बागलुङको गलकोट नगरपालिका–७ मल्ममा पर्ने हुलुवा खोलाले १५ लाख बराबरको योजना बगाएर क्षती पुराएको छ । मल्मको बामियाँ र आगाखेत जोड्ने हुलुवा खोलामा गत महिना आएको बाढिका कारण खोलामा रहेको झुुलुङगे पुल, तटबन्ध र खोला वरपर रहेको गोरेटो बाटो बगाएको हो ।
२०७३ सालमा स्थानिय बिर बहादुर चोखालले सामाजिक सञ्जाल मार्फत सञ्चालन गरेको सहयोग संकलन अभियान मार्फत देश बिदेशबाट संकलन भएको २ लाख १५ हजार र स्थानियको ६० हजार सहयोगमा खोलामा ग्याबिन जालि लगाईएको थियो ।
त्यस्तै २०७४ सालमा मल्मबाट जापानमा पुगेकाहरुको सक्रियतामा ३ लाख ५० हजार, गलकोट नगरपालिकाबाट ४ लाख र पुल मर्मतका लागी नगरपालिकाबाट ३ लाख, भुसंरक्षणको स्थानिय पावर समितिबाट ६० हजार र करिब २ लाख बराबरको स्थानिय जनश्रमदानमा पुल मर्मत तथा खोला वरपर तटबन्धन सँगै गोरेटोबाटो निर्माण गरिएको थियो ।
२०७३ सालदेखि दिवज्योति आधारभुत बिद्यालय तथा मल्म बामियाँको बस्तिलाई सुरक्षित गर्न बनाईएको तटबन्धन र खोलामा भएको झुुलुङगे पुल यस बर्षको हुलुवा खोलामा आएको बाढिले बगाएको छ । खोलाले खोला वरपरको करिब २० मिटर गोरेटोबाटो समेत बगाएको स्थानिय रत्न बहादुर मल्लले बताए ।
खोलाको छेउमा रहेको दिवज्योति आधारभुत बिद्यालय गत महिना करिब १० दिन सम्म बन्द भएको थियो । हुलुवा खोलाले बिद्यालय आवतजावत गर्ने झुलुङगे पुल र बिद्यालय परिसर भित्रको गोरेटोबाटो बगाएपछि बिद्यालय बन्द गनुपर्ने बाध्यता भएको बिद्यालयका प्रध्यानाध्यापक सारदादेबि शर्माले बताईन् ।
स्थानियको सक्रियतामा खोलामा अस्थाई काठको पुल निर्माण भएपछि बिद्यालय सञ्चालन गरिएको शर्माको भनाई छ । गोरेटो बाटो नभएपछि स्थानियले जन्ति, मलामी दिवज्योति आधारभुत बिद्यालयको प्राङगणबाट आवतजावत गराउने गरेको बिद्यालयका साहायक प्रध्यानाध्यापक बिर बहादुर चोखालले बताए ।
गलकोटको हटिया, हरिचौर, बासखोला जाने पैदल यात्रीहरु यतिबेला बिद्यालयको प्राङगण हुदै जाने गरेका छन । मानिसहरुको आवतजावत हुदाँ होहल्ला हुने हुदाँ बिद्यालयको पढनपाठनमा समस्या पर्ने गरेको चोखालले बताए । खोलाले गलकोटको सबैभन्दा बढि क्षति मल्मको बामियाँमा गरेपनि हालसम्म कुनै निकायबाट उचित सहयोग प्रात्त नभएको मल्लले बताए ।
गलकोट नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रदेश सांसद र प्रतिनिधि सांसदहरु अवलोकनका लागी आएपछि आफुहरुलाई आश्वासन मात्रै दिने गरेको स्थानियले गुनासो गरेका छन । ‘खोलामा बनाईएको बैकल्पिक काठको पुल पनि कति बेला खस्ने हो थाहा छैन,’ चोखालले भने, ‘अब खोलामा वारपार गर्ने झुलुङ्गे पुल तथा गोरेटोबाटो निर्माणका लागी समेत समस्या भयो ।’
खोलाले वरपरको भाग बगाएपछि सानोतिनो योजनाले खोलामा पुल बन्न नसक्ने स्थानियको दाबि छ । यसैबिच प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बिद्यालय र खोला वरपरको क्षतिको अवलोकनपछि जिल्ला दैबिक प्रकोप उद्धार समितिको सिफारिसपछि क्षेत्रिय शिक्षा कार्यालय पोखराबाट २ लाख निकासा भएको चोखालले बताए ।



















































































































































































































