थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमुक्त भएका छन्। तीन दिनअघि अपहरणमा लिएको नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले गएराति ११ बजे रोल्पा नगरपालिका वडा नं १० धबाङको भनभनेबाट घर्तीलाई अपहरणमुक्त गरेको हो।
अपहरणमुक्त भएसँगै घर्तीलाई जिल्ला प्रहरी कार्यालय रोल्पा हुँदै स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल रेउघा लगिएको थियो। घर्तीको अवस्थाबारे विस्तृत जानकारी भने आइतबार दिउँसो दिने प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
घर्तीलाई बिहीबार राति थबाङ–२ बाट नेकपाका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए। आफूहरुसँग सल्लाह नै नगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गाउँसभामा निम्त्याएको भन्दै घर्तीलाई नेकपाले नियन्त्रणमा लिएको हो। गाउँसभा सम्पन्न भएसँगै राति उनलाई विनाशर्त रिहा गरेको नेकपाले बताएको छ।
थाहाखबरबाट



















































































































































































































