
बागलुङमा सुत्केरी महिलाको मृत्यु हुने क्रम बढेको छ । गलकोटको काँडेवास र पश्चिमको भिमगिठेमा सुत्केरीको मृत्यु भएको घटना सेलाउन नपाउँदै मंगलबार फेरी बुर्तिबाङमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।
ढोरपाटन नगरपालिका–३ घोसाखानीकी २१ बर्षिय सुत्केरी महिला बिलासा बिश्वकर्माको ज्यान हो । पाँचदिन अघि विरामी परेकी विश्वकर्माको मंगलबार दिउसो बुर्तिबाङमा मृत्युभएको हो । मेडिकलबाट औषधि लगेर आएकी उनको अवस्था जटील भएपछि बुर्तिबाङ स्वास्थ्य केन्द्र लगिएको थियो । केन्द्रमा पुग्दा उनको मृत्यु भईसकेको केन्द्र प्रमुख डाक्टर सुनिल जैसवालले जानकारी दिए ।
१ महिना पहिले घरमै सुत्केरी भएकी उनलाई ५ दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने गरेपछि बुर्तिबाङको मेडिकलबाट औषधि लिएर सेवन गरेकी थिईन् ।
निको नभएपछि उनले सोमबार मिडिकलमा चेक जाँच गर्दा निमोनियाको सक्रमण देखिएको थियो । उनी सो दिन घर फर्किन् । मंगलबार मेडिकलले अवस्था थप जटिल भएको बताएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लागिएको थियो ।
सुत्केरी भएकै वेला उनको खुट्टा सुन्निएको परिवारजनले जनाएका छन् । स्टेचरमा राखेर स्वास्थ्य केन्द्र लैजाँदै गर्दा उनले पानी मागेपछि सुतेकै अवस्थामा पानी खुवाईएको बताईएको छ ।
पानी पिउने क्रममा स्वास नलीमा सास रोकिएर अचानक मृत्यु भएको पनि हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सुत्केरी हुने बेला खुट्टा सुन्निनु प्रेसरका कारण हुनसक्ने उनीहरुको भनाई छ । मुख्य कुरा स्वास्थ्य संस्थामा सुत्केरी नहुँदा उनको स्वास्थ्य बारे तत्काल थाहा पाउने र उपचार गर्ने आवस्था नहुँदा यस्ता घटना हुने गरेको स्वास्थ्यकर्मीले बताए ।
प्रसुती जस्तो संवेदनशिल घटनामा परिवार र समाज समेत सचेत नहुँदा यस्ता दुखद घटना हुने गरेको डाक्टर जैसवालले बताए ।