पर्वतको सदरमुकाम कुश्मा बजारको उत्तर–पश्चिम कालीगण्डकी तटमा अवस्थित गुप्तेश्वर गुफा धार्मिक तथा पर्यटकीय गुफाका रूपमा प्रख्यात छ । बजारबाट गुफाको दुरि करिब ८०० मिटरको छ । पहिले भालु दुलोको रूपमा चिनारी पाएको यस गुफाले २००० को दशकमा आएर मात्र गुप्तेश्वर गुफाको नाम पायो । वि.सं १९९१ मा स्थानीय रत्नबहादुर कार्की, दलबहादुर र यामप्रसाद जोशीलगायत ५ जना युवाको सक्रियतामा यस गुफा पत्ता लागेको थियो ।
कालीगण्डकी नदीमा पौडेर फर्किने क्रममा ति युवाहरुले ठूलो झाडीले घेरिएको एउटा ओडारका रूपमा यस गुफालाई देखेका थिए । पछि सबै स्थानीय समुदाय, बुद्धीजिवी, पण्डितहरू गुफा–प्रचार प्रसारमा लागे । सत्ययुगको कुनै समयमा देवताहरु गुप्त रूपले बस्ने गरको र पार्वतीले महादेव स्वामी पाउनका लागि यस गुफामा आइ घोर तपस्या गरेको भन्ने धार्मिक विश्वासका साथ यस गुफाको नाम ‘गुप्तेश्वर’ नामाकरण गरियो । गुफाभित्र ढुङ्गामा बनेका लौकिक, अलौकिक आकृतिले जोकोहीको मन लोभ्याउँछ ।
गुफाको विशेषता भनेको यहाँभित्र प्राकृतिक रूपमा निर्मित शिव, पार्वती, विष्णु, लक्ष्मी, सरस्वती, शेषनाग, सुमेरु पर्वत, भगवती बहान, कलश, कामधेनु, गरुड देवता, कछुवा अवतार, गोर्वधन पर्वत, कृष्णलिला आदि देवदेवीको आकृति नै हुन् । भगवानका यी अनेकौं आकृति देख्दा जोकोही नास्तिक पनि आफ्नो नास्तिकपनलाई बिर्सन्छन् । गुफालाई सबैको गन्तव्य, पहुँचमा पु¥याउन र यसकोे विकास, संरक्षण, प्रवद्र्धन गर्न ०४३ सालमा ‘गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्था’को स्थापना गरि विधिवत काम हँुदै आएको छ । गुफा हाल सबैका लागि पूजाआजा र दर्शनको मार्ग बनेको छ ।
०१६ सालमा तत्कालीन राजा महेन्द्रको भ्रमणले पनि यस गुफाको प्रचार प्रसारमा विशेष सहयोग पुगेको बताउँछन् गुफा समितिका पूर्व अध्यक्ष केशवबहादुर श्रेष्ठ । हिजो सबैको बेवास्ताका कारण ओझेलमा परेको गुफा अहिले दैनिक पूजाआजा र पर्यटकको आगमनले आर्कषणको केन्द्र बनेको छ । गुफामा पूजाआजा सुरु भएपछि यहाँभित्रका विभिन्न महत्वपूर्ण शिला र मूर्तिको संरक्षण थालिएको छ । पूजाका लागि आउने श्रद्धालुको सहयोगले गुफा व्यवस्थापनमा सहयोग पुग्ने गरेको समितिका सदस्य प्रनिश गिरि बताउँछन् ।
पहिले गुफामा सुरक्षाद्वार थिएन । त्यसो हुँदा सबै खुलमखुल्ला आवतजावत गर्ने गर्थे । यसरी खुला आवतजावतले गुफाभित्रका रहस्यमय अलौकिक शिला एवम् अन्य सामान तोडफोड र चोरी हुने गरेको र यसको व्यवस्थापनका लागि अहिले गुफालाई सिमेन्टेड वाल र प्रवेशद्वारले व्यवस्थित बनाइएकोे छ । गुफाको संरक्षण–प्रवद्र्धनमा लागेको गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले अहिले भक्तजनको सुविधाका लागि आवतजावत गर्न सिमेन्टेड सिँढी र सत्तलको निर्माण गरिरहेको छ ।
आर्किटेक्ट इन्जिनियरिङमार्फत् हाल गुफाको स्वरुपमा केहि फेरबदल गरिएको छ । यसले पुरानो प्रकृतिक गुफाको स्वरूपमा भने असर पु¥याएको देखिन्छ । यसका अतिरिक्त गुफा विकासका लागि पर्यटन मन्त्रालय लगायत अन्य सरकारी, गैरसरकारी संघ–संस्थाको पहलमा गुफा परिसरभित्र राधाकृष्ण मन्दिर, भजन मण्डप, दुई तले ढलानसहितको सत्तल, डाँडामा महावीर मन्दिर जस्ता साना–ठूला मन्दिर निर्माण गरिएको छ ।
भूपि राजमार्गछेऊ दुई स्थानबाट गुफासम्म पुग्नका लागि सिँढी, रेलिङसहितको पक्की बाटो निर्माण गरिएको छ । माथि डाँडामा महावीरको मूर्तिसहित गायत्री मन्दिर, वेद वेदाङ्ग संस्कृत पाठशाला निर्माण र सञ्चालन गरिएको छ । हाल बेदाङ्ग पाठशालामा दुईजना शिक्षक छन् र चालीस जना छात्र अध्ययन गरिरहेका छन् । शिक्षक, विद्यार्थीका लागि आवश्यक खाद्यान्न, भाँडा–वर्तन गुप्तेश्वर गुफामा बसेका नाङ्गा बाबा शिव गिरिबाट प्राप्त भइरहेको शिक्षक पद्मराज रेग्मी बताउँछन् ।
अहिले गुफाको प्रवेशद्वार एउटै मात्र भएपनि प्रवेश पश्चात गुफाभित्र धेरै मार्ग फाटेका छन् । गुफा ३ तलामा फैलिएको छ । गुफाको खास लम्बाई यति नै हो भनेर किटानसाथ भन्न सकिँदैन तापनि मूलमार्गअन्र्तगतको लम्बाई करिब १२०० मिटर र ५० मिटर चौडा भएको गुफाका पूजारी खेमराज आर्चाय बताउँछन् । भन्छन् ‘तीन तलामा विभाजित गुफाका तहहरु छिचोल्न सक्ने हो भने यसको यकिन क्षेत्रफल पत्ता लगाउन सकिएला ।’
गुफाको तीन तह पार गरिसकेपछाडि एउटा काठको भ¥याङ भेटिन्छ । त्यस भ¥याङ पार गरिसकेपछि गुफाको माथिल्लो भागमा प्रवेश गर्न केही अप्ठ्यारो छ । पहिले–पहिले गुफाभित्र चम्कने ढुङ्गाहरु धेरै थिए र समय क्रममा ढुङ्गाको चमक क्रमशः हराउँदै गयो । अहिले गुफाभित्र उज्यालोका लागि बिजुलीको व्यवस्था गरिएको गुफा संरक्षण समितिका अध्यक्ष बालगोपाल श्रेष्ठ बताउँछन् । भिरालो भू–बनोटले गर्दा गुफालाई फराकिलो बनाउन नसकिएको र गुफा परिसरको जग्गालाई बिस्तार गरि नयाँ गुरुयोजना बनाएर हाल काम थालनी गरिएको श्रेष्ठ बताउँछन् ।
गुफाभित्र जुनैबेला पनि पानी बगिरहने हुनाले यहाँको बाटो चिप्लो छ । बाटो हिँड्न सजिलो बनाउन ढुङ्गा छापिएको छ । गुप्तेश्वर गुफाको हालको विकासका लागि अहिले विभिन्न स्रोतबाट रकम जुटाउने काममा समिति लागेको गुफा समिति सदस्य प्रनिश गिरि बताउँछन् । पहिलेको तुलनामा गुफाको विकास र विस्तार तीब्र गतिमा भैरहेको छ । यद्यपि गुफाको विस्तारका लागि समिति सधैं आर्थिक संकटमा पिरोलिइरहेको गुफा समितिका अध्यक्ष श्रेष्ठ बताउँछन् ।
गुफामा एकै पटकमा ५०० जनासम्म मानिस सजिलै ओहोरदोहोर गर्न सक्छन् । कुश्मा बजार र यसको छेउछाउका जग्गा धनीहरूले गुफाको विस्तारका लागि हाल गुफासँग जोडिएका आफ्ना नामका केही जग्गा गुफालाई दान गरेका छन् । सो जग्गालाई समितिले गुफाको नाममा दर्ता गरि पूर्वाधार विस्तारमा लागिपरेको छ । गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाले गुफालाई कुश्मा बजारदेखि बाग्लुङ वलेवासम्म सञ्चालित यान्त्रिक पूलको विन्दुसम्म जोड्ने अर्को मार्ग खोल्ने आह्वान गरेको छ । त्यस्तै कालीगण्डकी करिडोर राजमार्गसँग पनि यसलाई जोड्ने योजना समितिले बनाएको छ ।
