जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउपालिकाको बिचमा अवस्थित घुम्टे शिरमा अवस्थित प्रसिद्व सिद्वभैरव मन्दिरमा श्रद्वालु भक्तजनहरुको घुईचो लागेको छ ।
परापुर्वकाल देखि वैशाख चण्डि पूर्णिमामा आफनो मनोकांक्षा पुरा हुने धार्मिक जनविश्वासका कारण भक्तजनहरु घुम्टेमा पुग्ने गर्दछन । यसपाली घुम्टेमा झण्डै ३ हजार श्रद्वालु भक्तजनहरु पूजा अर्चना र भाकलको निमित्त त्यहाॅ पुगेका छन । समुन्द्र सतह देखि १० हजार ३ सय ९३ फिटको उचाईमा अवस्थित घुम्टेमा गलकोट क्षेत्र सॅगै बागलुङ, पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाॅची, स्याङजा, तनहुॅ, धादिङ, गोरखा, लमजुङ, कास्की लगायतका जिल्लाबाट दर्शनार्थीहरु घुम्टेमा दर्शन गर्न आएको बताईएको छ । सडक मार्ग पछि झण्डै ३ घण्टाको उकालो पैदल यात्रा पछि घुम्टे पुग्न सकिन्छ । अहिले घुम्टे जान पर्यटन पदमार्ग समेत निर्माण गरिएको छ । घुम्टे लेक पर्यटकीय दृष्टिले मात्र नभएर धार्मिक आस्थाका कारणपनि प्रशिद्ध मानिन्छ ।

घुम्टे लेकबाट चारै तिर देखिने मनोरम दृश्य र त्यस लेक र आसपासमा फुल्ने थरी थरीका लाली गुराँश फुलले लोभिएर दिनहुँ जसो सयौँ आन्तरिक एवं बाह्य पर्यटकहरु आउने गर्छन भने प्रत्यक वर्षको बैशाख (चण्डि) पूर्णिमाका अवसरमा घुम्टे धुरीमा अवस्थित भैरव मन्दिरमा पूजा अर्चनाका लागि श्रद्धालुहरुको भीड नै लाग्छ नव वर्षको अवसरमा वैशाख १ गते गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा सम्पन्न भएको छैठौं लालीगुराँस उत्सव लगत्तै अहिले जारी धार्मिक मेलामा सिद्ध भैरव मन्दिरमा श्रद्धालुहरुको घुँईचो लागेको छ ।
बुद्ध पूर्णिमा पनि भएकाले काटमार गर्न नहुने मान्यताका कारण कम भक्तजनहरु आउने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।
काल भैरबलाई बलि पूजा दिईएपनि बाल सिद्ध मन्दिरमा बलि पूजा दिने प्रचलन छैन । वरिष्ठ उपाध्यक्ष थापा भन्छन्, ‘प्राचीनकालमा ५ वर्षको बालकले तपस्या गरी सिद्धि प्राप्त गरेकाले त्यस मन्दिरलाई बाल सिद्ध मन्दिर भनिएको हो, त्यहा बलि पूजा दिईन्न रोटले पूजा गरिने परम्परा रहि आएको छ ।’ श्रद्वालु भक्तजनहरु मध्यपहाडी लोकमार्ग पश्चात मल्म पाण्डवखानी सडक, हरिचौर टेउवा सडक र हिलको धुरीसम्म यातायात र त्यस पश्चात पैदल यात्रा मार्फत घुम्टे शिरमा पुगेका हुन ।



















































































































































































































