३० बैशाख २०८२, मंगलवार

 

“समृद्ध बागलुङ” ‘सक्षम नेतृत्व र योजनाको खाँचो छ’ 

गगनलल शाक्य  

बाघहरु लुङ अर्थात लाइन लाएर हिँड्ने ठाउँ भएको हुनाले बाघलुङ भन्दा भन्दै बागलुङ नाम रहन गएको बागलुङ बजार बागलुङ नगरीमा परिणत भएको पनि धेरै वर्ष भइसक्यो ।  हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट यो नगरपालिका १४ वडामा विभाजित छ ।

विभिन्न नजिकका गा.वि.स.हरु जस्तै ः अमलाचौर, पैयुँपाटा, नारायणस्थान, भकुण्डे, तित्याङ, रायडाँडा र सिगाना तथा मालिका, मूलपानी, लहरेपिपल र कालिका गा.वि.स. मिलेर एक सिङ्गो र ठूलो नगरपालिका बनेको छ । यो नगरपालिकामा १ नगरप्रमुख, १ उपप्रमुख, १४ वडा अध्यक्षहरु र ५६ जना वडा सदस्य निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनतामा अब बागलुङ नगरपालिकाको भविष्य के हुने हो ? कस्तो हुने हो ? भन्ने बारेमा कौतुहलता, छलफल र चियागफ हुने गरेका छन् । कसैले भन्छन्, ‘बुर्तिबाङ र गलकोट क्षेत्रबाट प्रशासनिक र व्यापरिक कामको सिलसिलामा आउने जनताहरु अहिले सामान किन्न बुटवल नजिक र सस्तो पर्दछ र प्रशासनिक कामहरु जस्तै ः नागरिकता, पार्सपोर्ट, लालपुर्जा सबै सम्बन्धित गाउँपालिका र नगरपालिकामा तयार हुने गर्दछ ।’ अर्काथरी भन्छन्– ‘दक्षिणी भेक कुश्मीशेरा दमेक, बलेवा क्षेत्रका जनताहरु झोलुङ्गे पुल र केबुलकारको सुविधाले पर्वत कुश्मा जान आउन र सामान खरिद गर्न नजिक हुन्छ ।’

कतिपयका यस्ता तर्कपनि सुनिन्छन्, ‘बागलुङमा आएर हेर्ने कुनै पर्यटकीय स्थलहरु नै छैनन् । एउटा कालिका भगवती मन्दिर छ, त्यो पनि छेउ कुनामा । उतैबाट आउँछन्, हेर्छन् र उतैबाट फर्कन्छन् ।’

कसैले भन्छन्– ‘बागलुङ नगरीको तल्लो बाङ्गेचौर रामरेखा बेल्टबाट हाइवे गएको छ, त्यसैले बागलुङ नगरी कोल्टे परेको छ ।’ यस्तो भन्नेहरु पनि छन, ‘बागलुङ नगरीको बाटो भएर जाने टुरिष्ट वे नक्सामा अङ्कित नभएकोले टुरिष्टहरु यो बाटो हिँड्दैनन् । त्यसैले यो ठाउँ बाह्य पर्यटकको गन्तब्यस्थलको रुपमा पनि छैन ।’ आदि, इत्यादि ।

त्यसो भए बागलुङलाई आन्तरिक पर्यटन, बाह्य पर्यटन र व्यापरिक केन्द्रको रुपमा विकसित गर्न के के गर्नुपर्ला ? प्रश्नहरु एक अर्कालाई थोपर्छन्, उत्तर आउँछ– ‘नेताहरुले गर्ने हो, सरकारले गर्ने हो । हामीले होइन ।’ वास्तवमा विकास नेताहरुले मात्र गरेर हुँदैन, न त सरकारले मात्र गरेर हुन्छ । विकास नेता, सरकार, नागरिक समाज, स्थानीय निकाय लगायत सम्पूर्ण सरोकारवाला निकायको सामूहिक प्रयासबाट हुने कुरा हो । विकास कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट माथि उठेर गरिने कार्य हो ।