गुफामा हरेक दिन भक्तजनको ठूलो भिड लाग्छ । गुफा दर्शनका लागि टाढा—टाढादेखि श्रद्धालु भक्तजन आउने गर्छन् । उनीहरुले चढाएको भेटी, स्वैच्छाले दिएको सहयोग एवम् दानले नै गुफाको दैनिक नित्य पूजा संचालन हँुदै आएको छ । मन्दिर प्रवेशका लागि प्रवेश शुल्क निर्धारण गरिएको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण र विभिन्न अनौठा, आकर्षण प्राकृतिक शिलाका आकृतिले भरिपूर्ण यस गुफामा विशेषत शिवरात्री, वालाचर्तुदशी, एकादशी, श्रावण महिना, तीज लगायतका अवसरमा हप्तौंसम्म मेला लाग्ने गर्छ ।
गुफाको दर्शन गर्नाले दुखबाट मुक्ति मिल्ने, आपत विपतमा बचाउँने सन्तान नहुनेलाई सन्तान हुने आदिजस्ता मनोकाङ्क्षा साथ भक्तजनले पुजाआजा एवम् वर्त बस्ने चलन चलि आएको छ । धार्मिक दृष्टिले गुफाको प्रर्वद्धन गर्नु एउटा अवधारणा भएता पनि गुफालाई वैज्ञानिक अध्ययनका लागि खुल्ला गर्नु उपयुक्त देखिन्छ । त्यसो हुन सके अझ यस गुफामा आउने पर्यटक एवम् वैज्ञानिक अध्ययनमा आउने भ्रमण समूहको सङ्ख्या बृद्धि हुने छ । गुफामा सयौँको सङ्ख्यामा चमेराको वासस्थान छ । यस बाहेक समग्र गुफाको पारिस्थितिकीय प्रणाली अध्ययन गर्न पनि यस गुफा उपयुक्त गन्तव्य बन्न सक्छ ।
कसरी पुग्ने ?
काठमाण्डौ, पोखराबाट सार्बजनिक बस, ट्याक्सी वा अन्य यातायातको उपयोग गरि सोझै पर्वत कुश्मा बजार सम्मको यात्रा गर्न सकिन्छ । कुश्मा बजार ओर्लेपछि गुफासम्म पुग्न अल्मलिनु पर्दैन । १० मिनेटको दुरीमा गुफा पुग्न सकिन्छ । पोखराबाट कुश्मा सम्मको यातायात दुरी ६० कि.मी रहेको छ ।
आर्कषक गुफा

बोलबम गिरी
जब म बिक्रमाब्दको ४५, ४६ सालमा गुजरात भारतबाट तीर्थ यात्राका लागि नेपाल आएँ तब नेपालका प्रमुख शक्तिपिठ, शिवालय घुम्दै मुक्तिनाथसम्म जानेक्रममा मेरो यस गुफमा पहिलो प्रवेश भएको हो । सोही समयमै मलाई यस गफाको धार्मिक शक्तिले आकर्षित ग¥यो ।
नेपालका थुप्रै शिवालय एवम् गुफाहरु घुमे पनि यहाँ जस्तो शिव भगवानको शास्वत शक्ति र वातावरण मैले अन्त कतै भेटिनँ ।
सोही समयदेखि आजसम्म म यस गुफामा वसिरहेको छु । गुफाभित्र महादेवका साथै विभिन्न देवताहरुका अनेकन अवतार छन् । यहाँ देशदेखि विदेशी मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक दर्शनका लागि आउने गर्दछन् । तर, उनीहरुका लागि बस्ने, खाने र दर्शनका लागि व्यवस्थित वातावरण बनाउन अव समितिले विशेष ध्यान पु¥याउनुपर्छ । यति भयो भने गुफाले विश्वको ध्यान खिच्न सक्नेछ ।
गुफमा सेवारत नाङ्गा बाबा













































































































































































































