८ कार्तिक २०८३, शनिबार

 

परराष्ट्र मन्त्री महराको चीन भ्रमण : चीन भन्छ-नेपाल जोड्ने रेलमार्गको भौगोलिक अध्ययन छिट्टै

- ऊर्जा सहयोग र नेपालको पर्यटन प्रवद्र्धनमा समझदारी

बेल्ट एण्ड रोड इनिसियटिभ सम्वन्धी समझदारीपत्र अन्तर्गत भौतिक पूर्वाधारको विकास, ऊर्जा सीमावारपारको सञ्जाल निर्माणजस्ता क्षेत्रहरुमा नेपालले प्रस्तावमा गरेको आयोजना परियोजनाहरुमा चीनले सहयोग गर्ने बचन दिएको छ । साथै सीमावारपार रेललाइन निर्माण सम्वन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन नेपाल र चीन सहमत पनि भएका छन् ।

झण्डै एक हप्ता लामो चीन भ्रमण सकेर सोमबार राति स्वदेश फर्किएका उपप्रधान एवम् परराष्ट्र मन्त्री कृष्णबहादुर महराले सो जानकारी दिएका हुन् । महराले चीन बसाइँको क्रममा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ली खछियाङसँगको भेटमा महराले नेपालको एक चीन नीति तथा नेपाली भूमिवाट चीनविरोधी गतिविधि हुने नदिने प्रतिवद्धता दोहोर्याउँदै बेल्ट एण्ड रोड इनिसियटिभले उपलब्ध गराएको अवसरवाट लाभ लिन दुबै देशले मिलेर काम गर्नुपर्ने बताएका थिए । यसबाट भौतिक पूर्वाधार निर्माण, ब्यापार, पर्यटन, लगानी प्रवद्र्धन तथा जनस्तरको सम्वन्ध विस्तारका क्षेत्रमा पारस्परिक सहयोग बढाउन सकिने महराको भनाइ थियो ।

त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रुपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य शीघ्र अघि बढाउन उनले चिनियाँ पक्षलाई अनुरोध गरेका थिए । रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताहरु एकमत रहेको जानकारी पनि महराले गराएका थिए ।
साथै महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको प्रतिक्षामा रहेको पनि बताएको स्वदेश फर्किएपछि जारी प्रेस नोटमा उल्लेख छ ।

उच्चस्तरीय भ्रमणको अपेक्षा

प्रतिउत्तरमा चिनियाँ प्रधानमन्त्री लीले नेपालको एक चीन नीतिको प्रशंसा गर्दै उपयुक्त समयमा दुवै पक्षबाट पर्याप्त तयारी पश्चात उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न सकिने बताएका थिए ।

रेल मार्ग निर्माणको लागि पर्याप्त वैज्ञानिक अध्ययन अनुसन्धान गरी काम अघि बढाउने आश्वास समेत चिनियाँ प्रधानमन्त्री लीले दिएको महराले जानकारी दिए ।

स्वदेश फर्किएलगत्तै महराले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘हिमालवारपार हुने गरी रेलमार्ग निर्माणको सम्वन्धमा सो मार्ग संसारको सबैभन्दा कठीन भूबनोट भएर जाने तथा छोटो दूरीमा ठूलो उचाईको अन्तर पर्ने भएकाले पर्याप्त बैज्ञानिक अध्ययन अनुसन्धान गरी कामलाई शीघ्र अगाडि बढाइने बताउनु भयो ।’

चिनियाँ रेल मार्गलाई केरुङ हुँदै काठमाडौं जोड्ने र काठमाडौं– पोखरा तथा काठमाडौं–लुम्बिनी रेल पुर्याउने नेपाल सरकारको अवधारणा छ । सो अवधारणामा चिनियाँ सहयोगको अपेक्षा गरिएको छ । चीनले पनि रेलमार्ग निर्माणमा चासो दिँदै आएको छ ।

साथै चिनियाँ प्रधानमन्त्री लीले भौगर्भिक अध्ययन पश्चात सुरक्षालाई समेत विचार गरी अरनिको सञ्चालनमा ल्याउने बताएका थिए । गोरखा भूकम्पपछि अरनिको राजमार्ग अवरुद्ध हुँदा नेपाल र चीनको प्रमुख व्यापारीक नाका तातोपानी ठप्प भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री महराले चीनका स्टेट काउन्सेलर याङ जेइछी, समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री सङ थाओ लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

वाङ यीसँगको भेटवार्तापछि नेपाल र चीन सरकारबीच ऊर्जा सहयोग सम्वन्धी समझदारीपत्रमा प्रारम्भिक हस्ताक्षर भएको छ । यसबाट ऊर्जा सम्भाब्यता अध्ययन, ऊर्जा उत्पादन परियोजनाको विकास तथा निर्माण एवं ऊर्जा प्रशारण लाइन निर्माणमा दुई देशबीच सहयोग विस्तार हुने विश्वास गरिएको छ ।

साथै चीनमा नेपालकोे पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पत्रमा पनि हस्ताक्षर भएको महरा स्वदेश फर्किएपछि जारी प्रेस नोटमा उल्लेख छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung