
लागु औषध ओसार पसार गरेको आरोपमा २ जना पक्राउ भएको तेस्रोे दिन बिहिबार प्रहरीले फेरी एक भारतिय नागरिकलाई पक्रेको छ ।
बागलुङ नगरपालिका–१ रामरेखाबाट भारत उत्तर प्रदेशको महाराजगन्ज जिल्लाका २० बर्षीय जोतेन्द्र हरिजन पक्राउ परेका हुन् ।
उनको साथबाट डाईजापाम १ सय, फेनारगन १ सय, नूर्फिन १ सय एम्पुल र निट्राजेपाम ३० वटा ट्याब्लेट बरामद भएको प्रहरी नायब उपरीक्षक आनिल खड्काले बताए ।
प्रहरीले मंगलबार बागलुङ नगरपालिका–२ का दिपेन्द्र कार्की र उनी सवार ट्याक्सीका चालक मकवानपुरको हेटौँडा–१५ घर भई बानपा–२ मै बस्दै आएका भिमसेन लामालाई मालढुुङ्गाबाट पक्रेको थियो ।
ट्याक्सीको गियर लिभरमा लुकाएर राखेको अबस्थामा उनीहरुबाट विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुसँगै रहेका काठेखोला गाउँपालिका–८ का सुनिल पुन प्रहरीबाट भाग्न खोज्दा कालिगण्डकी नदीमा हाम फालेर अहिले बेपत्ता छन् ।
मंगलबार पक्राउ परेका दिपेन्द्र कार्कीले लागुऔषध ओसार पसारमा सुचनाको लागि प्रयोग गर्ने गरेको मोवाईल अनुसन्धान मार्फत भारतिय
नागरिक हरिजन पक्राउ परेका प्रहरी नयब उपरिक्षक खड्काले जानकारी दिए ।
हरिजनाले भारतबाट लागु औषध बागलुङ ल्याई उनीहरुलाई विक्रि गर्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरु तिनै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता पुनको तत्काल खोजि गर्न संघर्ष समितिको माग
कालिगण्डकीमा पसेर बेपत्ता भएका काठेखोला गाउँपालिका–८ का सुनिल पुनका आफन्तले संघर्ष समिति गठन गरेर तत्काल जीवितै उद्धारको माग गरेका छन् । संघर्ष समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नरेश कँडेलले पुनलाई प्रहरीले पक्रेर यातना दिएका कारण नदीमा हाम फाल्न बाध्य भएको आरोप लगाए ।
संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिलाई सुरक्षा दिन नसकेको आरोप लगाउँदै मालढुङ्गा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर थापालाई कारवाहिको माग गरिएको छ । आफन्तले विहानैदेखि यातायात र बजार बन्द गराएका छन् ।
खोजि भईरहेको प्रहरीको भनाई
बेपत्ता पुनको खोजी प्रयास जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताए ।
नेपाल प्रहरी, म्यादी प्रहरी सहित सशस्त्र प्रहरी बल एपिएफको टोली र स्थानीय युवाहरुलाई समेत खोजीका लागि परिचालन गरिएको उनको भनाई छ ।
लागु औषध ओसारपसारमा संलग्न भएको आसंकामा पक्राउ परेका उनी प्रहरी नियन्त्रणबाट भागेर एक्कासी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीको भनाई छ ।