
बागलुङ,-जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङले आर्थिक वर्ष ०७३।०७४ को बर्षिक समिक्षा गोष्ठी आईतबारबाट बागलुुङमा सुरु गरेको छ । स्थानिय पुर्नसंरचना अनुसार गाउँपालिका र नगरपालिका १० स्थानिय निकायको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको बारेमा समिक्षा गरिने छ । गोष्ठीको उदघाटन गर्दै जिल्ला समन्वय समितिका सभापति राजेन्द्र ढुंगानाले राज्यले हरेक स्थानिय तहमा ध्यान पु¥याउन नसकेको बताएका छन । उनले स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा केन्द्र बाट कुनै निर्देशन नभएको कारण के कसरी गर्ने हो कठिनाई भएको बताए । ढुंगानाले अहिलेको अवस्थामा कर्मचारी व्यवस्थापन फितलो भएको र जिल्ला स्तरका कार्यालय अलमलमा परेको भन्दै स्थानिय तहमा व्यवस्थापनका लागि केही सहजताको बाटो खोज्नुपर्ने बताए ।
जिल्लामा स्वास्थ्य क्षेत्रमा पछिल्लो समयमा केही उल्लेखनीय प्रगती भएको देखिएको छ । जिल्लामा परिवार नियोजन गर्नेको संख्यामा बृद्धि र खोपको प्रभावकारिता बढदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यस वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या ९ सय ६५ रहेको तथ्याङक रहेको छ । गाउँघरमा अशिक्षा र अन्धविश्वासका कारण सुरक्षित गर्भपतन गर्नेको संख्यामा बढदोे देखिएको बताईएको छ ।
२ दिन सम्म संचालन हुने गोष्ठीमा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका स्वास्थ्य प्रमुख साथै जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल मेडिक मोबाईल, सुआहारा, र मेरीस्टोप्स लगायतका संस्थाहरुको सहभागिता रहेको छ । कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर सागर कुमार राजभण्डारी जिल्ला प्रसासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत कृष्णराज गौतम, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कम्प्युटर अधिकृत रविन्द्र घिमिरे, लगायतले बोलेका थिए । गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट संचालित परिवार नियोजन, सुरक्षित मातृत्व, खोप, पोषण, क्षयरोग कुष्ठरोगको बारेमा जनस्वास्थ्य अधिकृत जिवनकुमार शाक्य, पब्लिक हेल्थ नर्स हरिकाशी पालिखे, क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरे, लगायतका जिल्ला सुपरभाईजरले गत वर्षको समिक्षा तथा यस वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दिपक सुवेदीको स्वागत र तथ्याङक सहायक घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।