जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा वाम–राप्रपा गठबन्धनले अघि सारेका राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना विजयी भएका छन् ।
प्रमुख, उपप्रमुख सहित सवै नै जना सदस्य नै वाम–राप्रपा गठबन्धनले जीतेको हो । प्रमुख पदमा ढुङ्गानाले काँग्रेसका उम्मेद्वार लक्ष्मण आचार्यलाई ४ मत अन्तरले पराजित गरेका बागलुङका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिए ।
ढुङ्गाना स्थानीय तहको चुनाबमा बरेङ गाउँपालिकाको वडा नम्बर–१ बाट सदस्य निर्वाचित भएका थिए । ढुङ्गानाले १२ मत प्राप्त गरे भने अचार्यले ८ मत मात्र ल्याए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए । काँग्रेस भने एक्ले चुनावी मैदानमा उत्रेको थियो ।
उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका एमालेका विष्णु भुषाल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा काँग्रेसले रामप्रसाद विकको उम्मेद्वारी दर्ता गराएको थियो ।
प्रमुख उपप्रमुख मध्य एकजना महिला उम्मेद्वार हुनुपर्ने भन्दै बाम–राप्रपा गठबन्धनका प्रमुख उम्मेद्वार राजेन्द्र ढुङ्गाना र उपप्रमुखका उम्मेद्वार बिष्णु भुषालले दाबि विरोधको उजुरी दर्ता गरेका थिए । उजुरीपछि काँग्रेसले उपप्रमुखको उम्मेद्वारी फिर्ता लिएको थियो । काँग्रेसका उम्मेद्वार रामप्रसाद विकको उम्मेद्वारी फिर्ता भएपछि भुषाल निर्बिरोध भएका हुन् ।
एमाले बागलुङका उपसचिव समेत रहेका भुषाल बडीगाड गाउँपालिका वडा नम्बर–१ का निर्वाचित वडा अध्यक्ष हुन् । उनी जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद स्वत रिक्त भएको मुख्य निर्वाचन अधिकृत बेल्बासेले बताए ।
समितिको सदस्यमा एमालेका राजु केसी र रुपा विक, राजमोका ताराकुमारी पुन तथा माओवादी केन्द्रका झंकबहादुर कामी, दलबहादुर थापा र फुलकुमारी पुन निर्वाचित भएका छन् । राप्रपाका डिल्ली आचार्य निर्वाचित भए ।
१० स्थानीय तह रहेको बागलुङमा बाम–राप्रपा गठबन्धनको १२ र काँग्रेस एक्लैको ८ मत थियो । बागलुङमा काँग्रस र एमालेले ४÷४ स्थानीय तह तथा मओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले १/१ स्थानीय तह जितेका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि एमालेसँग ६, माओवादीसँग २, राजमोसँग ३ र राप्रपासँग १ मत थियो । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यको सपथ शुक्रबारै भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा प्रमुख र उपप्रमुलाई मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले पद तथा गोपनियताको सपथ गराए । त्यसपछि सदस्यलाई प्रमुख राजेन्द्र ढुङ्गानाले सपथ गराएका थिए ।



















































































































































































































