८ कार्तिक २०८३, शनिबार

 

डाक्टर भट्टराई गोरखा–२ बाट चुनाव लड्ने

- नयाँशक्ति कम्तीमा राष्ट्रिय पार्टी बन्ने आँकलन

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा आफ्नो जन्मथलो गोरखाबाटै चुनाव लड्ने बताएका छन्। उनले आफ्नो गाउँ गोरखा क्षेत्र नम्बर २ मा परेको र त्यहीँबाट चुनाव लड्ने बताएका हुन्।

यद्यपी उनले यो पार्टीको निर्णय नभइ आफ्नो चाहना मात्र भएको  बताए। ‘पार्टीले निर्णय गर्न त बाँकी नै छ’ सोमबार नयाँ शक्ति पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले भने, ‘म गोरखाबाटै चुनाव लड्छु, मेरो जन्मथलो अहिले गोरखा क्षेत्र नम्बर २ मा परेको छ सम्भवत म त्यहीँबाट चुनाव लड्छु।’

भट्टराई २०६४ सालमा गोरखा क्षेत्र नम्बर २ बाट र २०७० सालमा गोरखा क्षेत्र नम्बर १ बाट संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए। उनले गोरखाबाट चुनाव नलडेमा गोरखाबासीलाई धोका दिएको ठहर्ने पनि बताए। ‘दुई पटक गोरखालीले मलाइ माया पनि गर्नुभयो’ उनले भने, ‘अहिले छोड्दा धोका दियो भन्ने सोच्नुहोला।’

अबको चुनावबाट नयाँ शक्ति पार्टी राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्न नसके पनि राष्ट्रिय पार्टी बन्ने उनले बताए। ‘मैले भनिसकेको छु, अबको चुनाव हाम्रो लागि क्वार्टरफाइनल वा सेमिफाइनल मात्रै हो’ उनले भने ‘यो पटक हामी कम्तीमा राष्ट्रिय पार्टी बन्छौं।’

भर्खरै संविधान जारी भएको समय भएकाले अबको चुनावमा पुरानै पार्टीहरु हावी हुने भए पनि पार्टीले जनताको चाहना बमोजिम काम गर्न नसकेपछि जनतामा निराशा पैदा हुने भट्टराईले बताए। ‘त्यसपछि अर्को चुनावको अगाडिसम्म एउटा राजनीतिक आन्दोलन फेरि उठ्नेछ, त्यसको नेतृत्व हामीले गर्नेछौं’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung