१२ कार्तिक २०८३, बुधबार

 

धारापानी विद्युतीकरण योजनाको सार्वजनीक सुनुवाई र उद्घाटन

 म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ । योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा उपभोक्ता समितिका समितिका सचिव किरण थापाले आठ वर्षपछिको प्रयासमा ५६ लाख ८३ हजार ७६० लागतमा निर्माण भएको योजनाबाट २०१ घरमा केन्द्रिय प्रशारण लाइनको बिजुली विस्तार गरिएको जानकारी दिए ।उनका अनुसार धवलागिरी गाउँपालिकाको ४१ लाख ८६ हजार ५९८, तत्कालीन ताकम गाविसको पाँच लाख, तत्कालीन जिविसको तिन लाख १६ हजार ९६५ र नेपाल विद्युत प्राधिकरणको छ लाख ८० हजार १६४ रुपैयाको लागतमा विद्युतीकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष पुनले गाउँपालिकामै पहिलो पटक धारापानीमा केन्द्रिय प्रशारण लाईनको बिद्युत सुबिधा पुगेकोमा सुखी ब्यक्त गर्नुहुदै विद्युतीकरण विस्तारमा प्राथमिकता दिएको र योजना सफल बनाउन समुदायको सक्रिय सहभागीता आवश्यक पर्ने बताए ।

पुर्व सांसद तथा नेकपाका नेता गोविन्द पौडेलले प्राकृतिक सम्पदाले धनी भएपनि भौगोलिक बिकटताका कारण पछि परेको धवलागिरी गाउँपालिकाको पूर्वाधार, आर्थिक, सामाजिक विकासका लागि समुदाय र स्थानीय तहबिच सहकार्य र सक्रियताको आवश्यकता औल्याए ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिगो विकास र शुसासनका लागि पारदर्शीता प्रमुख आधार भएको बताउदै प्रशासनले सरल र सहज प्रक्रियाबाट छिटो छरिटो सेवा प्रवाहको ब्यवस्था मिलाएको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले विकासका काममा बिवाद गर्न नहुने बताउँदै समुदाय सकारात्मक र सहयोगी बन्नुपर्ने बताए । नेकपाका नेता होमबहादुर थापा र नेपाली काँग्रेसका नेता मनबहादुर भण्डारीले विद्युत विस्तारले खुसी छाएको बताए ।धवलागिरी गाउँपालिका ७ का वडा अध्यक्ष कलानिधी सुवेदी र ३ का वडा अध्यक्ष पुर्म पुनले विकासका लागि जनप्रतिनिधिलाई जनताको सहि सुझाव, साथ र सहयोगको आवश्यकता परेको बताए ।

धारापानी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष रेशमबहादुर बानियाले समूहको तर्फबाट विद्युतको मिटर जडानका लागि प्रतिघर एक हजार ७०० रुपैयाका दरले सहयोग गरिएको बताए ।उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष पुनले विपन्न परिवारकी रिमा थापालाई विद्युतको मिटर बक्स खरिद र जडानका लागि व्यक्तिगत रुपमा पाँच हजार रुपैया सहयोग गरेका थिए । कार्यक्रममा उपभोक्ताहरुले योजनाको विषयमा गुनासा, विज्ञासा र सुझाव व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung