३१ बैशाख २०८२, बुधबार

 

 सञ्जिवनी स्वास्थ्य सहकारीको अन्तरक्रिया: गरिबी निवारणका लागि स्वस्थ नागरिक     

बागलुङ  गरिबी निवारण दिवसको अवसर पारेर धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले गरिबी निवारणका लागि स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चरम गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धी जानकारीहरु विश्वभर आदान प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९९३ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष १७ अक्टोबरका दिन मनाउने गरिवी निवारण दिवस नेपालमा पनि विधि कार्यक्रम गरी मनाउन थालिएको छ ।

सहकारी मार्फत धौलागिरिवासीलाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने लक्ष्य लिएर अगाडि बढेको धौलागिरि सञ्जिवनी स्वास्थय सहकारी संस्थाले स्वस्थ नागरिक उत्पादनका लागि आफ्नो तर्फबाट गर्न सक्ने योगदानका बारेमा छलफल गरेको थियो ।   जनतालाई गरिबीबाट छुटाउनका लागि आयआर्जन गर्नु पर्ने र त्यसका लागि नागरिक स्वस्थ हुनु पर्ने भएकाले गरिवी निवारणका लागि स्वास्थ्य संस्थाहरुको महत्वपूर्ण भूमिका हुने सो अवसरमा बताइएको थियो ।

हरेक व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण नियमित गराउनु पर्ने, खानपान लगायत स्वस्थ रहनका लागि आवश्यक प्रक्रियाहरुका बारेमा जानकारी राखेर समाजको गरिबी हटाउनका लागि काम गर्ने वातावरण सिर्जना गर्नु पर्नेमा सहभागीहरुको जोड थियो ।   सहकारी मार्फत अस्पताल सञ्चालन भैरहेको र अझै पनि सहकारी मार्फत सेवा सञ्चालनका विषयमा सरोकारवालाहरुको ध्यान पुग्न नसकेको सहभागीहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा संस्थाका सचिव एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले दीगो स्वास्थ्य सहकारी संस्था सञ्चालनका लागि सञ्चालक, शेयर सदस्य र स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको भूमिका र संस्थाको आगामी कार्ययोजना सम्बन्धमा सहजीकरण गरेका थिए ।   उनले सहकारीको पूर्ण व्यवस्थापनमा अस्पताल सञ्चालन गरी सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्य चुनौतीपूर्ण भएको र यसलाई सबै मिलेर अवसरका रुपमा परिणत गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, लेखा समितिका संयोजक हरिप्रसाद शर्मा, निलगिरि सहकारी अस्पतालका मेडिकल निर्देशक डा.गोविन्द जोशी गौतम, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी आचार्य गौतम, म्याग्दी सञ्जिवनी अस्पतालका प्रवन्धक बद्रीप्रसाद पौडेल, निलगिरि अस्पतालका स्टाफ नर्स प्रतिक्षा तिमिल्सिना लगायतले सहकारी मार्फत स्वास्थ्य सेवा र स्वस्थ नागरिकले समाज रुपान्तरणमा खेल्न सक्ने भूमिका लगायतका विषयमा बोलेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष शिवकुमार श्रेष्ठको स्वागत सहसचिव प्रकाश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।   धौलागिरि अञ्चल कार्यक्षेत्र रहेको धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले ३ करोडको लागतमा बागलुङमा निलगिरि सहकारी अस्पताल र १ करोडको लागतमा बेनीमा म्याग्दी सञ्जिवनी अस्पताल सञ्चालन गरी विशेषज्ञ सहितको सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung