२९ बैशाख २०८२, सोमबार

 

बागलुङमा ११ वटा नयाँ स्वास्थ्य चौकीका भवन निर्माण हुने

बागलुङमा यस वर्ष पैयुँपाटा र ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल सहित ११ वटा नयाँ स्वास्थ्य चौकीका भवन निर्माण हुने भएका छन । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्यालका अनुसार जिल्लाको भिमगिठे, दगातुन्डाँडा, मालिका, पैयुँथन्थाप, भिमपोखरा, अर्गल, अमुभुमी, दर्लिङ र नारायणस्थानमा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण भएको छ । त्यसैगरी पैयुँपाटा र ग्वालीचौरमा न्युनतम १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुने बताईएको छ ।

अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी जिल्लामा ३७ वटा नयाँ स्वास्थ्य संस्थाको भवन निर्माण प्रक्रिया अगाडि बढि रहेका छन । पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको कार्यकालमा उनका प्रमुख सल्लाहकार प्रताप पौडेललको विशेष पहलमा यस वर्ष बागलुङमा मात्रै ११ वटा नयाँ भवनको निमार्णको कार्यक्रम परेको छ । मन्त्रालयले सार्वजनिक गरेको सुचि अनुसार चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका संस्थाका भवन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय अन्तर्गत निर्माण हुनेछन् ।

पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासको निम्ती पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएका थिए । मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न स्थानमा डाक्टर र नर्सको लागि आवास गृह समेत निर्माणको थालनी गरेको छ । नयाँ बन्न लागेका सबै स्वास्थ्य संस्थाका भवन एकिकृत डिजाईनको भवन निर्माण हुने बताईएको छ । यस वर्ष टाईप ‘सि’ र टाईप डि अन्र्तगतका स्वास्थ्य संस्था निर्माण हुने भएका छन ।

हाल भवन निर्माणका लागि अधिकाशं स्वास्थ्य संस्थामा आवश्यक जग्गा व्यवस्थापन भै सकेको र केहीमा व्यवस्थापन हुन बाँकी रहेता पनि त्यसलाई छिटैनै व्यस्थापन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।  त्यसै गरी गत वर्ष पनि जिल्लामा २६ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि कार्यक्रम परेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए । अर्यालका अनुसार हटिया, सिगाना, बोङगादोभान र लेखानी गरी ४ वटा भवन निर्माणको अन्तिम चरणमा रहेका छन । त्यस्तै अर्जेवा, हिल, पाण्डवखानी, बोबाङ, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक गरी ८ वटामा निर्माण कार्य भै रहेको छ ।

हिलमा भने केही प्राविधिक समस्याका कारण केही समयलाई रोकिएको डिभिजन प्रमुख अर्याले बताए । पश्चिम देविस्थान र खुङगामा जग्गा व्यवस्थापन हुन नसकेको कारण भने कुनै प्रक्रियामा अगाडि बढन सकेको छैन । त्यसैगरी ताराखोला, निसी राजकुट र जलजला गरी ४ वटा स्वास्थ्य संस्थाको भने टेण्डर प्रक्रिया अगाडि बढेको सम्झौता हुन मात्र बाँकी रहेको छ । ४ वटा स्वास्थ्य संस्थाको टेण्डर प्रक्रियामा रहेको छ । अमरभुमी, सुखौरा तित्याङ छिस्ती र पाला गरी ५ वटामा सबै प्रक्रिया अगाडि बढी काम सुरु गर्न लागेको कार्यालयले जनाएको छ । त्यसैगरी हुग्दिशिर स्वास्थ्य चौकीको काम सम्पन्न भनी पत्र आई सके पनि हस्तान्तरण भने हुन सकेको छैन ।

बागलुङमा स्वास्थ्य संस्थाका भवन मात्र नभएर स्वास्थ्यकर्मिका लागि आवास गृह पनि निर्माण प्रक्रियामा रहेका छन । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारको आवस गृह निर्माण प्रक्रियामा रहेको छ । बुर्तिबाङ अस्पताल बुर्तिबाङमा बि व्लक,को काम पनि तिब्र पारिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धौलागिरी अंचल अस्पतालको बि र सि ब्लक ठेकेदारले तोकीएको समयमा सम्पन्न गर्न नसकेको कारण कारबाहीको प्रक्रियामा अगाडि बढेको जनाईएको छ ।

स्वास्थ संस्थाको भवन निर्माणका लागि टाईप ए को लागि न्युनतम ४ रोपनी, टाईप बि को लागि २ रोपनी र टाईप डि र सि को लागि डेढ रोपनी जग्गा आवश्यक पर्ने डिभिजन प्रमुख अर्यालले बताए । यस वर्ष आएको नयाँ कार्यक्रमको स्थलगत सर्वेक्षण गरी लागत अनुमान तयार गरी टेन्डर प्रक्रियामा अगाडि बढाईने छ । यस आर्थिक वर्ष भित्रमा टेन्डर प्रक्रियाको काम सकाई सक्ुनपर्ने भन्दै कार्यालयबाट सर्वेक्षण थालनी गरिने छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका स्वास्थ्य संस्थालाई भवन निर्माण गर्ने स्वीकृती दिएपछी निर्माण हुने लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३ सय ४५ वटा नयाँ स्वास्थ्यका भवन निमौणका लागी छनौट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung