विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । त्यसैले त इच्छुक मरेर पनि बाँचिरहेका छन्, आस्थाको सर्वोच्च देउरालीमा ।
प्रजातान्त्रिक व्यवस्थाको मसिहा ठान्ने सरकारले ‘भट्टेडाँडा प्रहरी चौकीमा साहसिक आक्रमण’ शीर्षकको समाचार लेखे, छापेवापत २०५६ साल वैशाख ६ गते पक्राउ गर्यो ।
इच्छुकको हत्या भएको दिन जन्मेको बालक पनि यतिबेला १६ वर्षे तन्तरी भइसकेको छ । इच्छुकले पौडी खेलको भालुवाङनिरको राप्ती नदीमा धेरै पानी बगिसकेको छ भने बाग्मतीमा धेरै फोहर अल्झिरहेको छ ।
‘मौनता मृत्यु हो
तिमी बौल्छौ भने मारिन्छौ
र, नबोल्दा पनि मारिन्छौ
तसर्थ,
बोल र मृत्यु स्वीकार गर’
अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवन बलिदान दिएर पनि आस्थाको देउरालीमा आर्दश बनेर बाँचिरहेका युग विद्रोहका गायक हुन् ः कवि कृष्ण सेन ‘इच्छुक’ । गोरो, हँसिलो अनुहार, पातलो शरीर, मझौला कद, मीठो बोली, सेतो चश्मा, सफा र सुहाउँदिला कपडा, घरबुनाको झोलामा किताब र कलम, उदात्त भावना र धारिलो चेतनाले इच्छुकलाई चिन्न सकिन्थ्यो । समग्रमा उनी सरल र सामान्य मानिस नै हुन् ।
इच्छुकको जन्म वि.सं. २०१३ साल कात्तिक १३ गते भारतीय सेनामा कार्यरत पिता यमबहादुर सेन र आमा भीमकुमारीको जेठो सन्तानको रूपमा भारतको देहरादुनमा भएको हो । मातृ वात्सल्यबाट वञ्चित उनको बाल्यकाल दाङको भालुवाङमा बित्यो । उनको पख्र्यौली घर भने प्युठानको साराङ्कोट भन्ने गाउँ हो । अर्घाखाँचीको जलुके, सातमारा राप्ती नदीको किनारमा स्थायी घर भए पनि उनको अधिकांश समय घरबाहिर र जेलभित्र बितेको देखिन्छ ।
सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुक गरिबी, अभाव र विपन्नताका काँडामाझ गुलाफझै फुल्न वाध्य भए । वाल्य परिवेशमै इच्छुकले समाजमा ठूलाठालु, शोषक, फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए । जसले गर्दा उनको बाल मस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो ।
दाङको लालमटिया स्कुलमा पढ्दा नै उनको साहित्यिक चेतना तिख्खर भएर उम्रिसकेको थियो । २०३३ सालमा ‘मातृभूमि’ पत्रिकामा ‘भोलिप्रति’ कविता प्रकाशन भएपछि साहित्यिक यात्रामा उनी सार्वजनिक भए । २०३८ सालसम्म आइपुग्दा राजनीतिक र सामाजिक परिवेशले उनको चेतनास्तर र वैचारिक धरातल मलिलो भइसकेको थियो । ‘त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो’ शीर्षकको बेजोड कविता २०३८ सालमा ‘त्रिकोण’मा प्रकाशित भएपछि प्रगतिवादी साहित्यिक फाँटमा इच्छुकलाई युग विद्रोहका गायक भनेर चिनिन थालियो । वास्तवविक नाम कृष्णबहादुर सेन भए पनि वर्गीय समानता चाहने सेनको इच्छा प्रगतिवादी साहित्यमा ‘इच्छुक’ भएर रूपान्तरित भएको देखिन्छ ।
बहुआयामिक व्यक्तित्व भएका इच्छुक कविमात्रै होइनन्, साहित्य, पत्रकारिता र राजनीतिको त्रिकोणात्मक समिश्रण छ उनको जीवनमा । आफूलाई कलम बोक्ने चेतनाको सिपाही भन्न रुचाउने इच्छुकले ‘शोकाञ्जली’ शोककाव्य २०४८, ‘इतिहासको यस घडीमा’ कविता संग्रह २०५६, ‘बन्दी र चन्द्रागिरी’ लामो कविता २०५७, ‘पर्खालभित्रका बन्द आवाजहरू’ कविता संग्रह (अप्राप्य र अप्रकाशित), इच्छुक रचनावली भाग १ र २ गरी ५ दर्जनभन्दा बढी फुटकर कविता विभिन्न पत्रपत्रिकामा बिस्कुनझैं छरिएरका छन् । यसका अतिरिक्त उनले निबन्ध, कथा, पत्र–साहित्य, भूमिका, राजनीतिक–साँस्कृतिक, दार्शनिक लेख, अन्तर्वार्ता र अनुवादसमेत गरेका छन् ।
साहित्यिक र सांस्कृतिक फाँटका अतिरिक्त उनी पत्रकारितामा पनि सक्रिय, क्रियाशील र चर्चित रहे । उनले ‘कलम’ त्रैमासिक, ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकको सम्पादक भएर काम गरे । सांगठनिक रूपमा इच्छुकले प्रगतिशील लेखक संघको राष्ट्रिय पार्षद्, नेपाल पत्रकार महासंघको केन्द्र्रीय सदस्य र अखिल नेपाल जनसांस्कृतिक संघको अध्यक्षमा रहेर आफ्नो विचारको वकालत गरे । अध्ययन संस्कृतिमा आफूलाई खरो र चर्को रूपमा स्थापित गरेका छन् इच्छुकले । औपचारिक शिक्षाको हकमा इच्छुकले बिए पूरा गरेका थिए भने जेलभित्रैबाट एममको परीक्षा दिन फारम भरे पनि तत्कालीन सरकारको निरंकुश शैलीले उनलाई एमएको परीक्षा दिनबाट बञ्चित गर्यो ।
इच्छुकको साहित्यिक क्रियाशिलताकै आधारमा उनलाई जीवित हुँदा र मृत्युपर्यन्त पनि विभिन्न पुरस्कारबाट सम्मानित गरिएको छ । उनले प्राप्त गरेका पुरस्कार र मान सम्मानमा यादव प्रतिभा पुरस्कार २०४८, साहित्य सन्ध्या परस्कार २०५७, स्रष्टा पुरस्कार २०५८, पारिजात सिर्जना पुरस्कार २०५९, कृष्णमणि साहित्य पुरस्कार २०६०, लोकेन्द्र स्मृति पुरस्कार २०६०, मध्यपश्चिमाञ्चल सम्मान २०६० र प्रगतिशील लेखक संघ सम्मान छन् । यसका अलवा नेकपा माओवादी केन्द्रका विभिन्न जनवर्गीय संगठनले उनको नाउँमा स्वागतद्वारका साथै सांस्कृतिक मोर्चाको नामाकरण गरेका छन् । उनकै नाममा इच्छुक सांस्कृतिक प्रतिष्ठान गठन भएको छ २०६८ सालमा । जसले साहित्य, कला र संगीतका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई हरेक वर्ष पुरस्कार दिने घोषणा गरेको छ । इच्छुक राज्यसत्ताको भाषा र भाकामा आतंकारी भए पनि वास्तवमा उनी सांस्कृतिक सहिद हुन् ।
इच्छुक शासक र सत्ताबाट सास्ती पाउने र कलम चलाएकै कारणबाट कारवासमा हत्कडी र नेल लगाइएका कवि तथा पत्रकार हुन् । विद्यार्थीकालमै पञ्चायती कालो शासनको दौरानमा वि.सं. २०३९ साल वैशाख ११ गते दाङको त्रिभुवन क्याम्पसबाट उनी गिरफ्तार भए । उनले शान्ति, सुरक्षा ऐन अन्तर्गत ९÷९ महिनामा पुर्जी थपिँदै २०४४ साल असार ३० गतेसम्म ५ वर्ष ३ महिना दाङ कारागारमा जेल जीवन बिताए । यतिले शासकको मन किन मान्थ्यो र ? फेरि २०४५ सालमा १ वर्ष जेल जीवनमा बस्न बाध्य पा¥यो तत्कालीन सरकारले ।
