
दामोदर न्यौपाने
किताबको रोयल्टीबाट जीवन धानेका पहिलो साहित्यकार भनेर चर्चा हुन्छ डायमनशमशेर राणाको । उनका ७ उपन्यास प्रकाशित भएका छन्– प्रतिबद्ध, अनिता, धनको धब्बा, वसन्ती, सेतो बाघ, सत्प्रयास र गृह प्रवेश । तीमध्ये वसन्ती, सेतो बाघ, सत्प्रयास र गृह प्रवेश ऐतिहासिक उपन्यास हुन् ।
डायमनको जन्म शताब्दी वर्ष हो यो । जन्म दिन गत असार २१ गते पर्छ । वर्षैभरि उनलाई सम्झेर जन्म शताब्दी मनाइँदै छ । जसमा युवाहरू पनि जुटेका छन् । पोखरामा गत साता जन्म शताब्दी अवसर पारेर बृहत् साहित्यिक सम्मेलन आयोजना गरियो । डायमनशमशेर साहित्य प्रतिष्ठानले आयोजना गरेको सम्मेलनमा युवादेखि पाका स्रष्टासम्म सहभागी भए ।
वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराईदेखि डायमनका छोरा रघुशमशेर जबरा, बुहारी रत्नदेखि डायमनका नाति, पनाति, प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डेलगायत पोखरा पुगेका थिए । डायमन जन्म शताब्दी समारोहका संयोजक गोविन्द भट्टराईका अनुसार कम्तीमा सातै प्रदेशमा डायमनका व्यक्तित्व र कृतिको चर्चा परिचर्चा गरिनेछ ।
युवा पुस्तामा पठन संस्कृति बढ्दै गएको छ पछिल्लो समय । कोर्सका मात्रै नभई बाहिरी पुस्तक पनि पढ्ने जमात् बढेको छ । साहित्यमा चासो राख्ने युवा पुस्ताले उनका कृति नपढ्ने कुरै भएन । उनीबारे नबुझ्ने कुरै भएन । युवाहरू डायमन र उनका कृतिलाई कसरी सम्झन्छन् ? केही युवाहरूसँग कुराकानी गरिएको थियो ।
डायमनको कृति पढ्दा र उनको कृति वसन्तीमाथि बनेको चलचित्र हेरेर डायमन शमशेरबारे अनेक धारणा बनाएका थिए कपिलवस्तुका सञ्जय पन्थीले । पत्रकारिता गर्ने सिलसिलामा डायमनसँग नजिकिने मौका पाए । ‘आफूलाई मन परेको चलचित्रका उपन्यासकार, आफूले पढेको पुस्तकका स्रष्टा कस्ता होलान् भन्ने लागेको थियो,’ सञ्जय भन्छन्, ‘मैले सोचेको भन्दा फरक पाएँ । राणा खानदान भएकाले अहम् होला, सामान्य मान्छेसँग घुलमिल हुँदैनन् होला जस्तो लागेको थियो । कुनै पनि कुरालाई सामान्य र सहज रूपमा लिने, मान्छे बुझ्ने, घुलमिल हुने । उहाँको यही स्वभावले आकर्षित भएँ म ।’
डायमनको उपन्यास धनको धब्बा पुनर्लेखको जिम्मा पनि पाए सञ्जयले । ऐतिहासिक विषयवस्तुमा लेखिएको उक्त कृतिलाई केही परिमार्जन गरेर समय सान्दर्भिक बनाएको सञ्जयले बताए । धनको धब्बा २०५१ सालमा छापिएको कृति हो । सञ्जयले यसको पुनर्लेखन २०६६ सालमा गरेका थिए ।
१९७५ असार २१ गते पाल्पा दरबारमा जन्मेका हुन् डायमन । उनका बुबा बुधशमशेर बडाहाकिम थिए । उनी ६ महिनाको हुँदा बुबाको पनि सरुवा भयो । सरुवा भएसँगै उनी काठमाडौं आए । थापाथली दरबारमा हुर्किए । ९४ वर्षको उमेरमा उनी बितेका हुन् ।
डायमनको राजनीति र साहित्यमा उत्तिकै योगदान छ । राणाकुलमा जन्मेर पनि राणा शासनको विरोधमा उत्रिए । प्रजातान्त्रिक समाजवादको वकालत गरे । २००७ सालको क्रान्तिमा हतियार उठाए । त्यसबापत उनलाई कोर्ट मार्सल लगाइयो । जेल हालियो । मृत्युदण्डको तयारीसमेत भएको थियो । कांग्रेसले सुरु गरेको सशस्त्र आन्दोलन सफल भयो २००७ सालमा । आन्दोलन सफल भएपछि डायमन पनि जेलमुक्त भए ।
‘प्रजातन्त्र नआएको भए बुबाको मृत्युदण्ड हुने थियो,’ छोरा रघुशमशेर भन्छन्, ‘प्रजातन्त्रको पक्षमा चेतना जागृत गराउँदै जनताको सेवामा लाग्नुभयो बुबा । नेपाली समाजमा उहाँको योगदान सानो छँदै छैन । भयरहित समाजको परिकल्पना गर्नुभएको थियो उहाँले । राणा भएर पनि राणाविरोधी आन्दोलनमा लाग्नुभयो । पञ्चायतविरोधी आन्दोलनमा लाग्नुभयो । आफ्नो वंशज विरुद्धको आन्दोलनको अगुवाइ गर्नुभयो । त्यतिबेला परिवारले पाएको पीडा सहिसक्नु थिएन । तैपनि हामीले उहाँको मूल्य मान्यतामा हस्तक्षेप गरेनौं ।’
पोखरेली युवा नवराज न्यौपानेको शब्दमा उनका कृतिमध्ये सेतो बाघ र वसन्ती कालजायी कृति हुन् । विद्यावारिधि गरिरहेका न्यौपानेले शोधपत्रको एउटा पेपर सेतो बाघ छानेका छन् । उनको कृतिलाई लिएर समालोचकहरूले विश्वदृष्टि पनि खोजेका छन् । सेतो बाघलाई वरिष्ठ समालोचक गोविन्दराज भट्टराईले मायिक यथार्थवादी उपन्यास भनेका छन् । मायिक यथार्थवाद उपन्यास लेखनको नवीनतम प्रविधि हो ।
डायमनले भएका भौतिक सम्पत्ति सकेको तर अमर सम्पत्ति छाडेर गएको उनी टिप्पणी गर्छन् । बीपी कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्री भएपछि २०१६ सालमा विर्ता उन्मूलन नीति ल्याए । त्यो नीतिबमोजिम डायमनले आफ्ना बाबुबाजेले कमाएको एक हजार बिघा जग्गा सरकारलाई बुझाएका थिए ।
विर्ता उन्मूलन अभियानपछि उनको रौतहटमा भएको ४५ बिघा जमिनसमेत सरकारीकरण भयो । त्यसबाट उनको आर्थिक अवस्था कमजोर भयो । आर्थिक अवस्था वसन्ती उपन्यासले पनि उकास्न सकेन । २०३० सालमा सेतो बाघ लेखेपछि भने आर्थिक अवस्था उकासिँदै गएको नवराज बताउँछन् । २०४१ सालमा सेतो बाघ अंग्रेजीमा अनुवाद भयो ।
कान्तिपुर शुक्रबारबाट