बागलुङका पत्रकार सञ्चारकर्मीहरुले मुलुकी ‘फौजदारी’ र ‘देवानी’ संहिताका केही बुँदा प्रेस प्रतिकुल भएको भन्दै तत्काल सच्याउन माग गरेका छन ।
सरकारले भाद्र १ गतेदेखि लागू गरेको मुलुकी संहिताको २९३ देखी ३१० सम्मका बुँदा सूचनाको हक सम्वन्धि मौलिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संरक्षण बिपरित मनसायबाट प्रभावित भएकाले यसलाई सच्याउन जरुरी भएको उनीहरुको भनाई छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बुधबार आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तत्र्रिmया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि संहिता ऐनमा भएको राज्य बिरुद्धको कसुर सम्वन्धि केही व्यवस्था, गोपनियता, गाली बेइज्जति सम्वन्धि केही प्रावधानहरुले प्रेस स्वतन्त्रतामा गम्भिर असर पर्न सक्ने देखिएकाले ति बिषयलाई तत्काल संशोधन र सुधार गर्न माग गरिएको बताए ।
‘खोज पत्रकारिता माथि यो वा त्यो बहानामा अंकुश लगाउने मनसायबाट प्रभावित भएर यो ऐनको केही बुँदा आएको जस्तो देखिन्छ,’ अध्यक्ष शिरीषले भने, ‘मुलुकी संहिता प्रति हामी भयभित होइन, नियत जोडेर भोलीका दिनमा स्वतन्त्र पत्रकारितामा आउन सक्ने सम्भावित जोखिम प्रति संशकित मात्र हो । राज्य जिम्मेवार बन्नुपर्छ र बनाउनुपर्छ भन्नेमा फरक मत होइन ।’
नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार मुकेशचन्द्र राजभण्डारीले व्यक्तिको गोपनियतालाई संरक्षण गर्ने नाममा खोज पत्रकारिताबाट गम्भिर बिषय बाहिर ल्याउँदा पनि अनुमति लिनुपर्ने आशयले प्रेस स्वतन्त्रताको मर्ममा आघात पुगेकाले यसलाई सच्याउन आवश्यक भएको बताए ।
नागरिक समाजका संयोजक काजीगाउँले श्रेष्ठ, उच्च अदालत पोखरा बागलुङ बार एशोसिएसनका अध्यक्ष केशवराज पराजुली, पुर्व अध्यक्ष राम शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले जारी मुलुकी संहिताका आधारमा पत्रकारहरू डराउनुपर्ने अवस्था नरहेको भन्दै संहिताले व्यक्तिगत गोपनियता र स्वतन्त्रतालाई बढी महत्व दिएको बताए । उनीहरुले प्रेस स्वतन्त्रतालाई प्रतिबन्धात्मक वाक्यले प्रष्ट गरेको भन्दै अब सूचनाको हक अधिकार सम्वन्धि कानुन निर्माणमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष काजीगाउँले श्रेष्ठ, उपभोक्ता मंच बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, पत्रकार किरण आचार्य, तारानाथ आचार्य लगायतले बोलेका थिए ।
कान्तिपुर दैनिकका उप सम्पादक प्रकाश बरालले अवधारणापत्र प्रस्तुत गरेको कार्यक्रममा पत्रकार किरण आचार्य, तारानाथ आचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रम पत्रकार महासंघका सहसचिव नवीन शिशिरको स्वागत र सचिव राम थापा ‘अविरल’ को संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































