११ कार्तिक २०८३, मंगलवार

 

आरनको आम्दानी

आरनमा फलाम गाल्नु सजिलो छैन । आरन उद्योग एक पेशा हो । विश्वकर्मा समुदायले युगौँदेखि अँगाल्दै आएको यो सीपमूलक इलम आज संकटमा पर्दैछ । गाउँघरमा पुख्र्यौली पेशाका रूपमा जीविकोपार्जनका लागि यो पेशा यदाकदा अझै पनि अस्तित्वमा छ । तर, सहरी क्षेत्रमा त आरनको नामोनिशानसम्म पाइन छोड्यो ।

युवाशक्तिको पलायन, परम्परागत सीपप्रतिको वितृष्णा एवं बढ्दो महंगीका कारण आरन पेशा संकटमा छ । यसबाट हुने आम्दानीले दैनिक घरखर्ची समस्या समेत धान्न मुस्किल हुन थालेपछि कतिपय आरनहरू बन्द हुँदै गएका छन् ।

यो पेशा सामाजिक मर्यादाका दृष्टिले पनि हेलित छ । आरन चलाउने दलित भनी उपेक्षा र हेला गरिने सामाजिक कुदृष्टिका कारण पनि यो पेशा युवा पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।

तर, पर्वतको कुश्माका रेशबहादुर विक (५१) भने आरनबाट अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् ।

उनले आफ्ना चार भाइ छोरालाई पनि यही पेशामा समाहित गरेका छन् । दुई दर्जनको सामुहिक परिवारको पालनपोषण र दायित्व उनले यही पेशाबाट निर्वाह गरेका छन् ।

आरनलाई उद्योगका रुपमा विकास गरेका विकले आफ्नो आरनमा अहिले एक दर्जन जतिलाई प्रत्यक्ष रोजगारी समेत दिएका छन् । आरन व्यवसाायलाई संस्थागत गर्न यिनले नै पहिलो पटक आफ्नो समूहलाई जिल्लामा संगठित गरे । उनी नै विश्वकर्मा आरन व्यवसाय समूहका पहिलो अध्यक्ष हुन् । हाल पर्वत सदरमुकाम कुश्मामा दर्जनबढी आरन व्यवसाय संचालित छन्

रेशबहादुरको आरनमा सबै प्रकारका कृषि औजार बन्छन् । फलामका विभिन्न औजार एवं भाँडाकुडा– हसिया, कुटो, कोदालो, खुकुरी, भदला, ताप्के, बन्चरो, दाउ, खुँडा आदि यिनको आरनमा उत्पादन हुन्छन् ।

यसका अतिरिक्त तामाका गाग्री, ताउला र पञ्चेबाजाका सम्पूर्ण सामग्री समेत यिनको आरनमा बन्ने गर्छन् । पितापुर्खाले गरेको परिश्रम र मेहनतको सिको गर्दै उनी हाल यो अवस्थासम्म आएको उनी बताउँछन् । आरनले नै उनलाई कुश्माभरि चिनाएको छ ।

बढी मेहनत तर कम आम्दानी हुने यो पेशा कतिपयले विस्थापित गरिसके तर उनले निरन्तरता दिइरहेका छन् ।

हाल उनको उद्योगमा दैनिक २० देखि २५ हजार सम्मको कारोबार हुने गर्छ । आरनबाटै राम्रो आम्दानी गर्न सफल थोरै भाग्यमानीमध्येमा पर्छन् उनी ।

सुरुमा आरन चलाउन निकै गाह्रो थियो, आम्दानी अत्यन्त कम हुन्थ्यो । तर उनी आत्तिएनन् र पुख्र्यौली पेशालाई बचाइराख्ने ध्येयले पनि आरनलाई उद्योगको रूपमा विकास गरे । उनी सगौरव आफ्नो सफलताको कथा सुनाउँछन्– “सुरुमा सदरमुकाम झर्दा अरुकोमा कामदारको रुपमा बसेको थिएँ । अहिले आफै उद्योगको मालिक भएको छु । यसमा सबैभन्दा ठूलो गर्व छ मलाई ।”

आरन चलाएरै रेशबहादुरले २० वर्षको अन्तरालमा सदरमुकाम आसपास पाँचवटा घरघडेरी जोडेका छन् । चार भाइ छोरा र दुई बहिनी छोरीको बिहेबारी उनले यही पेशाबाट गर्न सफल भए । हाल चार छोराको व्यवसायगत साथले उनलाई उर्जा मिलेको छ ।

यो पेशा यसैगरी पुस्तान्तरण हँदै जानुपर्नेमा उनको जोड छ । उनी आफ्नो आरनमा नयाँ भाँडा बनाउँनेदेखि पुराना भाँडाकुँडाको मर्मत गर्छन् । यो सबै आफ्नो बाबुबाजेले सिकाएको सिकाइ र अभ्यासले भएको उनको धारणा छ । उनका चार भाइ छोराहरु पनि आफ्ना बाबुले सुरु गरेको यो पेशालाई साथ दिन पाउँदा गर्व महसुुस हुने बताउँछन् ।

रेशबहादुरका जेठा छोरा प्रकाश भन्दै थिए, “पुर्खाले सुरु गरेको सीपमूलक पेशालाई निरन्तरता दिन र स्वदेशमा पसिना बगाउँन पाउँदा गर्व लाग्छ ।” आफुहरु बाबु–बाजेले थालेको यो पेशालाई अझैँ स्तरवृद्घि र विस्तार गर्दै निरन्तरता दिनेमा छोराहरु पनि कटिबद्ध छन् ।
धौलागिरिका बेनी, बाग्लुङ, मुस्ताङदेखि पोखरासम्म उनीहरुका उत्पादनको माग बढ्दो छ । तर मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनन् । “अब त आफ्नै जीवन आफैँले निकालेका विविध साजभाँडाका आकारजस्तो लाग्न थालेको छ,” पाँच वर्षको उमेरदेखि यो पेशामा जोडिएका रेशबहादुरले जाँदाजाँदै भने, “जीवन मेरा लागि आरन भयो !”

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung