प्राकृतिक सौन्दर्य, जातिय विविधता, कला र सांस्कृतीक हिसाबले सम्भावनायुक्त म्याग्दीको सदरमुकाम बेनी महोत्सवमय बनेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुष २८ गतेदेखि सुरु भएको छैठौ म्याग्दी महोत्सव स्थानीय सिप, प्रविधि, कला, संस्कृती र कृषि तथा घरेलु उत्पादनको संगम एवं आकर्षणको केन्द्र बनेको हो ।
महोत्सवमा प्रस्तुत विभिन्न जातजातीका परम्परागत संस्कृती देखि ग्रामिण जनजिवनमा आधारीक घरेलु उत्पादन र स्थानीय खानाका परिकारले म्याग्दी र कालिगण्डकी नदीको किनारमा रहेको महोत्सव स्थल खुल्लामञ्च समग्र जिल्लालाई एकै ठाउँबाट चिनाउने स्थल बनेको छ । मगर जातीले कछाड, भाङ्ग्रा र गुन्यु चोलीको पहिरनको झाँकी सहित प्रस्तुत यानीमाया गित, नेवारको लाखे नाच, बाहुनको राधाकृष्ण, भजन, दलितको नौमती बाजा, लोक नृत्य, लोक दोहोरीले दर्शकलाई लोभ्याएको छ ।
महोत्सवले एकै ठाउँमा सबै जातजातीका भेषभुषा, संस्कार र पहिचान झल्काउने मात्र नभई सांस्कृतीक बिबिधता भित्रको एकताको सन्देश प्रवाह गराउन सफल भएको बेनीकी भावना पौडेलले बताइन । यसैगरी सिस्नो, टिमुर, सिमीको दाल, भटमास, ढिँडो, सेल रोटी, प्राकृतिक तातोपानीको मुहानको पानी, अल्लो र ढाकाका कपडाको प्रर्दशनी स्टलले सहभागिको मन तानेको छ ।
लोकल कुखुरा, सिस्नो, ढिडो लगायत स्थानीय उत्पादनको स्टल सञ्चालन गरेकी महिला उद्यमी सिर्जना श्रेष्ठले ग्रामिण खानाका परिकारको स्वादले दर्शकलाई आकर्षित गरेको बताइन । २ सय वटा स्टल रहेको महोत्सवमा लघुउद्यमी, कृषक र स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीको व्यवस्था मिलाएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए ।
म्याग्दीको बेनी नगरपालिका, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका कृषक र उद्यमीले तयार पारेका सामाग्रीको छुट्टा छुट्टै स्टल राखिएको छ । पर्यटकीय र प्राकृतिक हिसावले सम्भावनायुक्त मानिएको म्याग्दी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि महोत्सवमा हेलीकप्टर मार्फत पर्यटकीय स्थलको दृष्यअवलोकन, कालीगण्डकी नदीमा ¥याफ्टीङ र घोडा सफारीको व्यवस्था गरिएको छ ।

यसैगरी म्याग्दीका पर्यटकीय, धार्मीक र ऐतिहाँसीक स्थलहरुको फोटो तथा बृत्तचित्र प्रर्दशनी पनि गरीएको छ । म्याग्दीको सम्भावनाको उजागर गरि लगानी कर्तालाई आकर्षित गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक उत्तम कर्माचार्यले बताउनुभयो । माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको डेढ लाख दर्शकले अवलोकन गर्ने र छ करोडको कारोबार हुने अनुमान गरिएको छ । 
महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको गित तथा नृत्य प्रस्तुती र स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता पनी बिशेष आकर्षण रहेको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताए । दर्शकको उल्लेख्य उपस्थितीले आयोजक उत्साहीत भएका छन् । हालसम्म बिस लाख रुपैया बराबरको टिकट बिक्री भएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताए ।
















































































































































































