२ जेष्ठ २०८२, शुक्रबार

 

‘बजेटमा छुटेका विषयगत कार्यक्रमलाई अरु योजनाको रकम कटौती गरि समेट्नुस’: प्रशासक अर्याल

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बागलुङका कार्यालय प्रमुख, जनप्रतिनिधि र सुरक्षा निकायका अधिकारीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

असार २५ गते पश्चिमाञ्चल क्षेत्रीय प्रसाशन कार्यालय पोखरा आएका उनी आफु मातहतका १६ वटै जिल्ला पुगेर छलफल गर्ने कार्यक्रम अनुसार सोमबार बागलुङ आएका हुन् । यसअघि अर्थमन्त्रालयको सहसचिव रहेका उनी सचिवमा बढुवाभएपछि पश्चिमाञ्चलको क्षेत्रीय प्रशासक भएर पोखरा आएका हुन् ।
राजनीतिक दलसँग भएको भेटघाटमा मंसिरमा हुने निर्वाचन तयारी, सुरक्षा अवस्था, विकास निर्माणको काम लगायत बारे छफल भएको थियो । राजनीतिक दलका प्रतिनिधिले स्थानीय तहमा कर्मचारीको अभावमा नियमित काम समेत प्रभावित भएकाले कर्मचारी समायोजनको काम तत्काल गर्नुपर्ने माग गरेका थिए ।

जिल्ला समन्वय समितिको कार्यालयमा स्थानीय तहका प्रमुख–उपप्रमुख, कार्यकारी अधिकृत, र विषयगत कार्यालय प्रमुखसँग संयुक्त अन्तरक्रिया भयो ।

कार्यक्रममा क्षेत्रीय प्रशासकले सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन आ–आफ्नो ठाउँबाट थप सक्रियता लिन कार्यालय प्रमुखलाई निर्देसन दिए । उनले चाडपर्व अघि नै मुख्य तथा ग्रामिण सडक सुचारु गर्न सम्वन्धित स्थानीय तह, जिल्ला समन्वय समिति तथा जिल्ला प्रसाशनको ध्यानाकर्षण गराए । ‘दशैँ अघि नै सवै सडक सुचारु गर्नुपर्छ, यसका लागि तत्काल काम सुरु गर्नुहोस्,’ उनलेभ भने ।

स्थानीय तहका प्रमुखले कर्मचारीको अभावमा काम गर्न अप्ठ्यारो भएको भन्दै माथिल्लो निकायबाटै समस्या सामाधानका लागि पहल गर्न आग्रह गरे । उनीहरुले नीति र कर्मचारी अभावमा स्थानीय तहको कामलाई अपेक्षा अनुसार गर्न नसकेको गुनसो गरे ।

स्थानीय तहको बजेटमा विषयगत कार्यालयबाट सञ्चालन हुने नियमित र अनिवार्य कार्यक्रमलाई समेत रकम नहुँदा यो क्षेत्र बजेट विहीन भएको विषयगत कार्यालय प्रमुखले गुनासो गरेका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । बजेट नआउँदा नियमित कार्यालय सञ्चालनमा समेत समस्या भएको उनीहरुको भनाई थियो ।

प्रशासक अर्यालले समायोजनको क्रममा आफु परेको ठाउँमा तत्काल पुगेर काम गर्न कर्मचारीलाई र पठाउने व्यवस्था गर्न तथा खटाउन बाँकी स्थानमा तत्काल कर्मचारी पठाउन प्रमुख जिल्ला अधिकारी मातहतको जिल्ला स्तरीय कर्मचारी समायोजन समितिलाई निर्देशन दिए । उनले समग्र कर्मचारी समायोजनको काम ऐन बनेपछि अघि बढ्ने बताए ।

उनले बजेट र कार्यक्रममा नससमेटिएका विषयगत कार्यक्रमलाई नयाँ विकल्पबाट रकम व्यवस्था गर्न सुझाव दिए । ‘यसका लागि अवण्डा (संचित) बजेट छ भने त्यसबाट मिलाउनुस्,’ उनले भने, ‘त्यस्तो बजेट छैन भने अहिले छुट्टिएका कार्यक्रमबाट समानुपातिक रुपमा बजेट कटौति गरेर छुटेका क्षेत्रलाई समेट्न सकिन्छ ।’ गाउँ तथा नगरसभाको विशेष अधिवेशनबाट बजेट संसोधन गरेर स्थानान्तरण गर्न सकिने उनको धारणा थियो । प्रशासक अर्यालले बजेट नपुग अनिवार्य कार्यक्रमलाई बजेटको व्यवस्थापन गर्ने कार्य स्थानीय तहमा रहेको बताए ।

उनले सुरक्षा अवस्था बारे प्रमुख जिल्ला अधिकारी, अञ्चल तथा जिल्ला प्रहरी प्रमुखसहितका सुरक्षा अधिकारीसँग पनि छुट्टै छलफल गरे ।छलफलमा पश्चिमाञ्चाल प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कमलसिंह बमपनि सहभागी थिए ।

त्यहाँ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन, चाडपर्व लक्षित सुरक्षा र दुर्घटना न्यूनिकारण बारे छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी धु्रब गरीले जानकारी दिए । क्षेत्रीय प्रहरी प्रुमखले आफु मातहतका निकायलाई उच्च सतर्कतासाथ सुरक्षा व्यवस्थानमा लाग्न निर्देशन दिएका थिए ।

जिल्ला स्तरीय छलफलपछि नयाँविश्व डटकमसँग कुराकानी गर्दै क्षेत्रीय प्रशासक अर्यालले आफुले यसअघि हेरेका जिल्लाको तुलनमा बागलुङका सवै पक्ष सन्तोषजनक रहेको प्रतिक्रिया दिए । ‘अरु जिल्ला हेरेर यहाँ आउँदा बागलुङको अवस्था राम्रै देखियो,’ उनले भने, ‘राजनीतिक दलबीचको सहकार्य राम्रो छ, सुरक्षामा समेत खास चुनौती रहेको पाईएन ।’

उनले बागलुङ भन्दा पहिले कास्कीसहित म्याग्दी, स्याङ्जा र तनहुँमा जिल्ला स्तरीय छलफल गरेका थिए । बागलुङको अवस्था बारे बुझेर उनी मंगलबार पर्वत पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung