
प्रस्तुत सामग्रीको केही अंश ऋषि कपुरको आत्मकथा ‘खुल्लमखुल्ला’, केही ‘इन्डिया टुडे’को रिपोर्ट र केही ‘द क्विन्ट’ अनलाइनसँग कपुरको अन्तर्वार्ताबाट लिइएको हो । ‘खुल्लमखुल्ला’मा उनले आफू हुर्किंदै गर्दाको कथा, श्रीमती नितुसँगको भेट, बलिउडमा आफ्नो सफलताको स्वाद र पैसा अनि अन्डरवल्र्ड डन दाउद इब्राहिमसँगको भेटका रहस्य खोतलेका छन् । यी सबैभन्दा चर्चा पायो ‘फिल्मफेयर’ अवार्ड किनेको सन्दर्भले । सन् १९७४ मा प्रदर्शन भएको ‘बबी’ चलचित्रका लागि ऋषिले ३० हजार रुपैयाँ तिरेर सर्वोत्कृष्ट अभिनेताको अवार्ड किनेको रहस्यले बलिउड तरंगित भयो । यहाँ यस्तै केही रोचक सन्दर्भ उल्लेख गरिएको छ, उनकै शब्दमा
दाउद इब्राहिमसँग भेट
दाउद सन् १९९३ देखि फरार छन् । उनी इन्टरपोलले जारी गरेको ठूला अपराधीहरूको खोजी सूचीमा परेका व्यक्ति हुन् । दाउदबारे धेरै हिन्दी सिनेमाहरू बनेका छन् । त्यस्तै सिनेमामध्येको एक सन् २०१३ को ‘डी डेज गोल्डम्यान’ हो, जसमा म आफैंले अभिनय गरेको थिएँ । उनीसँग मेरो दुईपटक भेट भएको छ ।
दाउदसँग मेरो पहिलो भेट सन् १९८८ मा भएको थियो, जुन दाउद भारतबाट भाग्नुभन्दा निकै पहिला थियो । त्यतिबेला म आफ्ना साथीहरूसँग दुबईमा ‘आशा भोस्ले र आरडी बर्मन साँझ’का लागि गएको थिएँ । दाउदका मान्छेले मलाई विमानस्थलमै देखेछन् । पछि थाहा भयो– उनीहरू दाउदका लागि विमानस्थलमा भीआईपीहरूका गतिविधि निगरानी गर्थे ।
उनीहरूले मलाई फोन दिँदै भने, “दाउद साहेबले तपाईँसँग कुरा गर्न चाहनुभएको छ ।”
त्यसपछि दाउदले मलाई आफ्नो घरमा आउन निमन्त्रणा दिए ।
मलाई ती व्यक्तिहरूले ‘रोल्स रोयस’मा चढाएर बाटोमा यताउति घुमाउँदै दाउदको घर पुर्याएका थिए । यसो गर्नुको कारणचाहिँ मैले दाउदको घर जाने बाटो नदेखूँ भनेर थियो ।
दाउदले मलाई चिया र बिस्कुटले स्वागत गरे, किनकि दाउद आफूले मदिरा पिउँदैनथे र अरूलाई अफर पनि गर्दैनथे । उनले मसँग आफ्ना कामबारे कुरा गरे । आफूले गरेका कुनै पनि काममा पश्चात्ताप नभएको बताए । गोप्य रूपमा बनाइएको मुम्बई अदालत हत्याकाण्डको योजनाबारे पनि उनले सुनाए, जुन पछि १९८५ मा बनेको सन्नी देवल अभिनित ‘अर्जुन’ को दृश्यको मूल आधार थियो ।
भेटघाट सकेर फर्किनुअघि दाउदले भने, “केही चाहिएमा वा कहिल्यै पैसाको आवश्यकता परेमा मलाई भन्न नहिच्किचाउनु होला ।”
तर, मैले त्यो प्रस्ताव इन्कार गरें ।
दोस्रो पटक पनि दाउदसँग दुबईमै भेट भयो । त्यतिबेला (सन् १९८९) म श्रीमती नितुसँग जुत्ता किन्न लेबनिज स्टोरमा गएको थिएँ । त्यहाँ दाउद पनि ७–८ जना सुरक्षागार्डसँग थिए । उनको हातमा मोबाइल थियो ।
दाउदले मलाई आफ्नो मोबाइल नम्बर दिए तर मैले दिन सकिनँ । किनभने त्यतिबेला भारतमा मोबाइल भित्रिसकेको थिएन ।
उनी सधँै मसँग राम्रो रूपमा प्रस्तुत भए र न्यानोपन देखाए । तर, दाउदले भारतप्रति किन आफ्नो रवैया परिवर्तन गरे भन्ने कुराले म सधैँ असमञ्जसमा पर्छु । मलाई थाहा छैन, किन उनी मेरो देशका पछि त्यसरी लागे । त्यो जुत्ता पसलको भेटपछि दाउदसँग मेरो कुनै पनि कुराकानी भएको छैन ।
