संघीय संरचना अनुसार निर्वाचन क्षेत्र निर्धारण गर्दा बागलुङमा कम्तिमा दुइवटा निर्वाचन क्षेत्र बनाउनुपर्ने आवाज उठेको छ । अहिले बागलुङ ३ वटा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।
विक्रम संवत २०१५ सालमा देशभर १ सय ९ निर्वाचन क्षेत्र बनाउँदा समेत बागलुङलाई दुई निर्वाचन क्षेत्रमा बाँडिएको थियो । निर्वाचन क्षेत्र निर्धारणका लागि प्रदेश नम्बर–४ लाई प्राप्त जम्मा संख्याको आधारमा मुस्ताङ–मनाङको कम जनसंख्याले बागलुङलाई प्रभाव पार्ने ठानिएको छ । यसले बागलुङमा एउटा मात्र क्षेत्र बनाउने छलफल निर्वाचन क्षेत्र निर्धारण आयोगमा चलेको भन्ने चर्चा विच कुनै पनि हातलमा दुई निर्वाचन क्षेत्र बनाउनुपर्ने आवाज उठेको हो ।
‘विगत ६० बर्षदेखि नै कम्तिम २ निर्वाचन क्षेत्र रहेको बागलुङमा संघियता कार्यान्वयनपछि गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएका बेला किन २ निर्वाचन क्षेत्र हुन सक्दैन ?’ भन्ने चर्चा र बहस बागलुङवासीमा चलेको देखिन्छ ।
भौगोलिक विकटता, प्रशासनिक असहजता, सामुदायिक तथा साँस्कृतिक विविधता लगायतका आधारमा कम्तिमा दुई क्षेत्र नबनाईए व्यवहारिक नहुने बहस सुरु भएको हो ।
निर्वाचन क्षेत्र निर्धारण आयोगमा निर्वाचन क्षेत्र तय गर्ने विषयमा छलफल सुरु भएको अवस्थामा बागलुङका सरोकारवालाले काठमाण्डौमा बैठक गरि यो माग अघि बढाएका छन् ।
सोमबार काठमाण्डौमा भएको सर्वदलिय सर्वपक्षिय बैठकले बागलुङमा कुनैपनि हालतमा दुई निर्वाचचन क्षेत्र हुनैपर्ने निर्णय गरेको नेकपा एमालेका नेता रामबहादुर जीसीले जानकारी दिए ।
बैठकमा जिल्लामा क्रियाशिल राजनितिक पार्टीका प्रतिनिधि, बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद, केहि स्थानीय सरकारका प्रमुख, उपप्रमुख लगायतको उपस्थितीमा यस्तो निर्णय भएको हो । यसअघि बागलुङमा आईतबार भएको जिल्ला समन्वय समितिको बैठकले पनि जिल्लामा दुई निर्वाचन क्षेत्र कायम हुनुपर्ने निर्णय गरेको थियो ।

समितिले सर्वदलिय बैठकबाट डेलिगेसन जाने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले जानकारी दिए । ‘प्रदेश नम्बर–४ ले पाउने निर्वाचन क्षेत्रको संख्यालाई जिल्ला गत रुपमा मिलाउँदा एउटै निर्वाचन क्षेत्र हुने जस्तो कुरा सुन्नमा आएको छ’, प्रमुख ढुङ्गानाले भने, ‘जनसंख्या, भुगोल लगायत सवै मापदण्ड पुरा हुनेहुँदा बागलुङलाई जसरी पनि दुई निर्वाचन क्षेत्र कायम गर्नुपर्छ भन्ने जिल्लावासीको माग हो ।’
उनले ४ नम्बर प्रदेश अन्तरगत पर्ने मुस्ताङ–मनाङ जिल्लाको जनसंख्या कम भएको अवस्थालाई प्रदेश भित्र व्यवस्थापन गर्दा बागलुङमा एउटै हुने गरि छफलफ सुरु भएको हल्ला बाहिर आएको बताए । २०६८ सालको जनगणना अनुसार बागलुङमा पौने ३ लाख जनसंख्या भएको छ । विगतमा पनि दुई भन्दा बढी निर्वाचन क्षेत्र कायम हुँदै आएको, भौगोलिक रुपमा विकट तथा प्रशासनिक रुपमा अपायक परेको पर्ने विद्यमान अवस्थाले गर्दा बागलुङमा दुई निर्वाचन क्षेत्र कायम हुनु पर्ने काठमाण्डौ वैठकको निष्कर्ष छ ।
बैठकमा नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा, नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुरेन्द्र खड्का र नयाँ शक्ति पार्टी नेपालका प्रदेश नं. ४ का संयोजक बलावती शर्मा सहभागी थिए ।
जिल्ला समन्वय समितिमा भएको बैठक र काठमाण्डौमा भएको सर्वदलिय बैठकको निष्कर्षका आधारमा सोमबार निर्वाचन क्षेत्र निर्धारण आयोग कार्यालय सिंहदरबार पुगेर आयोग सदस्य बेगेन्द्रराज शर्मा पौडेललाई ध्यानाकर्षण पत्र बुझाईएको छ । राजनीतिक दलका नेताले हस्ताक्षर रेको ध्यानाकर्षण पत्रमा जिल्लाको समग्र अवस्थालाई मध्यनजर गरी २ वटा निर्वाचन क्षेत्र कायम नगरिए सम्पुर्ण जिल्लावासीका लागि दुर्भाग्य हुने उल्लेख छ ।
‘२०१५ सालमा देशभर १०९ निर्वाचन क्षेत्र कायम हुँदा समेत बागलुङमा दुइ निर्वाचन क्षेत्र कायम भएको अवस्था हो, २०४८ मा २०५ निर्वाचन क्षेत्र हुँदा र २०६४ को संविधान सभा निर्वाचनपछि पनि ३/३ निर्वाचन क्षेत्र रहेका थिए’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘विगतका आधारलाई हेर्दा पनि सबै हिसावले २ निर्वाचन क्षेत्रका लागि उपयुक्त देखिएकाले सर्वदलीय सर्वपक्षीय वैठकको पनि २ निर्वाच क्षेत्र कायम हुनुपर्ने निश्कर्ष हो ।’
जिल्ला समन्वय समिति बैठकले १ हजार ७ सय ८४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र पौने ३ लाख जनसंख्या रहेको बागलुङ विगत ६० बर्षदेखि नै कम्तिमा २ निर्वाचन क्षेत्र रहँदै आएको बारे छलफल भएको थियो ।
विगतको ईतिहास, जटिल भौगोलिक अवस्था, विभिन्न क्षेत्रमा पक्षमा भएको विविधता र वैदेशिक तथा आन्तरिक रोजगारी लगायतका कारणले राष्ट्रिय जनगणनामा समेत झण्डै १ लाख जनसंख्या छुटेकोले पनि जनसंख्याकै मापदण्डका आधारमा समेत दुई निर्वाचन क्षेत्र हुनुपर्ने जिल्ला समन्वय समिति बैठकले निकर्ष निकालेको थियो ।



















































































































































































































