अघिल्लो वर्षको तुलनामा यस बर्ष बागलुङबाट जडिबुटिको निर्यात घटेको छ । अर्थिक वर्ष ०७४÷०७५ मा जिल्लाबाट निर्यात हुने जडिबुटिको मात्रा घटेको हो । आर्थिक वर्ष ०७३÷०७४मा २५ हजार ४९० किलो जडीबुटी बाहिर निर्यात भएकोमा यो वर्ष जम्मा १७ हजार १९ किलो निर्यात भएको हो । जुडीबुटी निर्यातबाट १ लाख ९८ हजार ३४० रुपैयाँ राजश्व उठेको जिल्ला वन कार्यालय बागलुङले जनाएको छ । आव ०७३÷०७४ मा दुई लाख ७५ हजार ७२५ रुपैयाँ राजश्व संकलन भएको थियो ।
जिल्लाबाट २० प्रजातिका जडीबुटी निर्यात हुने गरेको जिल्ला वन अधिकृत विशाल घिमिरले बताए । उनका अनुसार सतुवा, वन लसुन, चिराइतो, नागबेली, पाखनवेद, अतिस, साधारण च्याउ लगाएतका जडीबुटी निर्यात हुने गरेका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा ग्रैहकाष्ठ वन पैदावर सूचीकृत छन् । संकलन र प्रशोधन अभावमा बहुमुल्य जडीबुटी त्यसै खेर गइरहेका छन् ।
‘यहाँको जंगलमा प्रशस्त जडीबुटी छ, अनुसन्धान, पहिचान हुन सकेको छैन,’ अधिकृत घिमिरेले भने, ‘निर्यात न्यून मात्रामा छ ।’ उनले जडीबुटी संकलनको लागि ठूला व्यवसायी जिल्लामा नआएको उल्लेख गरे । व्यक्तिगत प्रयोग र थोरै परिणाममा मात्र जडीबुटी संकलनको लागि वन कार्यालयबाट इजाजत लिनेको संख्या बढी छ । ‘थोरैको पुर्जी लिने तर धेरै संकलन गरेर अवैध रुपमा निकासी भएको हुनसक्छ,’ अधिकृत घिमिरेले भने,े, ‘त्यसलाई रोक्न उपयुक्त विधी निर्माण गर्ने योजनामा छौं ।’
जिल्ला वन कार्यालयले इजाजत लिएका व्यक्तिलाई जडीबुटी संकलनको लागि एक महिनाको अवधि दिने गरेको छ । जटीबुटीको कारोबार गर्ने मुख्य व्यवसायीले खटाएका प्रतिनिधी संकलनमा खटिने गरेका छन् । वनको चारकिल्ला र जडीबुटीको मात्रा ताकेर पुर्जी दिने गरिएको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताए । सीप, उपकरण र प्रशोधन केन्द्रको अभावले जडीबुटीको बजारीकरण हुन नसकेको विकको भनाई रहेको छ ।
परम्परागत हिसावले पहिचान भएका केही जडीबुटीको सामान्य किनबेच हुने गरेपनि त्यो व्यवस्थित हुन सकेको छैन । आधुनिक प्रविधिबाट जडीबुटीको पहिचान र प्रशोधन गरि बजारीकरण गर्न सके वार्षिक करोडौं रुपैयाँ जिल्लामा भित्राउन सकिने देखिन्छ । जिल्लाको ढोरपाटन, घुम्टे, ताराखोला, गाजाको दह लगाएतका क्षेत्र जडीबुटीको लागि पकेट ठाउँ मानिन्छन् । जडीबुटी खेती कार्यक्रम अन्र्तगत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अम्रिसो, लौठसल्ला रोपण गर्दै आएको छ ।







































































































































































