सामाजिक सञ्जाल
मैले सामाजिक सञ्जालमा पोख्ने भावनालाई लिएर धेरैले आलोचना गर्छन् । म खरो रूपमा प्रस्तुत हुन्छु, त्यो मेरो स्वभाव हो । मेरो लेखाइमा विनोदरस नभएको भनेर धेरैले गाली गर्छन् । मेरो ट्विटर अकाउन्ट विगत १० महिनासम्म बन्द भयो, जतिबेला म चलचित्र सुटिङका क्रममा थिएँ । अनुष्का शर्मा, रीतेश देशमुख र अभिषेक बच्चन ट्विटरमा निकै सौखिन भएको देखें । मलाई त्यही कुराले बाधा पु¥यायो । हाल मेरो ट्विटरमा ६,४०,००० फलोअर्स छन्, जुन यी खानहरू र बच्चनहरूको तुलनामा कैयौं गुना कम हो ।
तपाईं आफ्ना फलोअर किन्न सक्नुहुन्छ । मलाई यस्तो झुटो आत्मरतिमा रमाउनु छैन । पैसाले किन्न सकिने यस्तो लोकप्रियता मलाई मन पर्दैन । म यो कुरामा धेरै पछि छु । ट्विट गर्नु मेरा लागि रमाइलो हो । तर, म एकैपटक सबै ट्विट गर्दिनँ । दिनमा तीन वा चार पटक गर्छु । तर म केमा कमेन्ट गर्छु भन्ने कुरा मेरो मूडमा भर पर्छ ।
भारतमा गाईको मासु बन्द भएको विषयमा मैले लेखें । त्यो ट्विटका कारण सयौं मान्छेहरू ममाथि खनिए, कतिले धम्की दिए । त्यसपछि मैले लेख्न धेरै कम गरें ।
जेहोस्, त्यो विवाद चाँडै किनारा लाग्यो । मैले खाली आफ्ना विचारहरूमात्रै राखेको थिएँ, त्यो कुनै राजनीति थिएन । पहिले श्रीमती नितुले त्यस्ता कुराहरूको बेवास्ता गर्न भनिन् । तर, जब पछि उनका साथीहरूले मेरा ट्विटबाट मनोरञ्जन लिइरहेको बताए, नितुले पनि ममाथि आक्रोश पोख्न छोडिन् ।
आपत्तिजनक र राष्ट्रविरोधी सोच राख्नेलाई म सजिलै ब्लक गरिदिन्छु । कतिले अतिव्यक्तिगत टिप्पणी गर्छन्, कतिले प्रशंसा पनि गर्छन् ।
एकपटक एकजनाले रणवीर र उनकी प्रेमिका छुट्टिनुपर्ने धारणा राखे, मलाई मेन्सन गरेर । मैले सिधै नकारें र भनें, “माफ गर्नुस्, त्यो रणवीरको व्यक्तिगत कुरा हो । जसरी मेरा बुबाले मेरो व्यक्तिगत जीवनमा कहिल्यै हस्तक्षेप गर्नुभएन, त्यसैगरी मैले पनि उसको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्न मिल्दैन ।”
म सलमानलाई माया गर्छु । धेरैले रणवीरलाई सलमानसँग तुलना गरेर आलोचना पनि गरे । मलाई त्यो मन परेन । मैले त्यही लेखें, मान्छेहरू फेरि खनिए ।
उमेरमा ठूलो भएका कारण मैले आमिर खानप्रति पनि टिप्पणी गरेको थिएँ कि उनी भारतमा हुनु भनेको असुरक्षित हुनु हो । त्यसपछि उनका समर्थकले मलाई शब्दका ढुंगाले प्रहार गरे । म आमिरलाई बाल्यकालदेखि नै चिन्छु । उनीभन्दा अग्रज भएको नाताले उनलाई केही शब्द भन्नु मेरो अधिकार हो ।
मैले सोनाक्षी सिन्हा, हुमा कुरेसी र आलिया भट्टहरूबारे विभिन्न अवसरमा ट्विट गरिरहन्थें । तर, त्यसमा पनि उनीहरूका समर्थकलाई समस्या भयो । ममाथि खनिए । जब ती सबै नायिकाहरू मेरो ट्विटबाट खुसी थिए भने ती समर्थकलाई किन चिलाउँदो हो ?
रणवीरको भविष्य
मान्छेहरूलाई लाग्छ– मैले रणवीरका फिल्मका स्क्रिप्ट पढ्छु । तर, उनीहरू गलत छन् । म उनको पिता हुँ, सचिव हैन । यदि केही हो भने म उसको आर्थिक मन्त्री हुँ । पैसाको कुरामा उसले टाउको नदुखाओस् । म उसका सबै आर्थिक कारोबारहरू हेर्छु । रणवीरले आफू राम्रो कलाकार भएर प्रमाणित ग¥यो । उसलाई मेरो तर्फबाट कुनै योग्यताको प्रमाणपत्र चाहिँदैन ।
उसले आफ्नो चलचित्र ‘तमासा’बाट धेरै नाम कमायो भनेर त भन्दिनँ तर ‘बम्बे भेल्भेट’भन्दा यो राम्रो चलचित्र हो । ‘बम्बे भेल्भेट’ आत्मघाती थियो । ‘तमासा’ले दुईखाले प्रतिक्रिया पायो । कसैले यसलाई मन पराए, कसैले घृणा गरे । तर, रणवीरको अभिनयलाई लिएर सबैले प्रशंसा गरे ।
रणवीरले जहिले पनि मौका खोजिरह्यो । ‘बरफी’ र ‘रकस्टार’बाट उसले राम्रै चर्चा बटुल्यो । त्यसपछिको ‘बेसरम’ले खासै चर्चा पाउन सकेन । ‘रोय’मा उसले अतिथिको भूमिका निर्वाह गरेको छ किनकि त्यो चलचित्र उसकै साथीले बनाएका हुन् ।
दर्शकहरू रणवीरलाई ‘ए जवानी, हे दिवानी’ जस्ता प्रेमले भरिएका चलचित्रमा देख्न चाहन्छन् । मेरी आमाले समेत उसलाई सल्लाह दिनुहुन्थ्यो, “तैँले अरू चलचित्र खेलेर समय बर्बाद नगर्नू, प्रेमसम्बन्धी चलचित्र खेलेको सुहाउँछ ।”
मैले व्यक्तिगत रूपमा भन्नुपर्दा उसको ‘अजब प्रेम की गजब कहानी’ र ‘रकेट सिंह’ मन परे । म रणवीरलाई त्यस्तै खालका चलचित्रमा हेर्न चाहन्छु । मैले कुनै बेला खेलेका ‘हम किसी से कम नहीँ’, ‘दुसरा आदमी’ जस्ता चलचित्र उसले खेलोस् भन्न चाहन्छु । परिपक्व भएपछि ‘चाँदनी’ जस्ता चलचित्रमा लाग्दा हुन्छ । तर, यो नितान्त उसको रुचि र इच्छाको कुरा हो ।
रणवीर र कट्रिना कैफ
मलाई बारम्बार रणवीरको व्यक्तिगत जीवनमा धकेलिन्छ । ठिकै छ । तर, म यस्ता खालका प्रश्नहरूको उत्तर दिन सक्दिनँ । कट्रिना राम्रो स्वभाव भएकी नायिका हुन् । मैले उनीसँग ‘नमस्ते लन्डन’मा काम गरेको थिएँ । उनी धेरै लगनशील र मेहनती छिन् । केही पत्रकारहरूले ‘उनले मलाई पिता भनेर सम्बोधन गर्छिन्’ भनेर लेखिदिए तर त्यो सबै बकवास हो । उनले त्यत्रो साहस गरेर भन्न सक्दिनन् ।
पुरस्कार र सम्मान
म २०१६ को सुरुवाततिर तास्केन्तमा सम्मानित भएँ । मलाई त्यतिखेर आनन्द महसुस भयो, जतिखेर थाहा पाएँ– उज्वेकिस्तानमा राजकपुर र मिथुन चक्रवर्तीसँगै मलाई पनि उत्तिकै माया गरिँदो रहेछ । मैले त्यहाँ ‘मैं सायर तो नहींं’ भन्ने गीत गाएँ । त्यहाँ उनीहरूको माया र सद्भावले गदगद भएँ । घर फर्किंदा मैले त्यस कार्यक्रमको कुनै प्रचार प्रसार गरिनँ । कपुर खान्दानलाई त्यस्तो प्रचार प्रसार गर्न आउँदैन । हामी हाम्रो कामले हामीलाई जाँच्छौं, अनावश्यक प्रचार प्रसारले हैन ।
अहिले मलाई सरकारले ‘पद्मश्री पुरस्कार’ दिए पनि लिनेबारे मेरो धारणा सकारात्मक रहँदैन । मभन्दा २५ वर्ष जुनियर कलाकारले यो पुरस्कार पाइसके । जुनसुकै पार्टीको होस्, सरकारले कपुर खानदानप्रति सदाशयता देखाउँदैन । मैले त्यो पुरस्कार पाउन किन मरिहत्ते गर्ने ? त्यो पुरस्कार मृत्यु पर्खिनुपर्ने हो ?
पोहोर अंकल शशि कपुरले ७६ वर्षको उमेरमा ‘दादा साहेब अवार्ड’ पाउनुभयो । दिलीप कुमारले ९३ वर्षको उमेरमा ‘पद्मभूषण अवार्ड’ पाउनुभयो । के त्यस्तो अस्वस्थ अवस्थामा पाएको अवार्डले कुनै मान्यता राख्छ ?
मेरा हजुरबुबा पृथ्वी कपुर र मेरो बुबा राजकपुरलाई ‘पद्मभूषण’ र ‘दादा साहेब फुल्के’ अवार्ड प्रदान गरिएको थियो । हामीसँग घरमा ३ ‘दादा साहेब’ पुरस्कार विजेता छन् ।
म मेरो लक्ष्यका लागि काम गर्छु । म मेरो कर्मका लागि शुद्धरूपमा पुरस्कार पाउन चाहन्छु र मैले एकदिन पाउनेछु । म एकपटक लोभी थिएँ भन्न हिच्किचाउँदिनँ । मैले ‘बबी’ का लागि अवार्ड किन्नु पर्यो ।
‘फिल्मफेयर अवार्ड’ किनें
जितेन्द्रसँग म खुब मिल्थें तर त्यसको ठीक विपरीत थियो– अमिताभ बच्चन र मेरो सम्बन्ध । हामीमा असहजता थियो । कहिले राम्रो, कहिले नराम्रो खालको सम्बन्ध ।
म १९७० ताका अपरिपक्व र विद्रोही थिएँ । अमिताभ मभन्दा १० वर्ष जेठा थिए तर पनि म मूर्ख बनेर उनलाई अमिताभ भनेर बोलाउथें । कहिल्यै पनि अमिताभजी भनिनँ । धन्न मैले यो दूरी मेटाएँ र सौहार्द सम्बन्ध बनाउन सफल भएँ । पछि यो सम्बन्ध पारिवारिक भयो । उनकी छोरी श्वेता र मेरा भाञ्जा निखिलको विवाह भयो ।
‘कभी कभी’ चलचित्र बनिरहँदा हामीमा शीतयुद्धझैं थियो । न उनी मसँग बोल्थे, न म नै उनीसँग बोल्न जान्थें । मलाई लाग्थ्यो– उनी ‘बबी’ चलचित्रबाट मैले पाएको सर्वश्रेष्ठ अभिनेताको ‘फिल्मफेयर’ पुरस्कारबाट रिसाएका हुन् । यो कुरा त्यतिबेलाको एक चल्तीको पत्रिकाले लेखेको पनि थियो । अमिताभले ‘जञ्जीर’का लागि यो पुरस्कार पाउने लगभग पक्काजस्तै थियो । ‘जञ्जीर’ र ‘बबी’ एकै वर्ष आएका थिए ।
