सम्माननीय शिक्षामन्त्रीज्यू,
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालयदेखि मन्त्रालयसम्मका शिक्षक कर्मचारीको संयन्त्र पुनःसंरचना गर्नु युक्तिसङ्गत हुन्छ । जबसम्म शिक्षक शासित र कर्मचारी शासक रहिरहने परिपाटी रहन्छ, तबसम्म ऐन संशोधन गरिरहे पनि त्यसको कार्यान्वयन हुँदैन । यो ढाँचाबाट शिक्षा प्रणाली सुध्रिँदैन पनि । मुहानै धमिलो छ भने बगेर मात्र पानी सङ्लिँदैन ।
मन्त्रीज्यू, तपाईंले शिक्षामा सुधार गर्न लाग्नुभएको छ, त्यो प्रशंसनीय कार्य मान्नुपर्छ । बाह्य जगत्बाट शिक्षामा देखिएका समस्या जुन छन्, ती समस्या सतही छन् । तिनको समाधान हुन सक्ला, तर शिक्षाभित्रका जुन मनोवैज्ञानिक समस्या छन् ती समस्या गम्भीर प्रकृतिका छन् । ती समस्याको समाधानका उपायहरु संरचनागत छन् । पूरै संरचना नबदलेसम्म समस्या समाधान हुँदैनन् ।
ए ग्रेड ल्याएर उत्तीर्ण भएका व्यक्ति शिक्षक हुन चाहँदैनन् किन ? स्वास्थ्य सेवाका कर्मचारी र निजामती सेवाका कर्मचारीको जस्तो सुविधा के शिक्षकले पाएका छन् ? छैनन् । तथ्याङ्क हेर्दा विज्ञान विषयको जनशक्ति देशमा प्रशस्त देखिन्छ । तर उनीहरु शिक्षक हुन नमानेको पाइन्छ । विज्ञान विषय लिएर बीएससी पास गर्दा गरेको लगानी शिक्षकबाट नउठ्ने र पढ्दा लागेको ऋण तिर्न नसकिने तर्क उनीहरुको छ । शिक्षकमा प्रवेश गरेर शिक्षकबाटै अवकाश हुनुपर्ने बाध्यता छ यहाँ । दशौं÷पन्ध्रौं वर्ष बढुवा नहुने, उही तहमा खटिइरहन पर्ने र बढुवा भइहाले पनि के पो फरक हुन्छ र ? प्रश्न उठ्छ कुनै जेहेनदार शिक्षक आवश्यक सर्त पूरा गरेर शिक्षा मन्त्रालयको सचिवसम्म जान किन नपाउने ? यदि शिक्षक भएर सेवा प्रवेश गरेको व्यक्ति स्रोतव्यक्ति, विनि, शिक्षा अधिकृत, निर्देशक र सचिवसम्म जान पाउने संरचना भएको भए जेहेनदार व्यक्तिहरुको आकर्षणको केन्द्र शिक्षक र शिक्षण बन्ने थियो । राम्रो जनशक्ति शिक्षामा भित्रिने थियो । राम्रो जनशक्ति भिœयाउन नसकेसम्म शिक्षामा आमूल परिवर्त हुँदैन । शिक्षामा आमूल परिवर्तनको आवश्यकता छ ।
शिक्षालाई लर्ड मेकालेकै सिद्धान्तअनुकूल बनाउन खोजिएको हो कि भन्ने आशा छ । सम्माननीय शिक्षामन्त्रीसमक्ष मेरो लेख पुग्ला÷नपुगला, थाहा छैन । यदि विचार युक्तिसङ्गत लागेमा सामाजिक सञ्जालमार्फत नीति निर्माण तहसम्म पुग्ने आशा गरेको छु । ज्ञान, विज्ञान र शिक्षण विधिमा दख्खल व्यक्ति गुरु हुन योग्य मानिन्छ भने शिक्षा लिने र दिने व्यक्तिको मनोविज्ञान बुझेर उनिहरुको भावनानुकूल विचारहरु र नीतिनिर्माण तहसम्म प्रभाव पार्ने प्रभावोत्पादक विचारहरु सिर्जना गर्ने कार्य शिक्षा सास्तीहरुको हो जस्तो लाग्दछ । राज्य अहिले नीति निर्माणको चरणमा छ । कुनै वर्गविशेषलाई खुसी बनाउन र विदेशी मोडलहरु दिएर नेपाली पहिचान नै स्खलित हुने विचारहरु सरकारलाई नदिन शिक्षाविद्हरुरुलाई अनुरोध छ । साथै गुरुजस्तो गरिमामय पदको गम्भीर दायित्वलाई हलुङ्ग्याएर पाश्चात्य चिन्तनको लहैलहैमा लागेर सहजकर्ताको बिल्ला बोकाउने को हो ? यसले शिक्षकको गरिमालाई तुच्छ बनाएको छ । शिक्षामा सरोकार राख्ने समूहको मनोविज्ञान बुझेर सोहीबमोजिमको शिक्षा नीति तय गर्न पहल र लबिइङ गर्न अनुरोधसमेत गर्दछु ।



















































































































































































































