
यसबर्षको डक्टर तरुण पौडेल चिकित्सा पुरस्कार त्रिभुवन विद्याविद्यालयका मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर सरोजप्रसाद वझालाई प्रदान गरिएको छ ।
बागलुङमा जन्मिएर स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई कदर गर्दै डाक्टर तरुण पौडेल चिकित्सा कोषले उनलाई पुरस्कृत गरेको हो । डाक्टर वझा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मानसिक स्वास्थ्य विभाग प्रमुख हुन् ।
बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका उनी मानसिक स्वास्थ्य विषयमा नेपालमै पढेर विशेषज्ञता हाँसिल गर्ने पहिलो व्याजका विशेषज्ञ डाक्टर हुन् । वझाले २०३५ सालमा विद्यामन्दिर माविबाट एसएलसी पास गरेका थिए । कोषले आयोजना गरेको कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख जनक पौडेलले नगद १५ हजार रुपैयाँसहित सम्मान पत्र डाक्टर वझालाई प्रदान गरे ।
त्यस्तै डाक्टर तरुण पौडेल चिकित्सा सम्मान ओमकुमारी शान्ति कोष म्याग्दीलाई प्रदान गरिएको छ । यो सम्मान संस्थाका अध्यक्ष राजेश शाक्यलाई प्रदान गरियो । सम्मान स्वरुपम ओमकुमारी शान्ति कोषलाई पनि नगद १५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरियो ।
कोषले यस बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै धौलागिरीका बागलुङ, पर्वत, मुस्ताङ र म्याग्दी जिल्लामा कार्यरत एक एक जना स्वास्थ्यकर्मीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरेको छ ।
मुस्ताङबाट लेते प्राथमिक स्वास्थ्य चौकीका सिताराम कार्की, पर्वतबाट कटुवाचौपारी स्वास्थ्य चौकीका रुद्र शर्मा सापकोटा, म्याग्दीबाट सिंगा स्वास्थ्य चौकीका हरिलाल अधिकारी र बागलुङबाट पाण्डवखानी स्वास्थ्य चौकीका हिमाकुमारी श्रीषलाई नगद ७ हजार ५ सय रुपैँया सहित पुरस्कृत गरिएको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख जनकराज पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले ग्रामिण भेगमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उनीहरुको कामको प्रसंसा गरे । उनले स्वास्थ्यकर्मीको हक अधिकारका लागि आफु प्रयत्नशिल रहने बताए ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारी, सम्मानित व्यक्तित्व डाक्टर सरोजप्रसाद वझा, राजेश शाक्य, सिताराम कार्की, रुद्र शर्मा सापकोटाले मन्तव्य राखे ।
प्राध्यापक डा. सरोज वझाको परिचय श्याम श्रेष्ठ र ओमकुमारी शान्ति कोषको हरिकृष्ण शर्माले परिचय दिएका थिए। कार्यक्रम कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य शकुन्तला शर्माको स्वागत मन्तव्य र टेकनारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।