२६ असार २०८२, बिहीबार

 

सुकुम्बासी नरबहादुरको पिडा

- मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमती लग्यो

मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालिका–२ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य भएका छन । वि.स २०६५ चैत ३ गते बागलुङमा रहेको विश्वकर्मा माविको भवन निर्माणका लागि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउने क्रममा छर्राले लागेर सुनारको दुवै आँखाको ज्योती र देवे्र हातको कुहिनादेखि को तलको भाग गुमेको थियो ।

ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सुनारको दुर्घटनापछि श्रवणशक्ति समेत गुमेको छ । बस्ने घर बाहेक उनको अचेल सम्पत्ती केही छैन् । आर्थिक अभावमा ९ वर्षसम्म उपचार गर्न नसकेको बताए । नेपालका विभिन्न अस्पताल र भारतको सि.बी प्रसाद अस्पतालमा उपचार गराउने क्रममा हालसम्म ५ लाख रुपैया खर्च भैसकेको उनका छोरा जिवनले बताए । भवन निर्माण समितिले आपतकालीन उपचारका लागि मात्र सहयोग गरेको थियो ।

हालै काठमाडौको दृष्टि आई केयरमा परिक्षण गराउँदा एउटा आँखाको उपचार सम्भव रहेको चिकित्कले बताएपछि सहयोगको खोजीमा जुटेको सुनारले बताए । तिन पटक शल्यक्रिया गर्नुपर्ने र पहिलो पटक अप्रेशन गर्दा डेढ लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

सुनारकी श्रीमती सिलादेवीको दुई वर्षअघि क्यान्सर रोगबाट निधन भएको थियो । सुनारका जेठा छोरा बिनोदसिङ रोजगारीका लागि मलेसीयामा गएका छन् । कान्छा अमरले बाबुको हेरचाह गरेर बसेका छन् । “दाजुले विदेशबाट पठाएको पैसाले बुवाको उपचार र घरखर्च चलाउनै ठिक्क छ” अमरले भने “मैले बुवाको हेरचाह र स्याहार गरेर बसेको छु ।”

दुर्घटनामा पर्नुअघि उनले डकर्मीका साथै रेडियो, घडी मर्मत र मुर्ती बनाउने गर्ने । “एउटा भए पनि आँखा देख्न पाए सकेको काम गरेर परिवार पाल्ने थिए” सुनारले भने । सुनारको उपचारका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोग संकलन अभियान सुरु गरेको छ ।

यसअघि आँखाको परिक्षण गराउनका लागि अस्पताल जान २५ हजार रुपैया सहयोग गरिसकेको थियो । कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा शुक्रबार समिति गठन गरेर अभियान सुरु गरेको अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

अध्यक्ष शाक्यले व्यक्तिगत रुपमा पाँच हजार र कोषाध्यक्ष खम थापाले एक हजार रुपैया अभियानलाई सहयोग गरेका छन । चिकित्सकले आर्थिक स्रोत जुटाउन सकेमा सुनारको उपचार सम्भव भएको जनाएकाले सहयोगका लागि अपिल गरिएको शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung