
बागलुङ उघोग वाणिज्य संघले आयोजना गरेको पाँचौ बागलुङ महोत्सव यहि पौष १४ गतेदेखि २३ गतेसम्म हुन लागि रहेको छ । महोत्सवमा धेरै आन्तरिक पर्यटक भित्र्याउन प्रचारको लागि बागलुङ, पर्वत, म्याग्दी , मुस्ताङ, कास्की, चितवनदेखि काठमाण्डौसम्म पर्यटकलाई निमन्त्रणा गरिएको बागलुङ उद्योग वाणिज्य संघ का अध्यक्ष जयराम भारीले. जानकारी दिए ।
धेरै आन्तरीक तथा बाह्य पर्यटकहरु भित्र्याउने र बागलुङमा भएका स्थानीय उत्पादनको बजारीकरण, धार्मिक तथा पर्यटकिय गन्तव्यहरुको प्रचार र बागलुङको आर्थिक बजारलाई बलियो बनाउन महोत्सव आयोजना गरिएको संघका महा–सचिव दयाराम पौडेलले बताए ।महोत्सवलाई ४ नम्बर प्रदेशकै नमुना र उत्कृष्ट महोत्सवको रूपमा सम्पन्न गर्न धेरै स्थानहरुमा प्रचारलाई तीव्र पारिएको छ । महोत्सवमा ५ लाख भन्दा बढी पर्यटक भित्राएर उनीहरुलाई बागलुङका धार्मिक तथा पर्यटकीय गन्तव्यमा भम्रण गराउने उद्देश्य रहेका संस्थाका अध्यक्ष भारीले जानकारी दिए ।
बागलुङ महोत्सवमा अंग्रेजी नयाँ वर्ष पर्ने हुनाले यसलाई पनि महोत्सवमै झुमेर मनाउनको लागि डिजे कन्सर्टको पनि आयोजना गरिएको छ । महोत्सवमा महोत्सव हेर्न आउने पर्यटकहरुलाई फ्रि वाईफाई, सुरक्षाको लागि सिसी क्यामेरा र प्राथमिक स्वास्थ्यको व्यवस्था गरिएको छ । महोत्सवमा खुल्ला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता, फोटो प्रदर्शनी लगाएतको आकर्षणहरु रहेका छन । महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।
‘बागलुङको आर्थिक बजारलाई चलायमान बनाउन, ४ नम्बर प्रदेश लगायत सबै ठाउँमा हामीले महोत्सवको चुल्हे निम्तो दिन शुरु गरेका छौँ,’ नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ वासुले बताए । बागलुङ उद्योग वाणिज्य संघका निर्वतनमान अध्यक्ष बसन्त कुमार श्रेष्ठले भने ‘बागलुङको व्यवसायीक सम्भावना र क्षमतालाई उजागर गर्न, लगानी भित्र्याउन, सबै परिवार र प्रेमिल जोडिलाई अंग्रेजी नयाँ वर्र्ष बागलुङ बजारको महोत्सवमा झुमेर आनन्द लिएर मनाउन र बागलुङको मिठो आतिथ्यता स्वीकार गर्न हामीले सबैमा अनुरोध गरेका छौ ।’
बागलुङ बजार महोत्सवको प्रचार सामाग्रीले झिलिमिलि हुन थालेको छ । सबै होटल, रेष्टुरेन्ट, खाजा र चिया पसलको भित्ता प्रचारले भर्ने अभियान शुरु भएको छ । माईकिङ, तुल, व्यानरले बागलुङ बजार आसपासका क्षेत्रहरूलाई रंगाउन र गुञ्जाउन थालिएको छ । महोत्सवको व्यापारलाई लक्षित गरेर राखिएको १ सय ८० स्टल बुक भईसकेको स्टल संयोजक तथा संघका कार्यसमिति सदस्य संजय कुमार श्रेष्ठले बताए ।