विनोद सिजापी
सन् १९४५ मा जन्मेका बेलायती नागरिक मार्टिन ज्याकेस कुनै समय ‘माक्र्सिजम टुडेका’ मासिक पत्रिकाका संस्थापक सम्पादक थिए । हाल तिनी बेलायतको द गार्डेन पत्रिकाको स्तम्भकार छन् ।
लन्डन स्कुल अफ इकनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयलगायत चीनको टिसिंगहुआ र सिंगापुरको ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीजस्ता विश्व प्रसिद्ध शिक्षण संस्थानहरूमा अनुसन्धान र अध्यापन गर्छन् ।
ज्याकेसले सन् १९९६ मा ‘ह्वेन चाइना रुल्स द वल्र्ड : द इन्ड अफ वेस्टर्न वल्र्ड एन्ड द बर्थ अफ न्यू ग्लोबल अर्डर’ पुस्तक लेखन कार्यको घोषणा गरेदेखि नै विश्व बौद्धिक जगत् यसप्रति कौतूहल देखियो । विवादको विषय पनि बन्यो यो । दु:खद पारिवारिक घटना (पत्नीको देहावसान) र अनुसन्धान कार्यमा संलग्न हुँदा चिनियाँ अक्षर पहिचानजस्ता कारणहरूले गर्दा पुस्तक लेखकले अनुमान गरेभन्दा बढी समय लियो । पहिलो संस्करण (२००९) बजारमा उपलब्ध हुन दशक लाग्यो । विश्वमै ख्याति कमाएको यो पुस्तकको दोस्रो संस्करण (२०१२) प्रकाशन हुँदासम्म १५ विभिन्न भाषामा अनूदित भई बजारमा आइसकेको थियो । अंग्रेजी संस्करण साढे तीन लाखभन्दा बढी प्रति बिक्री भइसकेको अनुमान गरिएको छ । ज्याकेसले पुस्तकको ‘अन लाइन’ संक्षिप्त प्रस्तुतिलाई २० लाखभन्दा बढीले पढेका छन् ।
पुस्तकको आधारस्तम्भ अमेरिकी बैंक गोल्ड म्यान स्यस्च बैंकको प्रक्षेपण (२००७) हो । यसले सन् २०२७ सम्म चीनको अर्थतन्त्र अमेरिकाको बराबरीमा पुग्दै सन् २०५० सम्ममा अमेरिकाको दुई गुणा ठूलो हुने अनुमान गरेको छ । ज्याकेसले बढ्दो आर्थिक शक्तिले राष्ट्रको राजनीतिक, सैन्य र सांस्कृतिक हैसियत बढाउने पल क्यानेडीको प्रसिद्ध पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ मा आधारित मूल सोचाइलाई आफ्नो अध्ययनको केन्द्रविन्दुमा राखेका छन् । तर लेखकले पुस्तकमार्फत् स्थापित आधुनिकीकरण– जसको परिभाषा पश्चिमा मुलुकहरूले हासिल गरेका उपलब्धिहरू बन्न पुगेको छ— उक्त मान्यतालाई चुनौती दिएका छन् । खासगरी ढिलो–चाँडो चीनले पश्चिमा राष्ट्रहरूले पिलाएको बाटो पछ्याउँदै प्रजातान्त्रिक मुलुक बन्नेछ भन्ने धारणालाई ज्याकेसले इन्कार गरेका छन् ।
ज्याकेसको मतमा सन् १९४९ मा माओको नेतृत्वमा स्थापित चीनले दुई सय वर्षदेखि पश्चिमा तथा जापानी साम्राज्यवादी शक्तिहरूको चेपुवामा परेको आफ्नो मुलुकलाई नवजीवन प्रदान गर्यो । कम्युनिस्ट पार्टीले चीनको राष्ट्रिय एकीकरण मात्र गरेन, साम्राज्यवादीहरूको शासनकालअन्तर्गत रहँदाको हीनताबोधलाई समेत अन्त गर्यो । अनि, चीनले सबल र सक्षम राष्ट्र निर्माण गर्ने हैसियत कायम गर्यो ।
जसले गर्दा चीन आफूले दुई सय वर्षसम्मको अवधिमा गुमाएको विश्व वर्चस्व कायम गर्ने हैसियतलाई पुन:स्थापित गर्न लागिपरेको छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा (माओको देहावसान भएको दुई वर्षपछि नै) देंग स्यायो पेङले सन् १९७८ मा बृहत् आर्थिक सुधार कार्यको जग बसाले । त्यही जगमा चीन अपूर्व उच्च आर्थिक वृद्धिदर कायम गर्न सफल भयो । आर्थिक सुधार कार्यको थालनीपश्चात्का तिन दशक बित्नुअगावै उसको अर्थतन्त्र विश्वकै दोस्रो ठूलो बन्न सफल भयो । आउँदो एक दशकको अन्तरालमा चिनियाँ अर्थतन्त्र संसारकै सबैभन्दा ठूलो हुने अवस्थामा पुग्ने प्राय: निश्चित देखिएको छ । यति हुँदाहुँदै पनि चीनको प्रतिव्यक्ति आय अमेरिकाको दाँजोमा पुग्न अर्थात् उसलाई विकसित राष्ट्र बन्नका निमित्त अझै केही दशकसम्म विद्यमान आर्थिक वृद्धिदरलाई कायम गर्नु अत्यावश्यक हुन्छ । अर्थात् आर्थिक समृद्ध राष्ट्र हुँदाहुँदै पनि चीन अझै केही दशकसम्म विकसिल राष्ट्रकै दर्जामा रहनेछ ।
दोस्रो विश्वयुद्धपश्चात् सबैभन्दा शक्तिशाली राष्ट्र बनेको अमेरिका बर्लिनको पर्खाल ढलेसँगै भत्किएको पूर्वी युरोपको साम्यवादी प्रणाली र सोभियत युनियनको विघटनपश्चात् एक मात्र विश्व शक्ति बन्न सफल भएको हो । तर इराकमा भएको उसको असफल हस्तक्षेप र वाल स्ट्रिटबाट भएको अकल्पनीय मौद्रिक–क्षतिले उसको पतन सुरु भइसकेको भन्ने मान्यता लेखकको छ । अमेरिकी अर्थतन्त्र टिक्नुको प्रमुख कारण चीनले सस्तो ब्याजदरमा खरिद गरेको अमेरिकी सरकारी ‘बन्ड’ र चीनमा पैदा भएका सुपथ मूल्यको औद्योगिक उपभोग्य सामानहरूको कारण देखाउँछन् लेखक । पश्चिमा सभ्यताको वर्चस्वको पतनको स्थानलाई चीन, दक्षिण पूर्वी एसिया, ब्राजिल तथा भारतको आधुनिकीकरण प्रक्रियाले पूर्ति गर्ने लेखकको विश्वास छ ।
चीनको आर्थिक उन्नतिलाई निरन्तरता प्रदान गर्न आवश्यक कच्चा पदार्थ र उत्पादित वस्तुहरूको बजारका निमित्त उसलाई एसिया, अफ्रिका, अस्ट्रेलिया, ल्याटिन अमेरिका, रुसमा मात्र नभएर युरोप र अमेरिकासँग निर्भर हुनु पर्ने वास्तविकतालाई लेखकले लुकाएका छैनन् । यसका लागि चीनले पश्चिमा मुलुकहरूले विगतमा अपनाएको उपनिवेश कायम गर्ने रणनीतिलाई भने अंगीकार नगर्ने उनको निक्र्योल छ । विगतमा छिमेकी राष्ट्रहरूलाई आफूमा समर्पित मुलुकका रूपमा गर्ने व्यवहारलाई चीनले उदीयमान राष्ट्र हुँदा कसरी परिवर्तन गर्छ, त्यो त भविष्यले स्पष्ट गर्ने नै छ । तर उसले हालसम्म प्रदर्शन गरेको व्यवहार नियाल्दा पश्चिमा मुलुकहरूले अन्य राष्ट्रहरूमा जसरी प्रजातन्त्र स्थापनालाई सम्बन्ध मजबुत तुल्याउने पूर्वसर्तको रूपमा लिएका थिए, त्यस किसिमको सर्त चीनले नराख्ने लेखकको विश्वास छ । विकल्पमा चीनले भने राष्ट्रहरूबीचको सम्बन्धमा प्रजातान्त्रिक बनाउने प्रथालाई कायम गर्ने लेखकको भनाइ छ ।
ज्याकेसको अनुमान छ कि आउँदा दिनहरूमा चीनको मुद्रा युआन रेन्मिन्बीले अमेरिकी डलरको मौद्रिक क्षेत्रमा कायम रहेको वर्चस्वलाई विस्थापित गर्नेछ । त्यसैगरी संघाई सहरले न्युयोर्क र लन्डनजस्ता मौद्रिक र बैंकिक सहरहरूको वर्तमान स्वरूप ग्रहण गर्नेछ । विद्यमान पश्चिमी राष्ट्रहरूका ठूला र प्रख्यात सहरहरू भविष्यमा पौराणिक रोम र एथेन्सको अवस्थामा पुग्ने तिनको अनुमान छ । त्यसैगरी ज्याकेसका अनुसार विश्वको प्रचलित चलनचल्तीको भाषा अंग्रेजीलाई म्यान्डरिनले विस्थापित तुल्याउनेछ । चिनियाँ सिनेमादेखि खानपिनका परिकारसम्मले विश्वमा वर्चस्व कायम गर्नेछन् । पश्चिमा सभ्यताका सर्वमान्य दार्शनिक प्लेटोलाई कन्फ्युसियसले विस्थापित गर्नेछन् । ज्याकेसको मतमा चीनले अनुकरण गरेको आधुनिकता ५ हजार वर्षभन्दा पुरानो उसको सभ्यताका मूल्य र मान्यताको निरन्तरताअनुरूप छ । ऊ एउटा पश्चिमा परिभाषाअनुरूपको राष्ट्र नभएर सभ्यता हो । जीवित इतिहास भएको राष्ट्र हो, त्यसकारण उसले जतिसुकै शक्ति आर्जे पनि संयम कायम गर्नेछ ।
पुस्तकको शीर्षक ‘चीनले कहिले विश्वमा आधिपत्य जमाउँछ’ भन्ने भए पनि ज्याकेसको विश्वास छ कि उसले विगतमा कहिले पनि संसारमा आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्य राखेन, त्यसकारण भविष्यमा पनि उसले प्रभुत्व कायम राख्ने प्रयत्न गर्ने छैन । त्यसको मूल कारण भनेको चीनलाई विश्वास छ उसले विश्व रंगमञ्चको केन्द्रमा आफू भएको विश्वास विगतमा पनि गरेको थियो र भविष्यमा पनि गर्नेछ । त्यस्तो भूमिका पाउनु उसको नैसर्गिक अधिकार भएको चीनले ठानेको छ । एस प्रसंगमा लेखकले ‘मध्यराज्य’ को हैसियत चीनले इतिहासदेखि कसरी कायम गर्दै आएको छ भन्ने सूक्ष्म विश्लेषण र विवेचना प्रस्तुत गरेका छन् । चीनको प्रमुख राजनीतिक उद्देश्य देशमा एकता कायम गर्ने हो । उसको एकछत्र रूपमा राष्ट्रिय एकता कायम गर्ने संकल्पका कारण केही विविधता सतहमा आउन नपाएको ज्याकेसले लेखेका छन् । यस प्रसंगमा उनले भारत र चीनलाई दाँजेर दुवैले आ–आफ्ना तरिकाबाट गरेको राष्ट्रिय एकता कायम गर्न गरेको प्रयासबारे उल्लेख गरेका छन् ।
साम्यवादी शासनकालको उत्सर्गमा पुग्दा चीनले जुन रूपले पौराणिककालदेखि कन्फ्युसियसद्वारा स्थापित संस्कारलाई नवीकरण गर्ने प्रयास गरेको छ, लेखकले त्यसलाई राम्ररी औंल्याएका छन् । उनको मतमा चीनमा कहिले पनि नागरिकको सार्वभौमिकता थिएन । तर त्यहाँका शासक चाहे ती सम्राट् हुन् वा साम्यवादी नेता, सबैले जनसाधारणको आवश्यकतालाई सर्वोपरि मान्यता दिए । तिनले जनप्रशासन व्यवस्थालाई सक्षम र उत्तरदायी तुल्याएर जनताप्रति बफादार शासन प्रणालीलाई ग्रहण गरे । नागरिकका निमित्त सरकार भनेको अभिभावक सावित थियो र अझै कायम छ । फलस्वरूप चीन यस्तो मुलुक बन्न पुगेको छ जहाँ सरकारले उदार अर्थतन्त्र अपनाएको छ तर व्यापारिक क्षेत्र विस्तारका निमित्त सहयोग गर्छ । कति व्यापारिक प्रतिष्ठानहरू छन्, जो सरकारद्वारा सञ्चालित हुन् अथवा निजी क्षेत्रका भन्ने छुट्टयाउन कठिन पर्छ ।
किनकि ती संस्थाहरू कुनै पनि निजी क्षेत्रद्वारा सञ्चालितभन्दा कम सफल छैनन् । अमेरिका वा इजरायलमा जस्तो बहुसांख्यिक नागरिकहरूमा भगवान्ले चुनेको मुलुक भन्ने विश्वास चीनका नागरिकमा छैन । तर अधिकांश चिनियाँको सोचमा चीन अझै पनि स्वर्गबाट वरदान पाएको मुलुक हो भन्ने विश्वास कायम छ । वर्तमान चीनमा पनि साम्यवादी नेतृत्वले त्यही प्रथालाई निरन्तरता दिएको हुनाले पश्चिमी समाजमा जस्तो चीनमा जनस्तरबाट विद्रोह हुने सम्भावना न्यून भएको ठम्याइ छ लेखकको ।
पुस्तकलाई लेखकले दुई खण्डमा विभाजन गरेका छन् । पश्चिमा संसारको अन्त नामकरण गरिएको प्रथम खण्डमा पश्चिमा सभ्यताको उत्थान र पतनको गाथा पस्किइएको छ । पश्चिमा शास्त्रीय चस्मा पहिरेर आधुनिकीकरण भनेको उनीहरूको अनुकरण हो भन्ने मान्यतालाई चुनौती दिँदै जापानले आधुनिक राष्ट्र भएर पनि कसरी आफ्नो संस्कृति र संस्कारलाई कायम राखेको छ भन्ने व्याख्यानबाट प्रस्ट्याइएको छ । जापान र चीनले अपनाउँदै गरेको आधुनिकीकरण प्रक्रियालाई वैकल्पिक आधुनिकीकरणका उदाहरणको रूपमा प्रस्तुत गरिएको छ । दोस्रो खण्ड चीनको पुनरोदय र उसको विश्वमा बढ्दो वर्चस्वबारे सूक्ष्म विश्लेषण गरिएको छ ।
साम्यवादी पृष्ठभूमिका भएको हुनाले हुन सक्छ— लेखकले चीनमा हुन सक्ने राजनीतिक उथलपुथलको सम्भावनालाई खासै महत्त्व दिएका छैनन् । तियानमेन स्क्वायरमा भएको नरसंहारलाई तिनले साधारण घटनाको रूपमा प्रस्तुत गरेका छन् भने माओले सञ्चालन गरेको ‘ग्रेट लिप फरवार्ड’ र एक दशक लामो सांस्कृतिक क्रान्तिजस्ता कालखण्डमा भएका भोकमरी, दमन र प्रतिशोधका कारणले अनायासमा मारिएका करोडौं संख्याका चिनियाँ नागरिकबारे समेत उनले कुनै महत्त्व दिएका छैनन् । तिब्बतका विषयमा भने उनले हानहरूको बसाइ–सराइका कारणले तिब्बतीहरू विस्तार अल्पमतमा पर्दै गएको वास्तविकतालाई स्विकारेका छन् । तर उनले समय–समयमा चीनमा हुने विद्रोह र दमनका घटनालाई भने नजरअन्दाज गरेका छन् । बढ्दो धनी र गरिबबीचको खाडल तथा अन्य सामाजिक असमानताका विषयमा पनि लेखक मौन छन् ।
भूमण्डलीकरण, सिमाना जोडिएको छिमेकी राष्ट्र भएको नाताले मात्र नभएर दुई राष्ट्रबीच अनादिकलदेखि रही आएको सम्बन्धजस्ता कारणले नेपाली पाठकका निमित्त यो पठनयोग्य पुस्तक हो । चीनका विषयमा मात्र नभएर पश्चिमा सभ्यताको संक्षिप्त इतिहासको ज्ञान आर्जन गर्न चाहने जो कोहीलाई पनि यो पुस्तक उपयोगी छ । हाम्रो कूटनीतिक र राजनीतिक समुदायका निमित्त त यो यस्तो पुस्तक पढ्नु अनिवार्य नै छ । छिमेकी राष्ट्र चाहे त्यो चीन होस् वा भारतसँग ‘टेबुल टक’ गर्नेले त झन् पढ्नैपर्ने पुस्तक हो यो ।
कान्तिपुर कोसेलीबाट













































































































































































