अहिले मलाई लाज लाग्छ– ‘बबी’का लागि मैले ‘फिल्मफेयर’ अवार्ड किनेको थिएँ । त्यतिबेला म अनुभवहीन र सिकारू थिएँ । त्यतिबेला हाम्रा पीआर अधिकृत तारकनाथ गान्धीले मलाई भने, “सर, ३० हजार दिनुस्, पुरस्कार दिलाइदिन्छु ।”
म त्यस्तो अरूको लहैलहैमा आउने मानिस त हैन तर मैले उनको कुरा मानें । मेरा स्वकीय सचिव घनश्यामले पनि भने, “सर, पैसा दिऊँ, पुरस्कार पाइन्छ । यसमा के छ र !”
शायद यो कुरा अमिताभले कसैबाट थाहा पाए । म अहिले यत्ति भन्न सक्छु– यो १९७४ को कुरा हो, जतिबेला म जम्मा २२ वर्षको थिएँ । ममा असाध्यै अपरिपक्वता थियो र केटाकेटीपना थियो । म पैसाको मोहमा बगें । म के गर्दैछु भनेर थाहा पाउने क्षमता ममा थिएन । धेरै पछि मैले आफ्नो मूर्खताबारे महसुस गरें ।
‘कभी कभी’ बन्दा अमिताभ मसँग घुलमिल नहुनुको कारण मलाई अर्को के पनि लाग्थ्यो भने उनी त्यो चलचित्रमा गम्भीर भूमिकामा थिए, जुन मेरो भूमिकाभन्दा निकै फरक थियो । शायद उनी आफ्नो चरित्रमा रहिरहन मसँग धेरै नबोलेका हुन सक्छन् । उनी पूरै चलचित्र बन्दासम्म मसँग खासै बोलेनन् । अथवा हुन सक्छ, मैले पुरस्कार किनेको अपराधबोधका कारण नै यो विषयमा धेरै सोचें ।
पछि मैले र अमिताभले धेरै चलचित्र सँगै ग¥यौं, जसमा ‘अमर अक्बर एनथोनी’, ‘कुल्ली’, ‘नसिब’ पर्छन् । बिस्तारै हामीबीचको चिसोपना हट्दै गयो । ‘अमर अक्बर एनथोनी’ मा त हामी निकै घुलमिल भएका थियौं । यो मनमोहन देसाईको चलचित्र थियो र यसमा हामीले थुप्रै उपद्रो गर्यौं । हामी प्राण साहेबलाई अभिनयको सल्लाह मागेर हैरान पाथ्र्यौं ।
अमिताभ र मैले अभिनय गरेका चलचित्रमा हामी कहिल्यै विरोधी थिएनौं । एउटै युवतीका लागि लडेनौं । अमिताभको विरोधीका रूपमा विनोद खन्ना, शत्रुघ्न सिन्हा, शशी कपुर वा धर्मेन्द्र प्रस्तुत हुन्थे । म उनीभन्दा उमेरमा सानो थिएँ र सधैं उनको सानो भाइको भूमिकामा खेल्थें । ‘कुल्ली’को ‘लम्बुजी टिंगुजी’ गीतले हाम्रो पर्दाको सम्बन्धलाई राम्रोसँग देखाएको छ ।
अनुवादः रुमु न्यौपाने
बाह्रखरीबाट