१२ कार्तिक २०८३, बुधबार

 

सञ्चार माध्यमप्रति विश्वास घटेकोमा चिन्ता

पछिल्लो समयमा सञ्चार माध्यमप्रतिको घट्दो विश्वासप्रति यहाँ आयोजित कार्यक्रममा सहभागीले चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस काउन्सीलको आयोजना र नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा भएको पत्रकार आचारसंहित जागरण अभियान—२०७५ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । ‘पछिल्ला दिनहरुमा पत्रकार र सञ्चारमाध्यमहरुको संख्या दैनिक रुपमा बढ्दो छ,’ कार्यक्रममा सहभागीले भने,‘तर पत्रकार र सञ्चार माध्यमप्रतिको विश्वास भने घट्दै गएको पाईन्छ । यो पत्रकारिता पेशाका लागि निकै ठूलो चूनौतीको विषय हो ।’ कतिपय ठाउँहरुमा पत्रकार नै कतिपयमा गैरपत्रकारहरुको गतिविधिका कारण पनि पत्रकारिता प्रतिको विश्वास घट्न थालेको उनीहरुको भनाई छ ।

प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउनका लागि प्रेस काउन्सील क्रियाशील रहेको बताए । ‘प्रेस काउन्सील पत्रकार र सञ्चारमाध्यमलाई कारबाही गर्ने नभई उनीहरुलाई आचार संहिता अनुसार चल्नका प्रेरित गर्ने संस्था हो,’ उनले भने,‘हामीले सामान्य कारबाही त गरेका छौं । तर पत्रकारहरुलाई सुधारेर सही बाटोमा हिँडाउने नै हाम्रो मुख्य उद्देश्य हो ।’ श्रेष्ठले साईबर अपराधमा प्रहरीले पक्राउ गरेका पत्रकारहरुलाई पनि प्रेस काउन्सीले छुटाएको बताए । ‘प्रहरीले साईबर क्राईमको मुद्दा चलाउन लागेका पत्रकारहरुलाई प्रहरी कार्यालयबाट निकालेर प्रेस काउन्सीलको अधिकार क्षेत्र भित्र पर्ने मद्दा हो भनेर हामीले छुटाएका छौं,’ श्रेष्ठले भने,‘पत्रकार भन्दैमा जे पायो त्यही गर्न पनि भएन । हाम्रो पनि आचार संहिता छ । त्यसको कार्यान्वयन हुनुप¥यो ।’

पत्रकार भनेको सबैभन्दा माथि हो भन्ने नसोच्न उनले आग्रह गरे । ‘राज्यले चौथो अंगको रुपमा स्वीकारले पत्रकारलाई अरुलाई भन्दा एक्सेस दिएको छ,’ श्रेष्ठले भने,‘त्यसको मतलब पत्रकारलाई आचार संहिता नियम कानुन लाग्दैन भन्ने हुँदै होईन । पत्रकारहरुकै गल्तीका कारण सरकारले चोरबाटोबाट कानुन ल्याएर पत्रकारलाई नियन्त्रण गर्दैछ ।’ वरिष्ठ पत्रकार तिर्थ कोईरालाले जो पनि पत्रकार बन्ने प्रचलनले समस्या आएको बताए । ‘जो पनि पत्रकार बन्ने र जे मन लाग्यो त्यही कुरा समाचारको रुपमा प्रस्तुत गर्ने चलन बढेकाले हामीप्रतिको विश्वास ओरालो लाग्दो छ,’ कोईरा भन्छन्,‘अब हामीले आफुलाई करेक्सन गरेर गएनौं भने पत्रकारिताको भविष्यमाथि गम्भीर प्रश्न उठ्छ ।’ अवको पत्रकारिताले स्थानीय विकास निर्माणलाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाई छ ।

‘अब हाम्रा कलमहरु यहाँको विकास निर्माणलाई प्रवद्र्धन गर्ने खालको हुनुपर्छ, यहाँका कुराहरुलाई माथि उठाउने गरी तपाईले कलम चलाउँदा तपाईलाई कुनै आचार संहिताले रोक्दैन,’ कोईरालाले भने । पत्रकार हुनका लागि निश्चीत मापदण्डहरु पूरा गर्नुपर्नेमा उनले जोड दिए । ‘हाम्रोमा जो पनि पत्रकार बन्न पाउने भएर पनि समस्या झन जटिल बन्दै गएको छ,’ उनले भने,‘पत्रकारिता पेशामा प्रवेशका लागि निश्चीत मापदण्ड तोकिएन भने समस्या झन् जटिल बन्नसक्छ ।’ उनले पेशालाई मर्यादित बनाउनका लागि पत्रकारहरु आचारसंहिताको अधिनमा रहनुपर्नेमा जोड दिए । स्वतन्त्र पत्रकार टिकाराम राईले पछिल्लो समयमा प्रविधिको विकासले पत्रकारितमा मोफसल भन्ने बाँकी नरहेको बताए ।
‘सूचना प्रविधिमा यति धेरै विकास भयो कि अहिले अब मोफसल भन्ने बाँकी रहेन,’ राईले भने,‘आफ्नो क्षमता भएका पत्रकारले जहाँ बसेर पनि प्रविधिको उपयोग गरेर आफ्नो क्षमतासंगै आर्थिक रुपमा समेत बलियो हुने दिन आईसकेको छ ।’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमले पत्रकार आचार संहिता सम्बन्धी छलफलले जिल्लाको पत्रकारितालाई थप मर्यादित र अनुशासित बनाउनका लागि सहयोग पुु¥याउने बताए । कार्यक्रममा प्रेस काउन्सीलका सदस्य खिलबहादुर भण्डारीले आचार संहिताबारेमा जानकारी गराए ।
जिल्लामा बसेरमा पत्रकारिता गर्दा कतिपय अवस्थामा आचार संहिता सम्बन्धी ज्ञान नहुँदा पनि समस्या आउने गरेकोले यस सम्बन्धी छलफल कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नरेश कँडेलले बताए । कार्यक्रममा बागलुङ बागलुङका ३० जना भन्दा बढि पत्रकार सम्पादकहरुको सहभागिता रहेको पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले जानकारी दिए ।
प्रेस काउन्सीलले बागलुङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम । तस्विरः संगम÷नागरिक ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung