
बागलुङको तमानखोलामा पहिलो पटक नेपाल टेलिकमको टावर विस्तार गरिएको छ । नेपाल टेलिकम बागलुङले नयाँ विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको हो ।
टावर सञ्चालनमा आएपछि तमानखोला गाउँपालिकाको वडा नं ३ र ४ का छ सय घरधुरी र साबिकको खुङ्खानीका बासिन्दाले मोवाईल सेवा लिन पाउनेछन् । ग्रामीण क्षेत्रमा टेलिकमको भ्वाईस र डाटा सर्भिसलाई सहज एबं सर्भसुलभ बनाउन सेवा विस्तार गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
तमानखोला जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा पछि डेढ घण्टाको पैदल हिँडेर बल्ल पुगिन्छ । यो क्षेत्र छिमेकी जिल्ला म्याग्दीको सीमाना सँग जोडिएको छ ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने टेलिकमको योजना अनुरुप सेवा विस्तार गरेको टेलिकमले जनाएको छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गरिएको टेलिकमको भनाई छ ।
यसअघि गलकोट नगरपालिका–१ दुदिलाभाटी झाँक्रीस्थानमा पनि नयाँ टावर निर्माण गरेर सेवा सुरु भएको छ । दुदिलाभाटी र आसपासका क्षेत्रमा नेटवर्कको सहज पहुँचका लागि निर्माण गरिएको टावरबाट अहिले टु जि र थ्रि जी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
सेवा सञ्चालनमा आएपछि दुदिलाभाटी, नरेठाँटी, हटियाका उपभोक्तहरु थप लाभान्वित भएका छन ।
यससँगै गलकोट क्षेत्रका अधिकांश भुभागमा टेलिकमको अत्याधुनिक प्रविधिको थ्रिजी सेवा पुगेको टेलिकमले दाबि गरेकोछ ।
ग्रामिण क्षेत्रमा वायरलेस प्रविधिको मोवाईल सेवा निकै सहज र भरपर्दो हुने नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए ।