३२ असार २०८२, बुधबार

 

लोकमार्गमा वर्षाले सास्ती

मध्यपहाडी पुष्पलाल लोकमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने सर्वसाधारणको बाध्यता यो वर्षायाममा पनि हटेन । कुनबेला पहिरोले सडक अवरुद्ध हुन्छ भन्ने भय पालेर यात्रामा निस्कनु पर्ने अवस्था छ । चालकहरु जोखिम मोलेर सवारी साधन चलाउन विवश छन् । सदरमुकामसँग जोडिएको घोडाबाँधेसम्मको २५ किमि सडक सबभन्दा नाजुक छ । निर्माण शुरु भएको २० वर्ष बित्दासमेत उक्त खण्ड ‘ग्राबेल’ सम्म हुने सकेको छैन । लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किमिमध्ये घोडाबाँधेदेखि बुर्तिबाङसम्मको ६४ किमि सडक कालोपत्रे भइसकेको छ ।

सदरमुकामतर्फको सडक निर्माणमा भएको ढिलाइप्रति जनगुनासो पनि बढेको छ । बुर्तिबाङबाट डेढ घण्टामै घोडाबाँधे आउने सवारीलाई त्यहाँबाट २५ किमिमा रहेको सदरमुकाम आइपुग्न २ घण्टा लाग्छ । जीर्ण र हिलाम्मे सडक त्यहीँमाथि पहिरोको अवरोध छिचोल्दै हिँड्नुपर्ने अवस्था रहेको जीप चालक राजेन्द्र विकले बताउनुभयो ।

‘सडक व्यवस्थित छैन, जोखिम उठाएर गाडी चलाउनु पर्छ’ उहाँले भन्नुभयो । यही वर्षायाममा मात्र लोकमार्गको दर्जनौ ठाउँमा पहिरा गएका छन् । तत्काल पहिरो पन्छाएर सवारी चलाउने गरिएपनि सडकको स्तरोन्नति नहुँदा समस्या दोहोरिने गरेको छ । नयाँ मात्र नभएर पुराना पहिरोलाई उचित ढंगले व्यवस्थित नगर्दा सडकको स्वरुप बिग्रेको छ ।

नाली नबन्दा सडकबाटै बग्ने भलले सडक क्षतविक्षत बनेको छ । वर्षामा हिलो र हिउँदमा धूलोको समस्या झैल्दै आएका स्थानीवासीले लोकमार्ग छिटो कालोपत्रे गर्न माग गरेका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र स्थानीय प्रशासनले समेत लोकमार्ग निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

ग्रामिण क्षेत्रमा कालोपत्रे भइसक्दा सदरमुकामतर्फकै सडकको दुरदशा हुनु अशोभनीय विषय बनेको छ । कुनैपनि कारणले लोकमार्ग नरोकियोस् भन्नेमा स्थानीय प्रशासन, प्रहरी भने सचेत छ । पहिरोको अवरोध हटाउन प्रहरी, आयोजनाकै जनशक्ति र स्थानीयवासी समेत परिचालित हुन्छन् ।

यो वर्ष धेरै ठाउँमा पहिरो गएकोले समस्या निम्तीएको लोकमार्गको बागलुङ खण्डका इन्जिनियर सुरज महर्जनले बताउनुभयो । ‘वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च भएको छ,’ उहाँले भन्नुभयो । दैनिक जसोको झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको र वर्षालगत्तै काम शुरु हुने जनाइएको छ ।

आउँदो हिउँदसम्म पूर्वाधार तयारीको काम सक्ने र २०७६ भित्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । सदरमुकाम बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमिको ‘सिद्वीटाई कन्सट्रक्सन’ र घोडाबाँधेसम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सुर्य कन्सट्रक्सन’ले लिएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung