६ कार्तिक २०८३, बिहीबार

 

पश्चिमका जनप्रतिनिधिले गरे, पत्रकारिता विकासको सामुहिक प्रतिबद्धता

बागलुङको पश्चिम क्षेत्रका नजप्रतिनिधिसँग नेपाल पत्रकार महासंघ बागलुङले पत्रकारिताको बिकास बारे शनिबार छलफल गरेको छ । एक कार्यक्रम विच उनीहरुको स्वागत सम्मान सहित स्थानिय तहमा पत्रकारिता विकासको लागि जनप्रतिनिधिको भुमिका बारे छलफल भएको हो ।

निसीखोला, तमानखोला र बडिगाड गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा बागलुङ नगरपालिका वडा नम्बर–११ का वडा अध्यक्षसँग पत्रकारिता बारे द्विपक्षिय छलफलसँगै उनीहरुलाई स्वागत सम्मान गरिएको महासंघका अध्यक्ष दिल शिरीशले जानकारी दिए ।

निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, उपाध्यक्ष शोभाकुमारी कार्की, तमानखोला गाउँपालिका अध्यक्ष जोगलाल बुढा उपाध्यक्ष मानसरी शेरचन, बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजा, उपाध्यक्ष अमरबहादुर श्रीस र बागलुङ नगरपालिका वडा नम्बर–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमलाई खादा सहित सम्मान गरिएको हो ।

सो अबसरमा बोल्दै उनीहरुले पत्रकारले समाजको सम्भावना तथा समस्याको उजागर गर्नुपर्नेमा जोड दिए । उनीहरुले पत्रकारिता क्षेत्रको विकासमा आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘स्थानीय तह भर्खरै बनेका छन््, निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ शर्माले भने, ‘त्यहाँ उपलब्ध साधन स्रोतको परिचलन मार्फत कसरी विकासको गतिलाई अघि बढाउन सकिन्छ भन्ने सवाललाई उजागर गर्न म पत्रकार मित्रलाई अनुरोध गर्छु ।’ उनले नियमको परिधिमा रहेर पत्रकारिता विकासको क्षेत्रमा सक्दो सहयोग गर्ने बताए । योजना स्थानीय तहमा सञ्चार माध्यमको सवलिकरण र सञ्चार योजना निर्माणमा सहजिकरण गर्न पत्रकारलाई आग्रह गरे ।

बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले पत्रकार महासंघको भवन निर्माणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए । तमानखोला गाउँपालिका अध्यक्ष जोगलाल बुढाले सुचना सञ्चारविना मानिसको दैनिक सहज रुपमा चल्न नसक्ने भन्दै राज्यको वाचडगको रुपमा रहेको यस क्षेत्रको विकासमा सवैको ध्यान जानुपर्ने बताए ।

बानपा–११ का अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सल्लाहकार ज्ञानेन्द्र गौतमले लामो समयको पत्रकारितापछि आफु राजनितिक क्षेत्रमा प्रवेश गरेको स्मरण गर्दै पत्रकार महासंघ र समग्र पत्रकारिता क्षेत्रकै विकासमा आफ्नौ ध्यान पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले पत्रकार महासंघको भवन निर्माण, स्थानीय सञ्चार माध्मको सवलिकरण, स्थानीय तहमा पत्रकार उत्पादन, भएकाहरुको क्षमता अभिवृद्धि गर्दै पत्रकारिताको विकासमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आवश्यक पहल, सहयोग र समन्वयका लागि आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी महासंघका सल्लाहकार कोपिला कंडेल लगायतले बधाई तथा शुभकामना ब्यक्त गरे । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषको अध्यक्षता, सदस्य सिर्जना पन्तको स्वागत र कोषाध्यक्ष बिजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung