स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त हुन थालेको छ। मंगलबार बिहानसम्ममा २ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ। दुवै वडामा माओवादी केन्द्रले जित हात पारेको छ।
सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बागबहादुर कुमार दनुवारले २०२ मत प्राप्त गरेको थाहा संवाददाता मणिलाल विश्वकर्माले जनाएका छन्।
यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादीले जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भएको थाहा संवाददाता गोविन्द महतोले जनाएका छन्। अन्य स्थानीय तहको पनि प्रारम्भिक परिणामअनुसार कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलबीच प्रतिस्पर्धा देखिएको छ।



















































































































































































































