परम्परागत खेतिबाली त्यागेर माछा पालन गर्दा गलकोटका एक कृषकले मनग्य आम्दानी गर्न सफल भएका छन् ।
गलकोट नगरपालिका १ दुदिलाभाटीका बमबहादुर गुरुङले बारीमा माछा पोखरी बनाएर माछा पाल्नुभएको छ । करिब ६ मुरी मकै र कोदो फल्ने चार रोपनी बारीमा उहाँको पोखरी फैलिएको छ । २०६७ सालमा डेढ लाखको लगानीमा पोखरी निर्माण गरी माछा पालन सुरु गरेको गुरुङले बताउनुभयो । परम्परागत रुपमा गरिदै आएको मकै र कोदो खेति बाट भन्दा माछाबाट सयौ गुणा बढी आम्दानी हुने गरेको छ ।
वार्षिक रुपमा १० क्विन्टल माछा बेचेर ५ लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । स्थानिय हावापानी अनुसार ग्रास कास माछा धेरै राम्रो भएको गुरुङले जानकारी दिनुभयो ।
चिसो हावापानीमा हुर्केका माछा स्वादिलो हुने भएकाले पनि माछाको माग अत्याधिक रहेको गुरुङको भनाई छ ।
माछा पोखरी बाहेक थप दुई रोपनी जग्गामा मकै खेति छोडेर सुन्तला रोपेको उहाँले बताउनुभयो । करिब ९० बोट सुन्तलाबाट बार्षिक ३ लाख आम्दानी हुने गरेको छ । सुन्तला बगानले शौन्दर्यता थप्नुको साथै आम्दानी समेत राम्रो भएको उहाँको भनाई छ ।
परम्परागत खेतिलाई आधुनिकीकरण गर्न सके नेपालमा कृषिको प्रचुर सम्भाबना रहेको उहाँले बताउनुभयो । १६ वर्ष भारतिय सेनामा जागिर गरि नेपाल फर्केका गुरुङ कृषि, समाजसेवा र राजनितीमा समेत सक्रिय हुनुहुन्छ ।