमिकामा पनि बाधेका छन । पार्टी भित्रको भूमिका निभाएकै कारण महिलाहरुले प्रमुख पदमा समेत प्रतिष्पर्धा गर्ने अवसर पाए ।
यो निर्वाचनले सिंहदरबारको अधिकारलाई गाउ घर सम्म ल्याइदिएको छ । स्वच्छ पिउने पानी, सडकको स्तरोन्नती, साना जलविद्युत आयोजना, गाउँ घरका पैदल मार्ग÷घोरेटो बाटो,सुविद्यायुक्त स्वास्थ्य संस्था, शैक्षिक गुणस्तरमा बृद्धि,धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्दन,स्थानीय उत्पादनमा आधुनिकीकरण, बजार व्यवस्थापन आदी विविध विषयमा जनताका प्रतिनिधीहरुद्वारा छलफल गरिने छ । गाउघरकै भवन र चौतारीमा बसेर स्थानीय आवश्यकताहरुको पहिचान र प्राथमिकीकरण गरिने छ । यस्ता छलफल र बहसमा हाम्रा दिदी बहिनीहरुको निर्णायक र अर्थपूर्ण सहभागिता रहने छ । महिला सँग जोडिएर आउने समस्याहरुले एजेण्डाको रुपामा प्रवेश पाउने छन । महिलाहरुलाई स्वरोजगार बनाउने तर्फ नेतृत्व उन्मुख रहनेछ । हुनेखाने र हुँदा खाने बर्गको बिचबाट गरी खाने जमातको रुपमा समाज रुपान्तरीत हुने छ । धनी र गरिव बिचको असमानताको खाडल पुरिदै जानेछ । बाँझो रहेका हाम्रा पाखा बारीहरुमा ‘एक गाउँ एक उत्पादन’ को अवधारणा बमोजिम हराभरा हुनेछन । आधुनिक कृषि प्रणाली अन्र्तगत व्यवसायिक फलफुल र तरकारी खेती गरी किसानको झुपडीमा खुसी थपिनेछ । सवै प्रकारका श्रमिकहरुले आ—आफ्नो श्रमअनुसारको ज्याला लिइ सम्मानको अनुभूति गर्न सक्नेछन । जीवन, जगत र सृष्टिका समान साझेदार महिला र पुरुषले लोकतन्त्रको संस्थागत विकास र समाजको समृद्धिका लागि समान भूमिका निर्वाह गर्न पाउनेछन । यहि मेरो अभियान हो, यहि नै महिला आन्दोलनको उपलव्धि पनि हो
।
तसर्थ बहिनी,तिमिले म पराजित भएकोमा धेरै दुःख मान्नु पर्दैन किनभने म पराजित भएपनि मेरो अभियानले जितेकोछ । आज कैयौ शहिदको रगतले सिंचित लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास भएको छ । जनप्रतिनिधीको बिचमा महिलाहरु पनि निर्वाचित भएका छन । मैले महिला सञ्जाल, नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रिय महिला समिति, शिक्षक युनियन महिला विभाग, नेपाल महिला संघ लगायतका विभिन्न सांगठनिक संरचना र अन्य गैरसरकारी संघसंस्था मार्फत महिला हकअधिकारको क्षेत्रमा धेरै काम गरँे । हिंसा पिडित महिलाहरुका कथा व्यथाहरुले पनि धेरै पटक भावूक बनेँ । महिलाहरुको प्रतिनिधीत्वका लागि पार्टीभित्रकै अन्र्तसंघर्षका साथै स्थानीय शान्ति समिती, जिल्ला शिक्षा समिती, विभिन्न उपभोक्ता समिति लगायतका संरचनाहरुमा महिलाहरुको अर्थपूर्ण र समानुपातिक सहभागिताका लागि वकालत र पैरवी गरिरहँदा महिला अधिकारकर्मीहरुको संज्ञाले पनि परिचित भएँ । तसर्थ राज्यका हरेक संरचनाहरुमा महिलाहरुको आत्मसम्मान सहितको उपस्थिति मेरो लक्ष्य हो । सामाजिक न्याय, स्वतन्त्रता र समानता मेरो यात्रा हो । पुरुष वर्गसँग सधैँ हातेमालो गर्दै महिला र पुरुषको सम—विकास गर्ने अभियानमा म निरन्तर लागिरहेँछुँ ,लागिरहनेँछु । म एउटा व्यक्ति÷पात्र पराजित हुने कुरा गौण हो । तसर्थ म पराजित भएपनि मेरो अभियानले जितेको छ ।
शकुन्तला शर्मा— अध्यक्ष ,नेपाल महिला संघ,बागलुङ













































































































































































































