१२ कार्तिक २०८३, बुधबार

 

जन्मोत्सवमा सामूहिक सहयोग हस्तान्तरण

लायन्स क्लव अफ पर्वत कुश्मा सिटीमा आवद्ध महिलाहरुले जन्मदिनको अवसरमा गरिने खर्च कटौती गरेर एक विद्यालयलाई सहयोग गरेका छन् । जन्मोत्सव परेका क्लवका पूर्व अध्यक्ष कलावती पुरी, निर्देशक कमला सुबेदी, सदस्यहरु गंगा जोशी, सन्जु श्रेष्ठ जोशी, मन्जना श्रेष्ठले कुश्मामा रहेको वालमन्दिर प्राविलाई कुर्चि, टेवल र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

जन्मदिनमा गरिने फजुल खर्चलाई रचनात्मक काममा खर्च गर्नुपर्छ भन्ने मान्यता अनुरुप उनीहरुले सहयोग गरेको जनाए । जन्मदिनको अवसरमा सहयोग गर्ने सबैलाई क्लव र विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा बोल्दै लायन्स क्लवका डिष्ट्रिक एडभाईजर काशीकुमार जोशीले सामाजिक संघसंस्थामा आवद्ध भएका व्याक्तिले जागरणको अभियान आफैँवाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले लायन्स क्लवमा लागेका पुराना तथा नयाँ सदस्यहरुलाई यस्तै रचनात्मक कार्य गर्न सुझाव दिए ।

कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्माले जन्मदिनमा महिलाहरुले सामूहिक रुपमा गरेको यस्तो सहयोगले अरुलाई पनि सहयोगको प्रेरणा मिलेको वताए । जन्मदिनको खर्चलाई कटौती गरि समस्यामा परेका वर्गलाई सहयोग गर्दा त्यसवाट बढि आत्मासन्तुष्टि हुने शर्माले उल्लेख गरे ।

लायन्स क्लव अफ पर्वत कुश्मासिटीका अध्यक्ष सरस्वती शर्मा ‘जिज्ञाशु’को अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले विद्यालयको विगत र वर्तमान अवस्थाको बारेमा अवगत गराए । खाजा कार्यक्रमले ल्याएको परिवर्तनको वारेमा पनि उनले जानकारी दिए ।

यो विद्यालयमा दिनभरि गिट्टीवालुवा वोकेर गुजारा चलाउने मजदूरका छोरीछोरी पढ्छन् । श्रमिकका छोराछोरी भोकभोकै विद्यालय आउने र ४ बजाउन गेटमा ताला लगाउनुपरेको अवस्था विगत रहेको शिक्षकहरु वताउँछन् । तर अहिले विद्यालयमा खाजा कार्यक्रमले विद्यार्थीहरुलाई सहज भएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा जोन चियर पर्सन अजिता शर्मा, पूर्व अध्यक्ष कलावती पुरीले पनि बताए ।

विद्यालयका विद्यार्थी विनिषा नेपाली र समिर नेपालीले गित सुनाएका थिए । कार्यक्रममा ध्वजाको अभिवादन ईन्दिरा भण्डारी, स्वागत मन्तव्य प्रभारत्न जोशी र सञ्चालन उषा चापागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung