पछि पारिएका र पछि परेका समुदायको उत्थानका लागि सबैले भूमिका खेल्नुपर्ने बागलुङमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा बागलुङले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।
महासंघले गरेको ‘समावेशी सञ्चार आवश्यकता र अभ्यास’ विषयक संवादमा बोल्ने वक्ताहरुले सबै खाले सञ्चार माध्यम र सञ्चार सामग्रीमा समेत समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका छन् । उनीहरुले आदिबासी जनजाती मात्रै नभएर अन्य समुदायका पत्रकारहरुको पनि संरक्षणका लागि सबै जना एकताबद्ध भएर लाग्नुपर्ने भनाई राखेका थिए ।
‘यो आदिवाजी जनजातिको सवालमा मात्र होईन, पछि परेका सबै समुदायको उत्थानका लागि कलमहरु चल्नुपर्छ,’ उनीहरुले भने,‘उनीहरुलाई मूलधारमा समावेश गर्नका लागि सञ्चार माध्यम नै अहिलेको समयमा सशक्त माध्यम हो ।’ जातियताका आधारमा कुनै पनि समाचारका बिषयहरुलाई हटाउने काम गर्न नहुने भन्दै व्यवसायिक र खोजमुलक पत्रकारितामा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले आदिवासी जनजाति र अरु सबै समुदायको समस्याको गहिराईमा पुगेर समस्या उजागर गर्न आग्रह गरे ।
‘मूल समस्या कहाँ छ भनेर पत्ता लगाएपछि मात्रै यथार्थ कुराहरु बाहिर आउँछन्,’ उनीहरुले भने,‘सतहमा कसैलाई देखेर र उसलाई देखाएर त्यो समुदायको अधिकार सुनिश्चीत नहुन सक्छ । त्यसका लागि समुदायकै उत्थान गर्ने खालको सञ्चार सामग्री आवश्यक छ ।’ शिरीषले पत्रकारितासंगै निरन्तरतामा समस्या रहेकाले दक्ष पत्रकार उत्पादन गर्न र दीर्घकालिन रुपमा टिकाउन सबैले आ—आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
‘सञ्चार माध्यममा आउनेक्रम त छ तर उनीहरुलाई त्यसका टिकाउनका लागि समस्या छ,’ उनले भने । स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फोनिज बागलुङका अध्यक्ष संगम घर्तीमगरले राज्यको सबै निकायमा सबै वर्ग समुदायको सहभागीता सुनिश्चित गराउन आरक्षणको व्यवस्था गर्न एवं लक्षित वर्गमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न समावेशी सञ्चारको आवश्यकता रहेको औंल्याए ।
‘हामीले नेपालमा कुनै विभेद छैन भने पनि कुनै न कुनै रुपमा विभीन्न समुदायले आफुलाई पछि पारिएको महसुस गरेका छन्,’ उनले भने,‘उनीहरुलाई मूलधारमा समाहित गर्नका लागि अब सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुनुपर्छ ।’समाज रुपान्तरणका लागि मिडिया आफै रुपान्तरण हुनुपर्ने भन्दै विभेदकारी मिडिया हुनबाट टाढा रहनुपर्ने बताए । कार्यक्रममा जनजाति अभियन्ता यामबहादुर घर्तीले पहिले जनजातिले आफ्नो आवाज उठाउनुपर्ने भन्ने तर्क सही नभएको बताए ।
‘तपाईहरु अगाडी आउनुस न हामी त छँदैछौं नी भन्ने तर्क सही हुँदैन,’ उनले भने,‘पछि परेको वर्ग र समुदायलाई अगाडी ल्याउनका लागि सबैले भूमिका खेल्नुपर्छ ।’
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका सल्लाहकार मुकेशचन्द्र राजभण्डारी, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका केन्द्रीय सदस्य मनिष थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतम, पत्रकार महासंघकी सल्लाहकार कोपिला कँडेल, पत्रकार राम थापा, किरण आचार्य, नविन शिशीर, तारानाथ आचार्य, सिर्जना पन्त, रबिना बोहोरा लगायतले सुझाव तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फोनिज बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, कोषाध्यक्ष तनमती रोकाको स्वागत, सहसचिव डम्मर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































