ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशीहरु आरक्षका विभिन्न शिकार ‘ब्लक’ मा शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारको लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ ।
विदेशी शिकारीसहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ । पहिलो टोली शिकारपछि फर्कने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । ‘कोही शिकार गरिरहेका छन्, कोही आउने क्रममा छन्’ उनले भने । शिकार कम्पनी नेपाल वाइल्ड लाईफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्रयाक एण्ड टे«ल्र्स प्रा.लि.मार्फत् शिकारी ढोरपाटन पुगेका हुन् । वाइल्ड लाईफले २ नाउर १ झारल, हिमालयनले २ नाउर, ग्लोबलले ३ नाउर १ झारल र ट्रयाक एण्ड ट्रेल्र्सले ३ नाउर र ३ झारलको शिकार गराउनेछ ।
शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट तालिमप्राप्त शिकारीहरु ढोरपाटन आउने गरेका छन् । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरि ६ ‘ब्लग’ मा शिकार खेलाउने गरिएको छ । शिकारीले रोजेको ‘ब्लग’ मा लगेर कम्पनीहले शिकार खेलाउने गरेका छन् । बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित शिकारीहरु आरक्ष आउने गरेको अधिकृत बरालले बताए । उनका अनुसार खर्चिलो र साहसी शिकारीले टाढाका ‘ब्लग’मा शिकार खेल्न रुचाउने गरेका छन् ।
सुनदह ‘ब्लग’ मा धेरै कम मात्र विदेशी शिकारको लागि पुग्ने गरेको उनको भनाइ छ । विभागले हरेक शिकार याममा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गरेको छ । शिकारको माग बढी हुँदा राजश्वको दर पनि बढ्ने र माग घट्दा राजश्व पनि घट्ने गरेको छ । प्रर्तिस्पर्धामा बढी बोलकबोल गर्ने कम्पनीले शिकार गराउने अनुमति पाउने गरेको छ । यो वर्ष प्रर्तिस्पर्धा कम हुँदा शिकारको दर पनि सामान्य रहेको आरक्ष कार्यालयले जनाएको छ ।
नाउर शिकारको अधिकतम दर रु. दुई लाख २१ हजार र झारलको रु. एक लाख १५ हजार तोकिएको जनाइएको छ । शिकार कम्पनीले केही वर्षअघि नाउर शिकारको रु. १३ लाख ५ हजारसम्म बुझाएका थिए । आरक्षले शिकारबाट वार्षिक करिब एक करोड रुपैयाँ राजश्व उठाउने गरेको छ । वर्षेनी असोज–मङ्सिर र फागुन–वैशाख गरि दुई याममा शिकार खुल्ला गर्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवको लागि ढोरपाटन विदेशीहरुको रोजाइँमा पर्ने गरेको हो । लाखौं रुपैयाँ खर्चेर हेलिकप्टरमार्फत् शिकारीहरु ढोरपाटन पुग्ने गरेका छन् ।
राससबाट
















































































































































































