बागलुङ । जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि “गाउँ फर्कौं, आफ्नै गाउँ बनाऔं” अभियानलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
१९औँ नगरसभामा नगरप्रमुख नरबहादुर पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँमै उद्यम गर्न इच्छुक युवालाई लक्षित गरी विशेष कार्यक्रम ल्याइएको जानकारी दिनुभयो।
नगरपालिकाले अर्थ, उद्योग, वाणिज्य तथा लघुउद्यम क्षेत्रअन्तर्गत घुम्ती कोषमार्फत स्वरोजगार बन्न चाहने युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति लिएको छ।
“फर्किएका युवा गाउँको शक्ति” कार्यक्रममार्फत गाउँमै रोजगारी र उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। कृषि क्षेत्रतर्फ प्राङ्गारिक मल उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्न प्राङ्गारिक मल उद्योग स्थापना गर्ने नीति ल्याइएको छ।
“हरेक खेतमा सिँचाइ, हरेक किसानमा समृद्धि” कार्यक्रमलाई अगाडि सारिएको छ भने “सेरा जाऔं, केरा खाऔं” अभियानलाई निरन्तरता दिइने भएको छ। नगरभित्र उत्पादन हुने वस्तुको पहिचान गरी बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ।
पूर्वाधार विकासतर्फ नगरभित्रका १३ वटै दिगो सडकको स्तरोन्नति कार्यलाई निरन्तरता दिइने भएको छ। नाली निर्माण, टेवा पर्खाल, पानी निकास तथा घुम्ती सुधार कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ।
नगरपालिकाले बसपार्क व्यवस्थापन, अव्यवस्थित घर–टहरा हटाई व्यवस्थित सहर निर्माण तथा सुकुम्बासीमुक्त पालिका अभियानलाई पनि निरन्तरता दिने जनाएको छ। शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै “एक विद्यालय, एक करेसाबारी” कार्यक्रम सञ्चालन गरिने भएको छ।
प्राविधिक धार सञ्चालन भइरहेको शान्ति माविमा एआई ल्याब स्थापना गर्ने तथा एसईई परीक्षार्थीका लागि मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन गर्ने नीति पनि समावेश गरिएको छ। सामुदायिक विद्यालयमा जंक फुड निषेध गरी दिवा खाजा व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ।
स्वास्थ्यतर्फ नागरिक स्वास्थ्य उपचार कोषलाई थप विस्तार गरिने भएको छ। सबै वडामा ग्रामीण भिडियो एक्स–रे सेवा निरन्तरता दिँदै संस्थागत प्रसूति सेवालाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ।
त्यसैगरी धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय दलित संग्रहालय अवधारणाको कार्यान्वयन, सौर्य बत्ती जडान विस्तार, निःशुल्क वाइफाइ सेवा, सरसफाइ तथा बजार सौन्दर्यीकरण अभियानलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
उपप्रमुख हरिहर शर्माका अनुसार नगरसभाबाट बजेट पनि प्रस्तुत गरिनेछ। यस वर्षको बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा केही कम हुने अनुमान गरिएको छ।













































































































































































































