७ कार्तिक २०८३, शुक्रबार

 

थवाङमा प्रचण्डको गर्जन, ‘अब बिद्रोही होइन वैधानिक जनसत्ता चलाऔं’, वर्मन बुढाले गरे स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बनेका स्थानीय तह बिगतमा आफूहरुले अभ्यास गरेको समानान्तर जनसत्ताकै वैधानिक रुप भएको बताएका छन् ।

रोल्पाको थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्दै उनले भने– ‘अहिले बनेका स्थानीय तहहरु बिगतमा हामीले जनयुद्धको क्रममा सञ्चालन गरेकै जनसत्ताका वैधानिक रुप हुन् ।

त्यतिबेला बजेट आउँदैन्थ्यो, अहिलेका जनसत्तामा केन्द्र र प्रदेशबाट बजेट आउँछ । त्यसैले अब पनि समानान्तर जनसत्ताकै अभ्यास गर्नुको कुनै औचित्य छैन ।’

21761380_1959874384232940_2882045202734822736_nप्रचण्डको थवाङ भ्रमण अवरोध पार्ने प्रयासस्वरुप नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आफूहरुको जनसत्ताको अनुमतिविना प्रचण्डलाई बोलाएको आरोप लगाउँदै गाउँपालिका अध्यक्षलाई अपहरण गरेको भोेलिपल्ट पुगेका प्रचण्डले भने, ‘यही हो जनसत्ता, जनताले चुन्ने, जनताकै छोराछोरीले सत्ता लगाउने योभन्दा अर्को जनसत्ता हुनसक्दैन ।’

नीतिगतरुपमा जनयुद्धकै एजेण्डाको रुपमा स्थानीय तह आएको र यही नै जनसत्ताको अभ्यास भएको उल्लेख गर्दै उनले भने– ‘हामीले हिजो जनयुद्धकालमा सांकेतिकरुपमा एक्लै जनसत्ता चलाएका छौं, अहिले कांग्रेस एमालेलगायतका दल पनि हाम्रो जनसत्तामा आएको छन्, यो ठूलो परिवर्तन हो ।’ जनसत्ता कसले चलाउने भन्ने सवालमा जसलाई जनताले विश्वास गर्छन्, उसले नै चलाउने बताए ।

21731265_1959876950899350_8942165924172718895_nकरोडौंको बजेट र सम्पूर्ण निर्णय गर्ने अधिकार जनताकै घरआँगनमा आउनु जनयुद्धकै उपलब्धि भएको उल्लेख गर्दै उहाँले यही नै जनसत्ताको अभ्यास भएको बताए ।
स्थानीय तहमा ब्यवस्थापिका र कार्यपालिका मात्र होइन हिजो आफूहरुले गरेकै जनअदालतको अभ्यासको निरन्तरता स्वरुप स्थानीय तहमा न्यायिक समिति बनाएर न्यायपालिकाको काम समेत शुरु गरिएको बताए ।
भने, ‘हिजो हामीले जनयुद्धको बेलामा सब भन्दा पहिले जनसरकार भनेर थबाङबाट शुरुवात गरेका हौं तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता भएको थिएन । तर अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’

21731371_1959873517566360_6431699482698903978_nथबाङका जनता कसैको डर धम्की र धाकका पछाडी नलाग्ने बताउँदै उनले थबाङगाउँपालिकाको बिकासका लागि आफु अहोरात्र खटने बताए । थबाङगाउँपालिकालाई नमुना गाउँपालिका बनाएर छाडने प्रचण्डको उद्घोष थियो ।

जनयुद्धमा ज्यान गुमाएका धेरै सहिद बेपत्ता, घाईते अपांगको आशा पुरा गर्नका लागि थबाङगाउँपालिकालाई नमुना गाउँपालिका बनाउनको लागि काम शुरु गर्न समेत उनले सबै सरोकारवाला निकायहरुलाई आग्रह गरे ।

‘थबाङलाई छुटटै गाउँपालिका बनाउने र थबाङमै केन्द्र राख्ने भनेर नेकपाका साथीहरुले नै भन्नुभयो,’ प्रचण्डले प्रश्न गरे, ‘आज आफैं भन्ने आफैं उल्टो बाटो हिँडने ? साथीहरुलाई मैले प्रश्न गर्न चाहन्छु ।’ अध्यक्ष दाहालले थपे, ‘रोल्पाको थबाङ र रुकुमका केही गाउँपालिका मिलाएर छुटटै जिल्ला बनाउनका लागि बर्मन बुढा लगायत रुकुमका केही साथीहरुले आग्रह गर्नुभएको छ ।’

थवाङमा प्रचण्डलाई बर्मन बुढाले गरे स्वागत
लामो समयपछि रोल्पाको थवाङ पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थवाङका संस्थापक नेता एवं पूर्वसांसद बर्मन बुढाले स्वागत गरेका छन् । लामो समयपछि थवाङ गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न प्रचण्ड थवाङ पुग्दा बुढासहित ठूलो संख्यामा उपस्थिति थवाङवासीले स्वागत गरेका हुन् ।

२०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित भएका बुढा थवाङका संस्थापक नेता मानिन्छन् । पछिल्लो समयम थवाङलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने र यसको केन्द्र पनि थवाङमै बनाउनुपर्ने आन्दोलनको अगुवाइ बुढाले गरेका थिए ।

प्रचण्ड नेतृत्वको सरकारले गाउँपालिकाको नाम र केन्द्र थवाङवाङमै राखेपछि बुढा प्रचण्डसँग सकारात्मक देखिँदै आएका छन् । पार्टी विभाजनपछि बुढासहित थवाङको ठूलो पंक्ति संस्थापन र प्रचण्डप्रति सशंकित देखिदै आएको थियो । यद्यपि अहिले पनि थवाङका नेताहरुको ठूलो पंक्ति विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा छन् ।

क्रान्तिकारी र बिद्रोही किल्लाको रुपमा चिनिने थवाङ र पूर्व बिद्रोही कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उतार चढावको सम्बन्ध रहँदै आएको छ । जनयुद्धकालमा एक मतका साथ प्रचण्डको नेतृत्व स्वीकार गरेको थवाङ नै यस्तो ठाउँ हो, जहाँ प्रचण्डले पहिलो सार्वजनिक सम्वोधन गरेका थिए ।

जनयुद्धको बेला र २०६४ सालको संविधानसभा चुनावसम्म निकै प्रगाढ रहेको थवाङ र प्रचण्डको सम्बन्ध पछिल्लो समयमा बिग्रेको थियो । माओवादी बिभाजन भएपछि पहिले बैद्य र त्यसपछि विप्लव नेतृत्वको पार्टीलाई थवाङका धेरै नेता कार्यकर्ताले समर्थन गरेका कारण पनि प्रचण्डसँग सम्बन्ध बिग्रेको थियो ।

तर, पछिल्लो समयमा थवाङ गाउँपालिकाका नामाकरण, थवाङ केन्द्र बनाउनेदेखि स्थानीय तह चुनावमा आइपुग्दासम्म थवाङ र प्रचण्डबीच सम्बन्ध सुध्रन थालेको देखिन्छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सशक्त बहिष्कार गरे पनि सो पार्टीका १७ जना कार्यकर्ताले स्थानीय तह चुनावमा थवाङमा भाग लिएका थिए ।

यो चुनावमा माओवादी केन्द्रबाट अध्यक्ष उपाध्यक्षसहित बहुमत प्रतिनिधि चुनिएपछि फेरी थवाङ र प्रचण्डबीच सम्बन्ध थप बलियो भएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।

सिस्ने अनलाईनबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung