१० कार्तिक २०८३, सोमबार

 

‘नगरकै सडकमा पोखरी, पानी परे आउँछ मान्छे बगाउने भेला, यस्तो छ भित्री कथा’

- ‘अर्को बर्खामा सडकमा भेल देख्न पाउनुहुन्न ।’ -उपप्रमुख खड्का

विकास निर्माणमा गरिने टालटुले प्रवित्तीले बागलुङ नगरका सडक ध्वस्त भएका छन् । बागलुङ नगरपालिका अन्तर्गतका मुख्य सडकहरु हर वर्ष मर्मत र कालोपत्रे गरिए पनि कमजोर निर्माण सामग्रीको प्रयोग र नालीको सही व्यवस्थापन नहुँदा वर्ष दिन नपुग्दै भत्किने गरेका हुन् ।

गतवर्षको जेठ असारमा मर्मत गरिएको बागलुङ बजारको श्रीनगरटोल—ऐश्वर्यपार्क सडकको अहिले ठाउँ—ठाउँमा ठूलठूला खाल्डो परेर पोखरी बनेका छन् । बर्खाको समयमा पानी प¥योकी सडकमै बाढी आउने कारणले पनि बाटोको अवस्था झन् बिग्रदो छ । बाग्लुङ नगरपालिकाले नाली व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको स्थानीयको भनाई छ ।

पानी परे सडकमै बाढी
स्थानीय राजेन्द्र आचार्य भन्छन्, ‘नगरपालिका भित्रका सडक नालीको व्यवस्थापन सहि ढङ्गले हुन नसक्दा समस्या भएको छ ,पानी प¥यो भने सडकमै बाढी आउँछ ।’ साँघुरो सडक त्यसैमाथी खाल्डा खुल्डीले दुर्घटना निम्त्याउने उनको भनाई छ । ‘उसै पनि यहाँका सडकहरु साँघुरा छन्,’ उनले भने, ‘त्यसैमाथी बीचबाटोमै खाल्डो परेर पोखरी भएको छ, यसले दुर्घटनाको जोखिम थप बढाउँछ ।’

सवारी आहाल खेल्दै गुड्छन्
यहाँको मूल सडकको रुपमा रहेको ऐश्वर्यचोक—श्रीनगरटोलसम्मको ४ सय ६० मिटर सडक बोर्डको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानीमा गत वर्ष मर्मत भएको थियो । सडक बोर्डबाट २३ लाख र स्थानीयबाट ११ लाख संकलन गरी ३४ लाखको लागतमा ऐश्वर्यचोक—श्रीनगरटोल सडक मर्मत भएको हो । बानपा—२ को हल्लनचोकमा सवारी साधन नै डुब्नेगरी पोखरी भएका छन् । यहाँको सबैजसो सडकमा सवारी साधन आहाल खेल्दै गुड्ने गरेका छन् ।

मान्छे बगाउने भेल
पानी परेका बेला सडकमा आउने बाढी आफ्नो पसलमै पस्ने गरेको स्थानीय जंगबहादुर थापाको गुनासो छ । ‘पानी प¥यो भने सडकमा आउने बाढी नै मेरो पसलमा पसेर हैरान पारेका छ,’ थापा भन्छन्, ‘सडकको खाल्डाखुल्डीमा जमेको पानी सवारी गुड्दा छ्यापेर बस्नै नसकिने बनाएको छ ।’

मध्येपहाडी लोकमार्ग वरपर रात्माटा र हाँडेपाखाबाट बगेको भल हल्लनचोकमा आउँदा बाढीको रुपमा लिने गरेको स्थानीय टिकाराम थापा बताउँछन् । ‘पानी प¥यो भने मान्छे बगाउने भेल आउँछ, यहाँको मात्र पानी भए ढलमा अटाउँथ्यो होला,’ उनले भने, ‘माथि पाखो देखिको भेल आएपछि हामीलाई सास्ती हुने गरेको छ ।’

नाली बनाउन नगरको ढीलाई
हल्लनचोकको नाली निर्माणमा नगरपालिकाले ढिलाई गर्दा त्यहाँको सडकमा ठूला खाल्डो पर्न पुगेको ऐश्वर्यपार्क—श्रीनगरटोल सडक मर्मत उपभोक्ता समितिका सचिव विदेशकुमार श्रेष्ठ बताउँछन् । ‘हामी सडक मर्मत गरेको अहिले जून ठाउँमा सडक भत्किएको त्यो भन्दा केही माथीबाट हो, भत्किएको ठाउँमा मर्मत गर्ने अर्कै उपभोक्ता समिति छ,’ श्रेष्ठले भने, ‘बर्खाको समयमा सडकमै बाढी बग्ने भएपछि जति बलियो बनाउँछु भने पनि सम्भव छैन, पानी जमेपछि सडक भत्किहाल्छ ।’

बर्खाको पानी नजम्ने गरी व्यवस्थापन गर्न नसकेसम्म सडक जति पटक मर्मत गरे पनि भत्किने उनको भनाई छ । ‘पानी सिधै बगेर जाने व्यवस्था नगरेसम्म वर्षैपिच्छे यो समस्या दोहोरिरहन्छ,’ उनले भने, ‘यसको दिर्घकालिन उपाय नखोजेसम्म समाधान हुँदैन ।’

उनले तुलनात्मक रुपमा आफ्नो समितिले निर्माण गरेको सडक राम्रो रहेको समेत दाबी गरे । ‘हल्लनचोकबाट माथी जीपपार्कसम्मको मूल सडक हामीले मर्मत गरेका हौं,’ श्रेष्ठ भन्छन्, ‘केही ठाउँमा डोजरले गर्दा भत्किएको हो नभए केही भएको छैन ।’

समस्या बारे यसो भन्छन् प्रविधिक
बागलुङ बजारको सडक टिकाउ नहुनुमा सडक नालीको समस्या नै मुख्य भएको बागलुङ नगरपालिका कार्यालयका ईन्जिनियर त्रिलोचन गिरी स्वीकार्छन् । ‘पहिलो कुरा त निर्माण सामग्रीहरु कति गुणस्तरीय छन् भनेर ल्याब टेष्ट गर्ने ठाउँ हामीसंग छैनन्,’ उनले भने, ‘अर्को कुरा बर्खाको भेल सडकमै बग्ने भएपछि त्यसले झन ठूलो समस्या खडा गरेको छ ।’ हल्लनचोकमा लामो समय नालीको फोहोर थुप्रिएको कारण सडक भत्किएको उनको भनाई थियो । ‘नाली मर्मत गर्ने क्रममा लामो समयसम्म फोहोर थुप्रिकोले पनि त्यहाँ समस्या भएको हो,’ गिरीले भने ।

‘अर्को बर्खामा सडकमा भेल देख्न पाउनुहुन्न ।’ -उपप्रमुख खड्का
बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगरपालिकाले नालीको तत्काल व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाएको बताएका छन् । ‘माथिबाट आउने भेललाई पन्छाउन लोकमार्गले नाली काट्दैछ, यहाँ बजारको समस्या समाधानका लागि हामीले यस वर्ष तीन करोड रुपैयाँ विनीयोजन गरेका छौं,’ उपप्रमुख खड्काले भने, ‘यो वर्षको बर्खा सकिँदैछ, अर्को बर्खामा यस्तो समस्या नहुनेगरी काम गर्छौं, अर्को बर्खामा सडकमा भेल देख्न पाउनुहुन्न ।’

गत बर्ष १२ सय मिटर सडक मर्मत
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत जगेडा कोषको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत लगानीमा नगरपालिका भित्रको १२ सय ३२ मिटर सडक अघिल्लो वर्ष मर्मत भएका थिए । बानपा–२ दुरसञ्चारचोक देखी बापना–३ बुद्धचोकसम्म २० सय ६० मिटर र बानपा–२ मरेपिपल देखि धौलागिरी चोक—लाली गुराँसचोक हुँदै देउरालीचोकसम्म ५ सय १२ मिटर सडक मर्मत भएको थियो । दुरसञ्चारचोक—बुद्धचोक—मरेपिपल—देउरालीचोक क्षेत्रको सडक अघिल्लो वर्षको जेठ असारमा मर्मत भए पनि अहिले ठाउँ ठाउँमा भत्किएका छन् ।
प्रस्तुति संगम घर्तीमगर, बागलुङ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung