
सरकारले १९ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीलाई शुक्रबार दिउँसो अनशन तोड्ने प्रस्ताव पठाएको छ । उच्च स्रोतका अनुसार केसी पक्षले भने चिकित्सा शिक्षा विधेयकको मस्यौदा हेरेपछि मात्र प्रतिक्रिया दिने छ ।
माथेमा आयोगको मूल भावनालाई पक्रँदै चिकित्सा शिक्षा विधेयक बनाउनेलगायतका अन्य मागहरुको सम्बोधन बारे प्रस्ताव राखिएको छ । नारायणकाजी श्रेष्ठको आयोजनामा बिहीबार राति ९ देखि १ बजेसम्म यसै विषयमा बैठक भएको स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरसँग भने ।
उक्त बैठकमा स्वास्थ्यमन्त्री पोखरेल, शिक्षामन्त्री, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, जीवन परियार, धनीराम पौडेल, केदारभक्त माथेमा, डा.भगवान कोइराला, डा.अर्जुन कार्की, मदन उपाध्याय, उमेशकान्त पोखरेलसँगै वार्ता टोलीका सदस्यहरु सहभागी थिए ।
छलफलले डा.केसीको मागहरुबारे एउटा मिलन विन्दु खोज्दै त्यसलाई उहाँसमक्ष अनशन तोड्ने प्रस्तावको रुपमा लिएर जाने निर्णय गरेको थियो ।
यसपछि शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार रातिको टोलीसहित महिला बालबालिका समिति सभापति रन्जु झालाई बोलाएका थिए ।
त्यहाँ बृहत् टोलीले गृहकार्य गर्दै अनशन तोड्न एउटा साझा सहमतिसहितको प्रस्ताव डा.केसीसमक्ष पठाएको स्वास्थ्यमन्त्री पोखरेलले बताए ।
स्रोतको अनुसार बैठकमा प्रधानमन्त्री देउवाले त्रिविसँग सम्बन्धित मागको लागि त्रिविका उपकुलपति, रेक्टर, रजिष्टारलगायतलाई बोलाएर भन्ने जनाएका थिए ।
‘हाल द्विपक्षीय वार्ता धेरै सकारात्मक रहेको छ’, स्वास्थ्य मन्त्रीले भने–‘हामीले उहाँ (डा.केसी) सहमत हुने गरी नै प्रस्ताव निर्माण गरेका छौं ।’