लामो कारावासपछि उनी साहित्य सिर्जना, पत्रकारिता र राजनीतिमा क्रियाशील भइरहँदा आफूलाई प्रजातान्त्रिक व्यवस्थाको मसिहा ठान्ने सरकारले ‘भट्टेडाँडा प्रहरी चौकीमा साहसिक आक्रमण’ शीर्षकको समाचार लेखे, छापेवापत २०५६ साल वैशाख ६ गते पक्राउ गर्यो । उनलाई २०५७ चैत्र २ गतेसम्म बिनापुर्जी भद्रगोल जेल र पछि हातहतियार खरखजनासम्बन्धी मुद्दा लगाएर सिरहा हुँदै राजविराज कारागारमा राखियो ।
संकटकालीन समयमा इच्छुकमाथि रेर्डकर्नर नोटिस जारी र टाउकाको मूल्य तोकियो । पुनः २०५९ साल जेठ ६ गते संकटकाल लागेको समयमा उनलाई काठमाडौंको बानेश्वरबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लबको जुडो हलमा ८ दिनसम्म चरम यातना दिएर गोप्य सूचना लिन खोजियो । उनलाई प्रहरीका उच्च तहका अधिकारीले ‘दिस कन्ट्री विलोङ्स टु द किङ’ भन भनेर दबाब दिए, तर उनले ‘यो देश राजाको होइन, जनताको हो’ निर्भीक र निर्धक्क भएर भने । इच्छुकलाई प्रहरीले चर्को यातना दिए तर उनी यातनाका अगाडि बाँचेर मर्न चाहेनन्, बरु मरेर बाँच्न चाहे । आत्मसमर्पण गरेर आस्थाको अपमान गर्न अस्विकार गरे । आफ्नो विचारको रक्षाका लागि जीवन बलिदान गर्न अग्रसर हुने बिरलै व्यक्तिका रुपमा उनी स्थापित छन् । उनी नेपाली समाजमा लेखेवापत नै साहदत प्राप्त गर्ने व्यक्तिका रुपमा मिथ भएर बाँचिरहने छन् ।
सत्ताको भत्ता खानेका अगाडि युग विद्रोहका गायक इच्छुक स्वाभिमानी शिर झुकाउन तयार भएनन् । फलतः उनलाई २०५९ साल जेठ १३ गते प्रहरी हिरासतमै यातना दिँदा दिँदै २ वटा गोली छातीमा ठोकेर मारियो र कीर्तिपुर चोभारको भीडन्तमा परेको प्रसार गरेर पशुपतिमा खरानी बनाएर उनको भौतिक अस्तित्व समाप्त पारिएको देखिन्छ । आफै कलम लिएर कविता र समाचार लेख्ने इच्छुक स्वयम् समाचार बने । जनआस्थाले ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकको समाचार बे्रक गरेपछि मात्रै उनको हत्याको खबरले सहरमा ‘आगो’ लागेको थियो ।
एउटा कलम बोक्ने चेतनशील कवि र पत्रकारलाई शासक वर्गले १ दशकसम्म हत्कडी र नेलका साथ जेलभित्र राख्यो यद्यपि उनको विचार र चेतनालाई नत हत्कडीले छेक्यो, न त जेलका पर्खालले । उनको भौतिक शरीरलाई थुने पनि आवाज र विचारलाई कैद गर्न सकेनन् । नेल र हत्कडी लाए पनि युग विद्रोहको गतिलाई रोक्न सकेनन् । असफल र हतास मानसिकताका हिमायतीले इच्छुकलाई गलाउन सकेनन् । उनी त झन् आगो जस्तै भरभराउँदा शब्द खोजेर देशकै रातो र तातो शब्दचित्र उतार्न लागि परे । विचार र चिन्तनलाई पर्खालभित्र कैद गर्न सकिँदैन भन्ने जबर्जस्त सन्देश इच्छुकले आफ्ना सिर्जनामार्फत् शासकलाई दिए । एउटा शब्दकर्मीसँग शासक नै हार खाएपछि उनकै कवितालाई पाठ्यपुस्तकमा राखेर हजारौं विद्यार्थीलाई अनिवार्य पठनको व्यवस्था मिलाएको छ ।
इच्छुकको व्यक्तित्व अत्यन्तै भद्र र शालिन थियो । व्यक्तिवादी चेतना, निजी स्वार्थ, व्यक्तिमुखी प्रवृत्तिका विरोधी उनी सामूहिकता र सामाजिकताका पक्षपाती थिए । उनी साह्रै सरल, सहज, मिलनसार, नम्र, मृदुभाषी, निश्छल–निष्कपट, सबैसँग घुलमिल हुन सक्ने, सबैका हितैषी र सहयात्री, लोकप्रिय, आदर्शका नायक थिए । समग्रमा उनी अथक योद्धा, दृढ क्रान्तिकारी स्रष्टा र युग विद्रोहका गायक थिए ।
‘हामी रुँदा रुँदै हाँसेका छौं र हाँस्दा हाँस्दै रोएका छौं’ यो सारगर्वित हरफ कवि ‘इच्छुक’को हो । तर प्रचण्डपथीय सारथिहरूले यस्तो काव्यिक अभिव्यक्ति प्रचण्डको महावाणी बनाएर उनको सिर्जनाको अपमान गरेका छन् । धमिराले हजारौं किताबमात्रै होइन, लडेका रुखहरूमा दरबार बनाउन सक्छ, छेपाराले घामसँगै आफ्नो रङ र रुप परिवर्तन गर्छ, अवसरवादीका सुनौला अवसरलाई इच्छुकले नजिकबाटै नियाल्ने मौका पाएका थिए । विचारप्रतिको निरन्तर प्रतिवद्धता र सक्रियताले नै उनलाई इच्छुक बनाएको हो । विचार र व्यवहारको सन्तुलनले नै सबै पुस्ताका लागि उनी अनुकरणीय र अनुसरणीय बन्न पुगेका हुन् ।
इच्छुकको हत्या भएको दिन जन्मेको बालक पनि यतिबेला १६ वर्षे तन्तरी भइसकेको छ । इच्छुकले पौडी खेलको भालुवाङनिरको राप्ती नदीमा धेरै पानी बगिसकेको छ भने बाग्मतीमा धेरै फोहर अल्झिरहेको छ । राजतन्त्र दरीमुनि धुलोको कणमा रुपान्तरण भइसक्दा गणतान्त्रिक चेतना नेपाली जनको मनमा फक्रिइसकेको छ । सिंहदरबारको अधिकार गाउँका आँगनसम्म पुगिसक्दा इच्छुकको इच्छा र सपनाले मूर्त रुप लिँदै छ । इच्छुकलाई हाम्रो हो भन्ने महाशयहरूले एक दिनको फुर्सद निकालेर उनका रचना पढेमात्रै पनि विचारलाई व्यवहारमा अनुवाद गर्ने काइदा सिके फाइदा हुने थियो । झण्डालाई धजा बनाउनेहरूले जनताको इच्छा र चाहनालाई बुझ्नका निम्ति इच्छुकका रचना हेर्ने हो भने आफ्नो अनुहार र मुहार कस्तो छ भन्ने यथार्थ बोध हुन्छ ।
कवि इच्छुकको जीवन वस्तुतः शब्द र कर्मको तालमेलमा रमाएको भेटिन्छ । विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । साहित्य र पत्रकारितामार्फत् उज्यालोको आमत्रन्त्रण गर्ने कलमजीवी हुन् । उनी कहिल्यै जीवनमा झुक्न, गल्न र हार्न जानेनन् । त्यसैले त इच्छुक मरेर पनि बाँचिरहेका छन्, आस्थाको सर्वोच्च देउरालीमा । सलाम, युग विद्रोहका गायक कवि कृष्ण सेन ‘इच्छुक’लाई ! विचारको यात्रामा हिड्ने यात्रीहरूले तिमीले सुसेल्ने गीत गाइरहूनः
‘तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडन सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
ए तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं ।’
सुरेश रानाभाट, समाधान दैनिकबाट


विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । त्यसैले त इच्छुक मरेर पनि बाँचिरहेका छन्, आस्थाको सर्वोच्च देउरालीमा ।










































































































































































