बागलुङ नगरीलाई अबको एक्काइसौं शताब्दीको विकसित अर्थतन्त्र र व्यापारिक गन्तब्यको रुपमा विकास गर्न अहिलेको स्थानीय निकायले केही सोच्नुपर्ने बेला भएको छ । बागलुङ नगरपालिकाको पहलमा व्यापारी, स्थानीय निकाय, एन.जि.ओ., आइ.एन.जि.ओ. र सरोकारवालाहरुको एक वृहत् भेला गरेर बागलुङ नगरीको भविष्य बारेमा गर्न सकिने सम्भाव्य कार्यहरुको बारेमा अन्तरक्रिया गर्नु पर्ने आवश्यकता देखिन्छ ।

नजिकको छिमेकी जिल्ला पर्वतले ज्ञादी, कैया र बलेवामा झुलुङ्गे पुल र केबुल कार जोडेर आफ्नो व्यापार बढाइरहेको अवस्था छ । काठमाडौंबाट चन्द्रागिरीमा केबुलकार चलाएर चन्द्रागिरीमा दैनिक हजारौं मानिस पु¥याएर आन्तरिक तथा बाह्य पर्यटनको विकास गरिरहेको छ । कुरिनटारबाट मनकामना केबुलकार जोडेर मनकामना दर्शनलाई विश्वभरी प्रचारप्रसार गरिरहेको छ । यसविच बागलुङले पनि बागलुङबाट पाङ, नाग्लीवाङ, धाइरिङसम्म झोलुङ्गेपुलले जोड्न किन नसक्ने ? अमलाचौरमा अवस्थित प्रशिद्ध भैरवस्थान र मालिकामा अवस्थित पञ्चकोटमा केबुलकार जोडेर आन्तरिक र वाह्य पर्यटनको विकास किन गर्न नसकिने ? बागलुङ बजारभित्रै दुई तीन रोपनी जग्गा लिएर बागलुङ भ्यूटावरको निर्माण किन गर्न नसकिने ?

नजिकै रहेको भकुण्डे गा.वि.स.को दह क्षेत्र र मुलाबारीमा राम्रा राम्रा रिसोर्ट र होमस्टे निर्माण गरेर त्यहाँबाट देखिने धौलागिरी हिमश्रृङ्खला तथा बागलुङ नगरीको मनोरम दृश्यावलोकन गर्न त्यहाँसम्म पुग्ने ट्रेकिङ र पिच बाटोको निर्माण किन गर्न नसकिने ? जोहो गर्नुप¥यो पैसाको । एकजना व्यक्तिले १ लाख बराबरको शेयर राख्यो भने ५०० जनाबाट ५ करोड सजिलै उठ्न सक्छ ।

यहाँका सहकारी प्रत्येकबाट ५ लाखको दरले ५० वटा सहकारीबाट २ करोड ५० लाख सजिलै उठ्न सक्छ । यहाँ पैसाको खाँचो छैन । यहाँ सलाइको खोरी पनि छ, सलाइको काँटी पनि छ, मात्र आवश्यकता सलाइ र काँटी बीच घर्षण पैदा गरेर आगो बाल्ने सक्षम नेतृत्व र योजनाको खाँचो छ । वर्तमानमा निर्माणाधीन मुस्ताङको कोरला नाका, पूर्व पश्चिम पुष्पलाल मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको मिलन विन्दुको रुपमा रहेको बागलुङ नगरीको काँचुली फेर्न सकिने अबस्थाछ ।

यसकालगि अब यहाँका जनताहरु, उद्योग वाणिज्य संघ, स्थानीय निकाय, सरोकारवाला निकाय र बागलुङ नगरपालिका अब छिट्टै नै कम्मर कसेर नलाग्ने हो भने, बेलैमा नसोच्ने हो भने बागलुङ भोली पाल्पा हुन के बेर ? कुनै बेला पाल्पाको व्यापार विस्थापित भएर त्यहाँका व्यापारीहरुले पसल बन्द गर्दै भोटेताल्चा लगाउनु पर्ने स्थिति आएको थियो । त्यो नियति बागलुङमा पनि नआउला भन्न सकिन्न । अस्तु ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung